सहकारीको समस्या समाधान गर्न तयार छौं तर व्यक्ति केन्द्रित छानविन समिति बन्दैन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न कांग्रेसले उठाएको संसदीय छानविन समितिको आवश्यकता नै नभएको निष्कर्ष निकालेको छ।

आज बसेको संसदीय दलको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न तयार भएपनि व्यक्तिकेन्द्रित गरेर कांग्रेसले गरेको माग अस्वीकार गर्ने निर्णय गरेको हो।

संसदीय छानविन समितिको माग आफूहरुको नभएकाले त्यसबारेमा थप छलफल नभएको सांसद मनिष झाले बताए।

उनले भने, त्यसबारे अहिले सभामुखले बैठक राख्दै हुनुहुन्छ त्यहाँ छलफल होला। आवश्यक छैन भन्ने पार्टी निष्कर्ष हो। हामी पूरै समस्याको समाधान गर्नेगरी जाऔैं भनिरहेका छौं व्यक्तिकेन्द्रित गरेर संसदीय छानविन सम्भव छै्रन। हाम्रो पार्टी सभापतिले सबैकुरा प्रष्ट राखिसक्नुभएको छ। सबै समस्या समाधान गर्न हामी तयार छौं।

उनले बैठकमा आगामी बजेट अधिवेशनको तयारीबारे छलफल भएको बताए। गत बजेट अधिवेशनको मुल्यांकन गरेर प्रभावकारी रुपमा उपस्थित हुन पार्टी सभापतिले सांसदहरुलाई निर्देशन दिएको बताए।

उनले अहिलेको राजनीतिक स्थितीबारे सभापतिले सबैलाई जानकारी गराएको समेत बताए। इलामको उपनिर्वाचनको समीक्षा गर्ने बैठकको एजेण्डा भएपनि आज नभ्याइएकाले अर्को बैठकमा गर्ने उनको भनाइ छ।

– एनपि