नयाँ शैक्षिकसत्र : सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, वैशाख २ देखि विद्यार्थी भर्ना अभियान

spot_img

काठमाडौँ– नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौवटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याइएको बताए ।

केन्द्रले प्रकाशन गरेको कार्यतालिका अनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्‍याएको थियो ।

प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सै घण्टा पुस्तक छापेको थियो ।

विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

‘हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्’, प्रबन्ध सञ्चालक झाले भने, ‘राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नु पर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।’

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमति प्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।

भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउने तयारी « प्रशासन

केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिकसत्र अगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आएका छन् । यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी थिइन् । 

images

भर्ना अभियान सुरु हुँदै
नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ । 

अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम छ ।  वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाए । 

images

सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ ।

images

अभियानकै क्रममा  वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत  छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन । – खबरहव/एनपि

Nepal life insurance

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"