आजदेखि दुई दिने तेश्रो लगानी सम्मेलन शुरु

काठमाडौं । आजबाट नेपालमा २ दिने तेश्रो लगानी सम्मेलन हुने भएको छ । काठमाडौंको सोल्टी होटेलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।

इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४ नाम दिइएको लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १६ सय जना सहभागी हुंदैछन् भने नेपालबाट २ सय प्रतिनिधी सहभागी हुने भएका छन् । लगानी बोर्डका अनुसार सम्मेलनका लागि विभिन्न ५५ वटा देशका लगानीकर्ता आउँदैछन् । सम्मेलनमा एक सय ५० आयोजना सोकेसमा राखिँदैछन् ।

यस्तै सम्मेलन स्थलमा २३ वटा प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।

पहिलो दिन आज उदघाटन सत्र रहेको छ । त्यस्तै दोस्रो दिन सोमबार ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।

लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलन स्थल ताहाचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन् । सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालको निजी क्षेत्र सहआयोजकका रूपमा रहेका छन् ।