इन्डियन प्रिमियर लिग (आईपीएल) : मुम्बईमाथि जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा

तस्बिरः क्रिकइन्फो

Nepal Life

 

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा अहिलेसम्मकै सबै भन्दा नाटकीय खेलमा गुजरात टाइटनले मुम्बई इन्डियनलाई तीन विकेटले हराएको छ। मंगलबार वर्षाले प्रभावित भएर बारम्बार रोकिएको खेलमा १९ ओभरमा घटाएर पाएको १४७ रनको लक्ष्य गुजरातले ७ विकेट गुमाउँदै अन्तिम बलमा पुरा गरेको हो।

मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको गुजरातले १४ ओभर सकिँदा दुई विकेटको क्षतिमा १०७ रन जाडेको थियो। वर्षाले खेल रोकिएको सो समयमा डर्कवर्थ लुइसको आधारमा गुजरात ८ रनले अघि थियो।

Nepal life insurance

पानी रोकिएपछि खेल सुचारु हुँदा मुम्बई नाटकीय रूपमा खेलमा फर्किएको थियो। १५ औँ ओभरमा जसप्रित बुमराहले गुजरातका कप्तान शुभमन गिललाई ४३ रनमा आउट गरे। ४६ बलको सामना गरेका उनले ४३ रन प्रहार गरेका थिए।

त्यो ओभर उनले ६ रन मात्र खर्चिए। गुजरातले त्यसपछि लगातार विकेट गुमाएको थियो। १५ औँ ओभरमा ट्रेन्ड बोल्टले सेरफाने रुदरफोर्डको विकेट लिँदै कुल पाँच रन मात्र दिएका थिए। रुदरफोर्डले १५ बलको सामना गर्दै २८ रन जोडेका थिए।

गुजरातको विकेट जाने क्रम रोकिएन। १७ औँ ओभरमा बुमराहले साहरुख खानको विकेट लिए। त्यस ओभरमा उनले सात रन मात्र खर्चिए। बुमराहले कुल चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए। उनको बलिङले खेलमा फर्किएको मुम्बईका लागि १८ औँ ओभरमा अश्वीन कुमारले सात रन दिएर रसिद खानको विकेट लिए। वर्षाले त्यस समय खेल रोकिँदा मुम्बई ५ रनले अघि थियो। केही समय रोकिएर खेल सुचारु हुँदा भने गुजरातले १९ ओभरमा १४७ रनको लक्ष्य पाएको थियो। गुजरातका लागि एक ओभरमा १५ रन आवश्यक थियो।

मुम्बईले ओभर रेट पेनाल्टी पाएका कारण सर्कल बाहिर चार फिल्डर मात्र राख्न पाएको थियो। दीपक चाहरको पहिलो बलमा राहुल टेबटियाले चौका प्रहार गरे भने दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा क्रिजमा रहेका गेराल्ड कोयट्जेले छक्का प्रहार गरे। त्यसपछिको बलमा त कोयट्जले एक रन मात्र लिएनन् नोबल पनि भएको थियो। अर्को बलमा एक रन लिएको गुजरातले १ बल बाँकी रहँदा कोयट्जेलाई गुमाएपछि अन्तिम बलमा अर्सद खानले एक रन जोडे। मुम्बईका कप्तान हार्दिक पाण्डेले छोटो दुरीबाट सिधै प्रहार गर्दा लागेको भए खेलको निर्णय सुपर ओभरमा हुने थियो।

गुजरातका लागि कप्तान गिल र रुदरफोर्डको अलावा जोस बटलरले २७ बलमा ३० रन बनाए। कोयट्जेले ६ बलमा १२ रन प्रहार गरे। मुम्बईका लागि बुमराहका अलावा अश्विनी कुमारले चार ओभरमा २८ रन खर्चेर दुई तथा ट्रेन्ट बोल्टले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिए।

यस अघि घरेलु बंखाडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले आठ विकेटको क्षतिमा १५५ रन जोडेको थियो। मुम्बईका विल ज्याक्सले ३५ बलमा ६३ तथा सूर्यकुमार यादवले २४ बलमा २७ रन जोडे। करबिन बोस्कले २२ बलमा २७ रन जोडे। गुजरातका साई किशोरले दुई विकेट लिए। सो खेलमा ज्याक्स र यादवले लगातार जीवनदान पाएका थिए।

जितपछि गुजरात ११ खेलमा १६ अंकसहित शीर्ष उक्लेको छ। मुम्बई भने १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ। सुरुका पाँच खेलमा दुई अङ्क मात्र जोडेको मुम्बईले त्यसपछि लगातार ६ खेलमा सफलता पाएको थियो।

 

Nepal life insurance