कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमलाई जन्मकैदको फैसला

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। कर्तव्य ज्यान सम्बन्धी कसुर ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो।

जिल्ला प्रहरी कार्यालय, रौतहटकी डीएसपी एजिला गिरीका अनुसार, सोही मुद्दामा उनका भाइ महताब आलमले पनि जन्मकैदको सजाय पाएका छन्। यो सजाय पाउनेमा अर्का अभियुक्त शेख सर्राफ पनि छन्। फरार रहेका ६ जनाको हकमा मुद्दा मुल्तबीमा राख्ने निर्णय अदालतले सुनाएको छ। अभियुक्त फेला परेपछि उनीहरूको हकमा पनि मुद्दा ब्युँतिनेछ।

अभियुक्त मुक्ति सहनीले सफाइ पाएका छन्।  न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई दोषी ठहर गरेको हो।

संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो। आलमले चुनाव जित्न भारतबाट बम बनाउने मानिस बोलाएका थिए।

त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका मोहम्मद आफ्ताब आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।

उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए। उनी अहिले पनि थुनामै छन्।  पटकपटक सांसद र मन्त्री भएका आलमले शक्तिका आडमा घटना ढाकछोप गर्ने भरमग्दुर प्रयास गरेका थिए। बम विस्फोटको घटनाका धेरै प्रमाण नष्ट पारिसकेका थिए। उक्त घटनापछि नै उनी रौतहट क्षेत्र नम्बर २ बाट दुईपटक सांसद र एकपटक श्रम तथा यातायात मन्त्री भइसकेका थिए।

-एनपि