प्लेअफ होड (समूह चरणबाटै) लुम्बिनी लायन्स बाहिरिएपछि रोहितको भनाइ – पहिलो संस्करण राम्रो भएन

समूह चरणबाटै बाहिरिएपछि रोहितले भने– पहिलो संस्करण राम्रो भएन

 

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौँ हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग (एनपीएल) मा लक्ष्यअनुरूप खेल्न नसकेको प्रतिक्रिया दिएका छन्।

काठमान्डु गुर्खाजसँग बुधबार सामान्य लक्ष्य भेटाउन नसकेपछि लुम्बिनी अन्तिम खेलअघि नै बाहिरिने पक्का भएको हो। काडमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १८ रनले चुक्यो।

समूह चरणबाटै बाहिरिएपछि रोहितले भने– पहिलो संस्करण राम्रो भएन

हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्न नसकेको बताए। सुरुका खेलमा बलिङमा चुकेको र पछिल्ला खेलमा ब्याटिङ राम्रो हुन नसक्दा खराब नतिजा सामना गरेको उनको बुझाइ छ।

उनले समग्रमा लुम्बिनीको लागि पहिलो संस्करण राम्रो नभएको उल्लेख गरे। साथै रोहितले काठमाडौँले दिएको लक्ष्य भेटाउन सकिने खालको रहेको भए पनि आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसकेको उनको भनाइ छ। रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भए पनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको बताए।

काठमान्डुका स्पिनरले पनि धेरै राम्रो बलिङ गरेको उनको भनाइ छ।

उनले आगामी सिजनबारे अहिले नै नसोचेको बताए। विकेट सोचेअनुरूपमा नभएकाले धैर्यपूर्वक खेल्नुपर्नेमा त्यसमा चुकेको उनको बुझाइ छ। रोहित जारी लिगमा अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। उनले २६९ रन बनाएका छन्।

काठमान्डु गुर्खाजका लागि किफायती बलिङ गरेका दीपेश कँडेलले जित्नैपर्ने खेलमा सबैले इफोर्ट लगाउँदा सानो स्कोरमा पनि जित सम्भव भएको बताए।

सामान्य लक्ष्य दिए पनि यो रक्षा गर्न सकिन्छ भन्ने विश्वास लिएको दीपेशले उल्लेख गरे। सन्दीप जोरा क्रिजमा रहँदा विकेटभन्दा पनि डट बल फ्याक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

कँडेलले ४ ओभरमा ६ रन मात्रै खर्चिएर ३ विकेट लिए। 

अबका हरेक खेलमा ध्यान दिएर जित्ने लक्ष्य रहेको उनको भनाइ छ। ४ खेलमा दोस्रो जित निकालेको काडमान्डुको प्लेअफ सम्भावना बलियो छ। तर उसलाई अबका हरेक खेलमा जितको खाँचो छ।