एन्फालाई खेलाडीको चेतावनी- पुस ९ गतेबाट लिग होस्, सडकमा होइन मैदानमा खेल्न चाहन्छौं

imagesimages

 

काठमाडौं । नेपाल फुटबल खेलाडी संघले एन्फा र क्लबलाई तत्काल लिगको तयारी सुरू गर्न पुन: आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संघले पूर्वतालिका अनुसार आगामी पुस ९ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्न एन्फा र क्लबले सम्वन्य गर्न माग गरेको हो ।

Nepal life insurance

संघले आफुहरुले दिएको अल्टिमेटमको अब ६ दिन बाँकी रहेको भन्दै एन्फा नेतृत्वलाई छिटो क्लब र एन्फाको समन्वय गरेर लिगको तयारी थाल्न आग्रह गरको छ ।  संघले आफुहरुको सडक संघर्ष यतिमै सिमित होस् भन्ने चाहेको भन्दै आफुहरु सडकमा नभएर मैदानमा खेल्न चाहेको स्पष्ट गरेको छ ।

विहिबार संघले खेलाडीहरुसहित ए डिभिजन लिगको माग गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा धर्ना दिएका थिए । एन्फाले एन्फा खेलाडीहरुलाई परिसरमा प्रवेश गर्न नदिएपछि गेटबाहिर प्रदर्शन गरेर गेटमै मेडल झुण्डाएर एन्फाको निर्णयको विरोध गरेका थिए । एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

फुटबल खेलाडी संघको विज्ञप्ति:

सम्पूर्ण नेपाली फुटबलको सरोकारवाला र शुभचिन्तकहरुमा नमस्कार,

नेपाल फुटबल खेलाडी संघले नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक डिभिजन लिगको आयोजना सुनिश्चित गर्न नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग लगातार प्रयास गर्दै आएको सर्वविदितै छ ।

विहीबार संघको आयोजनामा भएको शान्तिपूर्ण धर्ना प्रदर्शनमा एन्फाले हामीलाई सातदोबाटोस्थित मुख्यालयको प्रांगणमा प्रवेश गर्न नदिनुले हामी दुखित छौं । हामीले कार्यक्रमबाट नै प्रष्ट पारेका छौं, एक साताभित्र एन्फाले साधारण सभाले तोकेको मितिमा लिग गर्नेबारे आफ्नो धारणा प्रस्तुत गर्नुको विकल्प छैन ।  हामी खेलाडी संघजस्तै एन्फाको सम्पूर्ण सदस्य संस्थाबाट तोकिएको मिति आफूखुसी बदल्न एन्फाको कुनै समूहलाई अधिकार छैन ।  खेलाडीको खेल्ने आधारभूत अधिकार पनि हो ।

हामीले दिएको अल्टिमेटमको अब ६ दिन बाँकी रहेको छ ।  हामी एन्फा नेतृत्वलाई पुन: एकपटक आग्रह गर्न चाहन्छौं, चाडो भन्दा चाडो क्लब र एन्फाको समन्वय गरेर लिगको तयारी थालियोस् । हामी खेलाडी साधारण सभाले तोकेको मितिमा खेल्न आफ्नो तयारी गरिरहेका छौं ।  क्लब र एन्फाबाट पनि सोहि होस् भन्ने चाहन्छौं ।

हामी चाहन्छौं हाम्रो सडक संघर्ष यतिमै सिमित रहोस् ।  खेलाडीले खेल्ने मैदानमा नै हो ।  हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन ।

खेलाडी संघको कार्यक्रममा ऐक्यवद्धता जनाउने सम्पूर्ण स्तरका खेलाडीसँगै प्रशिक्षक, रेफ्री, फुटबल सरोकारवाला र समर्थकहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछौं । मिडियालाई पनि खेलाडीको यस समस्यालाई उजागर गर्न खेल्नुभएको भूमिकाका लागि सम्पूर्ण खेलाडीको तर्फबाट धन्यवाद दिन चाहन्छौं ।

 

Nepal life insurance