सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि स्थगित: आज पनि हेर्न नभ्याइने, अर्को पेसी जेठ १ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन दिएको बलात्कारको मुद्दामा आइतबार पनि हेर्न नमिल्ने भएको छ ।

मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् । यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो ।

प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो । जिल्ला अदालतले सम्बन्धित स्थानीय तहबाट जन्मदर्ता सम्बन्धी कागजात फेरि झिकाउने भनी आदेश दिइसकेको थियो ।

क्रिकेटर लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् । पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई कम सजाय गरिएको भन्दै थप सजायको माग गरेकी छन् ।

अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको छ । तैपनि सन्दीपको मुद्दा चाँडो फैसला भएर उनी निर्दोष भएमा विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ ।

त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ । यसले पनि पछिल्लो समय सन्दीपको मुद्दा अझ धेरै चासोपूर्वक हेरिएको छ ।