सिक्किमको थन्डर बोल्ट आहा रारा पोखरा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश

 

पोखरा । पाहुना टोली भारत सिक्किमको थन्डर बोल्ट नर्थ यूनाइटेड क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको फुटबल मैदानमा शुक्रबार भएको अन्तिम प्रि—क्वाटर फाइनल खेलमा आहा रारा पोखरा गोल्ड कपको २ पटकको विजेता सङ्कटा क्लबलाई ३—१ को गोल अन्तरले पराजित गर्दै थन्डर बोल्टले आउँदो माघ २९ गते उज्विकिस्तानको ब्याक बुल्स फुटबल क्लबसँग सामना गर्ने भएको छ ।

थन्डर बोल्टको जितमा खेलको ३५ औँ मिनेटमा तलाले, खेलको ७७ औँ मिनेटमा करन राईले र खेलको ८९ औँ मिनेटमा आर्दश तामाङले एक/एक गोलको योगदान दिनुभयो । सङ्कटाका मनिष पौडेलले खेलको सुरुवातमै गरेको उक्त गोल सान्त्वना गोलमा परिणत भयो ।

खेलमा थन्डर बोल्टका तला म्यान अफ दी म्याच घोषित हुनुभयो ।

सङ्कटाका प्रशिक्षक रविन्द्र शिलाकरले आफूहरूले पाएका केही अवसर गुमाउँदा हार्नुपरेको बताउनुभयो । थन्डर बोल्टका प्रशिक्षक सोनम छिरिङ भुतियाले आफूहरूसँग युवा र केही विदेशी भरपर्दा खेलाडीहरू भएकोले जित सहज भएको बताउनुभयो ।

शनिबार पहिलो क्वाटर फाइनल खेल नेपाल पुलिस क्लब र बेलायतको ब्रिगेड ब्वाइज क्लबबिच हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।