धनगढीमा शनिबार सिनेमा संवाद हुँदै

 

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सिनेमा संवाद कार्यक्रम हुने भएको छ।देशका अन्य प्रदेशहरूमा हुँदै आएको सिनेमा संवाद कार्यक्रम सुदूरपश्चिम प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको हो। जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा जेठ ३१ गते शनिबार कार्यक्रम हुनेछ।

बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले सिनेमा संवाद कार्यक्रम गर्न लागिएको आयोजक जेडी एसोसियट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीले जानकारी दिए।

कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाज सम्बन्धबारे छलफल गरिने उनले बताए।

Nepal life insurance

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदूरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका विषयमा छलफल हुनेछ।

सिनेमा संवाद कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्रीद्वय सुरक्षा पन्त, उपासना सिंह ठकुरी लगायतका कलाकार सहभागी हुनेछन्। सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रमले सिनेमा बुझ्न र समाजसँग जोड्न चाहने सबैका लागि सुनौलो अवसर हुने आयोजकले जनाएको छ।

 

Nepal life insurance