वर्षाले सडक हिलाम्मे : दाउन्नेमा यातायात अवरुद्ध, यात्रुलाई सास्ती

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ।

Nepal life insurance

बिहीबार भएको वर्षाले सडक हिलाम्मे हुँदा दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको हो। अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक यादव ढकालले बताए।

अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारी जाममा परेका छन्। हिलोमा गाडी फसेकाले सडक अवरुद्ध भएको हुँदा जेसिभीले तानेर सवारी सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि बिहीबार दिउँसोदेखिको जामले सयौँ सवारी बीच सडकमा रहेकाले विस्तारको कामसमेत रोकिएको छ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो।

दाउन्ने क्षेत्रमा गत वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ। रासस

images

 

Nepal life insurance

images