भक्तपुरका १०२ वर्षीय हरिलाल, ९६ वर्षीया केशरी भन्छन् – देशमा राम्रो भएको हेरेर मर्न पाऊँ

 

भक्तपुर- यो देशमा केही हुँदैन भन्ने भाष्य युवाहरूमा पाइरहेको बेला त्यही भाष्य पुराना पुस्ताका मानिसमा पनि रहेको देखिएको छ। भक्तपुरका यी दम्पतीले देशमा केही नभएरै युवा-पुस्ता विदेशिन बाध्य भएको बताएका छन्।

भक्तपुरको सूर्यविनायक पाण्डुबजार बस्ने १०२ वर्षीय हरिलाल पञ्च र उनकी श्रीमती केशरी धौबञ्जा पञ्चले देशमा राम्रो भएको हेरेर मात्रै मर्न पाऊँ भनी इच्छा व्यक्त गरेका छन्।

आफ्नै परिवारमासँगै बसका दुई नाति र दुबै श्रीमतीहरू विदेशिन बाध्य भएको भोगेका उनीहरूले स्वदेशमै काम गर्ने वातावरण हुन नसकेको भन्दै दुःख व्यक्त गरे।

यी जोडीलाई भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको थियो। पञ्च मु दवू (पञ्च थर भएकाहरूको मुख्य मञ्च) ले आफ्ना कुलका ज्येष्ठ नागरिकहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको हो।

भक्तपुरमा रहेका पञ्च थर भएकाहरूको संयुक्त भेलासहितको भेटघाटमा हरिलाल र केशरीसहित ८० वर्ष उमेर पूरा गरेका कुलका अन्य ८ जनालाई कुलको तर्फबाट सम्मान गरिएको थियो।

भेलामा पञ्च थर भएका भक्तपुरका विभिन्न ठाउँमा छरिएर रहेका ३२१ सदस्यहरूको सहभागिता रहेको थियो।

images

हरिलालको जन्म १९७९ सालमा भक्तपुर नगरपालिका वडा नम्बर १ (साबिक भक्तपुर नगरपालिका वडा नम्बर १७) इटाछें भक्तपुर र केशरीको जन्म भक्तपुरकै मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ निकोसेरामा १९८५ सालमा भएको हो।

images

हरिलाल १०२ वर्षका भए, केशरी ९६। उनीहरूका चार छोरा र तीन छोरीहरू छन्। तिनीहरूमध्ये तीन वटै छोरीहरूको निधन भइसकेको छ। हाल उनीहरू कान्छो छोरा लक्ष्मीप्रसादको परिवारसँग भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा बसोबास गर्दछन्।

परिवारमा कान्छो छोरा लक्ष्मीप्रसाद, बुहारी नानीछोरी, दुई नातिहरू निरज र निकेशसहित उनीहरूका दुई श्रीमती गरेर आठ जना संख्याको परिवार थियो। तर, पछिल्ला वर्षहरूमा दुवै नाति विवाह गरेर विदेश पलायन भएका छन्।

images

उनीहरू आफ्ना नातिहरूको मिठो माया पाएकोमा विदेसिनु पर्दा दुःख बिसाउँछन्। त्यही कारणले नै उनीहरूलाई देश राम्रो अवस्थामा नभएको अनुभव दिलाएको हो।

हरिलाल र केशरीको परिवारमा सगोलमा रहेका कान्छो छोरा लक्ष्मीप्रसादले विगत एक दसक बढी सयमदेखि आमाबुबाहरू बाहिर निस्कन नसकेको जनाए। उनका अनुसार अहिले दुवै जना घरको कोठाभित्र सामान्य हिँडडुल गर्न सक्छन्।

दुवै जना अहिले घरको कोठाबाहिर रहेको अट्याच ट्वाइलेट आफैं शौच गर्न जान सक्छन्। साथै घरको भर्‍याडका बार समात्दै दुवै जना कौसीसम्म अहिले पनि आफैं पुग्न सक्ने अवस्थामा रहेको कान्छो छोरा लक्ष्मीप्रसादले बताए।

Nepal life insurance

अहिले उनीहरू दुवै जना सामान्य कुरा गर्न सक्ने अवस्थामै छन्। कान भने अलि कम सुन्ने अवस्थामा छन्।

हाल बुबाले कुनै औषधी खान नपरेको तर आमा मुटुको रोगी भएकाले औषधी सेवन गर्न परिररहेको लक्ष्मीप्रसादले बताए। आफ्ना बुबा कहिल्यै तनाव नलिने र एउटा किसानको छोरो भएर युवा अवस्थामा कडा परिश्रममा रहनु नै दीर्घ जीवनको रहस्य भएको हुनसक्ने अनुमान उनले लगाए।

बुबाले युवा अवस्थामा खाली खुट्टाले काभ्रेपलान्चोक जिल्लाको पनौतीदेखि (झण्डै २० किलामिटर) दुवैतिर १४-१४ पाथी मकै किनेर खर्पणमा बोकेर भक्तपुर ल्याउने गरेको बताउने उनले सम्झे।

पञ्च मु दवूका अध्यक्ष दुरुकाजी पञ्चले आफूहरूको पुर्ख्यौली बसोबास भक्तपुर नगरपालिका वडा नम्बर १ इटाछेंमा रहेको तर हाल परिवार बृद्धिसँगै भक्तपुरकै किवाचो गुण्डु, लिवाली, पाण्डुबजार, सल्लाघारीलगायतका ठाउँहरूमा नयाँ घर बनाएर बस्न पुगेको देखिएको जनाए। पञ्च थर भएकाहरूको मल्लकालमा थर मल्ल रहेको तर पृथ्वीनारायण शाहले भक्तपुर विजयी गरेपछि मल्लहरूलाई लखेटी-लखेटी मारेकाले मल्ल थर परिवर्तन गरी पञ्च थर राखेको कथन रहेको उनले सुनाए।