




काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा उज्बेकिस्तानविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती प्लेइङ- ११ सार्वजनिक भएको छ ।
यस खेलमा नेपाली टिमको कप्तानको जिम्मेवारीमा सावित्रा भण्डारी साम्बा रहेकी छन् भने गोलकिपर अन्जना रानामगर खेल्दैछिन् ।


डिफेन्समा गीता राणा, समीक्षा घिमिरे र निशा थोकर खेल्दैछन् भने मिडफिल्डमा रेनुका नगरकोटी, सरस्वती हमाल, पुजा राना, सबिता रानामगर र अनिता बस्नेत रहेका छन् । त्यस्तै फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ खेल्दैछन् । यसअघि नियमित खेल्दै आएका रेखा पौडेल र एन्जिला सुब्बा सुरुवाती प्लेइङ-११ मा परेका छैनन् ।
समुह एफबाट एसियन कपमा छनौट हुन यो खेल दुवै देशका लागि जित्नैपर्ने अवस्था बनेको छ । समुह एफ मा नेपाल र उज्बेकिस्तानको २-२ खेलमा ६-६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुवै खेलमा १७-१७ गोल गरेका छन र दुवैले कुनै गोल खाएका छैनन् । दुवैको गोल अन्तर १७-१७ नै रहेको छ ।

त्यसैले आजको नेपाल र उज्बेकिस्तानबीचको खेल फाइनल खेल बनेको छ । फाइनल जस्तै भएको यस खेलको विजेता देश अर्को बर्ष अस्ट्रेलियामा हुने एफसी महिला एसियन कपका लागि छनौट हुने छ । यो खेल बराबरी भएमा खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिने भएको छ ।
फिफा वरियतामा नेपालभन्दा उज्बेकिस्तान धेरै अगाडी रहेको छ । नेपाल सयौं स्थानमा छ भने उज्बेकिस्तान हाल फिफा वरियतामा ५१औं स्थानमा रहेको छ ।
नेपाल र उज्बेकिस्तानबीच अहिलेसम्म तीन खेल भएका छन् र तिनै खेल उज्बेकिस्तानले जितेको छ । उज्बेकिस्तानले १९९९ को एशिया कपमा नेपालमाथि ६-१ को जित हासिल गरेको थियो भने २०१९ को सेप्टेम्बरमा किर्गिस्तानमा भएको नादेज्दा कपमा नेपाल २-० र ३-२ ले पराजित भएको थियो ।



