वेष्ट इण्डिज ‘ए’माथि नेपाल ६ विकेटले विजयी

काठमाडौं । पाँचौं तथा अन्तिम टी–ट्वेन्टी क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई हराएको हो । वेस्ट इन्डिज ’ए’ ले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १८ आभर ५ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा अनिल शाहले ५८ रनको योगदान दिए । त्यस्तै, आशिफ शेखले ५१ रन बनाउँदा कुशल मल्लले ३७ तथा कुशल भुर्तेलले १३ रन जोडे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ’ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेसले ३३ र एलिक एथेनाजले अविजित ४२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए । पाँच खेलको शृङ्खला यसअघि नै वेस्ट इन्डिज ’ए’ ले जितिसकेको छ ।

नेपालले आईसीसी टी–ट्वेन्टी विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ’ए’ सँग पाँच खेलको शृङ्खला खेलेको हो । विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ ।

नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।