



-केशब पन्थी,अर्घाखाँची ड्टकम।
अर्घाखाँची – नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यमध्ये पर्ने अर्घाखाँचीको सुपादेउराली मन्दिरको संरक्षण, दिगो विकास र प्रभावकारी व्यवस्थापनका विषयमा सन्धिखर्कमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।


जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा बसेको उक्त बैठकमा मन्दिर व्यवस्थापनसम्बन्धी उठेका विविध गुनासा र चुनौतीका विषयमा विस्तृत छलफल गरिएको थियो।


बैठकले १५ दिनभित्र नयाँ सुपा देउराली मन्दिर व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुवेदीले जानकारी दिनुभयो।

समितिको गठनका लागि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख र सितगंगा नगरपालिकाका नगरप्रमुखले आपसी समन्वय गरी आवश्यक पहल गर्न अनुरोध गरिएको छ।

हालसम्मको व्यवस्थापनसम्बन्धी आर्थिक पारदर्शिताबारे उठ्दै आएका प्रश्नलाई सम्बोधन गर्दै, आगामी दिनमा यस्ता गुनासा नआउने गरी स्पष्ट, उत्तरदायी र दिगो व्यवस्थापन प्रणाली विकास गर्न बैठकले सुझाव दिएको छ। नयाँ समिति गठन गर्दा सबै सरोकारवाला पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न समेत आग्रह गरिएको छ।


बैठकमा निवर्तमान तथा पूर्व मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरोकारवाला व्यक्तिहरू, सञ्चारकर्मी, स्वतन्त्र युवा समूह तथा जेन–जेड प्रतिनिधि, सन्धिखर्क र सितगंगा नगरपालिकाका प्रतिनिधि तथा जिल्ला समन्वय समितिका प्रमुखको उपस्थिति रहेको थियो।

सुपादेउराली मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा सुरक्षित, सुशासनयुक्त र व्यवस्थित बनाउने दिशामा यो बैठक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
थप तस्बिरः























