

काठमाडौं, २७ मंसीर । जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जनकपुर बोल्टस प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो ।

त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित खेल मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेल अघि नै प्लेअफमा पुगेको हो ।


जनकपुरले आफ्नो ६ खेल मध्ये ५ खेलमा जित निकालेको थियो । बिहीबार काठमाडौंलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग
अप्रत्याशित रूपमा पराजित हुनु पुगेको थियो ।

उदघाटन खेलमा जनकपुरले विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र चौथो खेलमा लुम्बिनी लायन्सलाई हराएर अपराजित यात्रा निकालेको थियो । अपराजित यात्रामा निस्केको जनकपुर यसअघिको खेलमा भने सुदुरपश्चिमसँग पराजित भएको हो, जुन एक पराजित खेल मात्रै हो ।
अबको अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।



