भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या

 

धनगढी । कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन्। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ।

भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमान‍्को इटाले प्रहार गरेर हत्या गरेकी हुन्। रानाको शव २०८१ मंसिर १३ गते उनकै घरमा फेला परेको थियो।

दोस्रो दिन प्रहरीले श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर पूर्पक्षका लागि कारागार पठाएको थियो। उनका प्रेमी भारतीय नागरिक २०८१ पुस २८ गते पक्राउ गरेका थिए।

घटनास्थलमा भारतीय नागरिक फारुख नभए पनि योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए। बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा श्रीमान‍्को हत्या गरेको पाइएको प्रहरीले जनाएको हो।

मृतक सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बिमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

images

भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिइएकी छन्। भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्‍दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

images

उनीहरूले रानाको हत्या गरेर शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। तर, मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोकालगायत ठाउँमा रगत लागेको भेटिएको थियो। खाटमुनी रगत लागेको इटा भेटिएको थियो। दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए।

images

सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला इटा प्रहार गरी हत्या गरेको स्वीकार गरेपछि पक्राउ गरेर मुद्दा चलाइएको हो।