

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले अमेरिकी भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप क्रिकेटका लागि सन्दीपलाई अमेरिका जाने भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ।


भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई पनि विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएकाे थियो। तर अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी जान पाइरहेका थिएनन्। उनलाई भिसा दिन माग गर्दै हिजो मात्र माइतीघरमा समर्थकहरूले प्रदर्शनसमेत गरेका थिए।

टी-२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि हुँदै छ। त्यसका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पुगिसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।

यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।
आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले उनलाई अमेरिका पठाउने प्रक्रिया सुरु गरेको थियो।
-एनपी












