नेपालका पार्टीहरू चारमुखे हुँदा देशले निकास पाएन : बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

आइतबार रिपोर्टर्स् क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवल गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएको प्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुङ्गोमा पुर्याउन नसकेको भट्टराईले बताए । उनले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको जिकिर गरे ।

त्यस्तै उनले नयाँ भनिएका शक्तिहरूको उपयुक्तता नहुने भन्दै अब देशको विकासमा आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए ।

भट्टराईले आफूले पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको बताए । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गएमात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास व्यक्त गरे ।   -रिपोर्टर्स नेपाल