नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौँ – नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

प्रधानमन्त्री दाहालले आज सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ‘ब्रेक थ्रु’ भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने आयोजनाका सिनियर डिभिजनले इन्जिनियर गोविन्द दमरुले जानकारी दिए। आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो ।

आयोजनामा तीन वटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइ ओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ

गत फागुन ६ मा काठमाडाैँतर्फका स्थानीयले मुआब्जा, खानेपानीको व्यवस्था र सिँचाइ लगायतका माग राखेर आयोजनामा अवरोध गर्दै आएका थिए । एक महिना लामो अवरोधपछि गत चैत ८ गतेबाट आयोजना निर्माण कार्य पुनः अघि बढेको छ ।

४२ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी जापानी ठेकेदार हाज्मा एन्दो जेभीले वि.सं. २०७६ कात्तिक २६ गतेदेखि निर्माण सुरु गरेको थियो।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"