हङकङसँग हारेपछि नेपालले इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमायो

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।ओमानमा जारी प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । यो हारसँगै नेपालले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमाएको छ ।
हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनमा अविजित रहे । अर्धशतकीय पारी खेलेका उनी प्लेयर अफ दी म्याच पनि घोषित भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट हात पारे ।

यसअघि ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाएका थिए ।

उनले २९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा उक्त रन बनाएका थिए । यस्तै सन्दीप जोराले २२, कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६ र आशिफ शेखले ५ रन जोडेका थिए ।

ओपनर कुशल भुर्तेल भने शून्य रनमा आउट भएका थिए । उनी यस प्रतियोगितामा लगातार तेस्रो पटक शून्य रनमा आउट भएका हुन् । यस्तै करण केसी ३ तथा ललित राजवंशीले अविजित २ रन जोडे ।

बलिङमा हङकङका आयुश शुक्लाले ३ विकेट लिए । एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एसिया कपमा छनोट हुने थियो । तर त्यो सम्भव भएन ।

इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ ।

नेपालको एसिया कप खेल्न सपना संयुक्त अरब इमिरेट्स (यूएई)ले चकनाचुर बनाएको थियो । शुक्रवार भएको सेमिफाइनल खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो । हङकङ पनि घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएपछि एसिया कपबाट बाहिरिएको थियो ।

यस प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा भिडिसकेका थिए । नेपालले समूह चरणको खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।