बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ

 

काठमाडौं – बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ। हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई ताकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले गौशाला-बत्तीसपुतली क्षेत्रबाट बुद्ध एयरको सफ्टवेयर ह्याक गरेका थिए।

images

पन्ध्र दिनअगाडिबाट उनीहरूले बुद्ध एयरको सफ्टवेयर ह्याक गरेको प्रहरीलाई बताएका छन्। ‘अहिलेसम्म २० जनाको टिकट बिक्री गरी उक्त रकम आफूले लाभ लिएको खुल्न आएको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

आफ्नो सफ्टवेयर ह्याक भएर टिकट धमाधम बिक्री भइरहेको थाहा पाएपछि बुद्ध एयरले उजुरी दिएको थियो।

images

पक्राउ परेका दुबैलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

 

images