उपप्रधानमन्त्री लामिछाने व्यक्ति मात्र होइनन्, सहकारी ठगीमा संलग्न देखिएकाले संसदीय छानविन हुनैपर्छः कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राखेका छन्।

बुधबार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयका कार्यालयमा संसदीय मामिलाका पत्रकारहरुसँगको अन्तरक्रियामा उनले उप्रधानमन्त्री लामिछाने व्यक्ति मात्रै नभएको र उनको सहकारी ठगीमा संलग्नता देखिएको भन्दै संसदीय छानविन गर्नुपर्ने पार्टीको अडान कायमै रहेको प्रष्टयाएका हुन्।

प्रमुख सचेतक लेखकले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानबिन गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै छानविन नगरेर समग्रतामा छानबिन गरी सहकारी बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उनको भनाइ थियो।

नेपाली कांग्रेसले वैशाख २७ गते (भोलि) दिउँसो २ बजे पार्टी संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संविधान सभा भवनको ल्होत्से हलमा बोलाएको छ। प्रमुख सचेतक लेखकले संसदको बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका बारेमा सोही बैठकले आधिकारिक धाराणा सार्वजनिक गर्ने बताए।

त्यसैगरी प्रमुख सचेतक लेखकले सरकारले प्रतिपक्षलाई नटेर्ने, हेप्ने गरेको गुनासो पनि गरे।

– Nepal live