पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ढाकावाङ्गमा एच.पि.भि. खोप अभियान सञ्चालन हुने (तस्बिर सहित )

 

-टेकराज भुसाल , अर्घाखाँची । 

अर्घाखाँची ।  नेपालमा हरेक वर्ष करिब २ हजार १ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। जसमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु यही क्यान्सरकै कारण हुने गरेको तथ्यांकले देखाएको छ। महिलाको जीवनसँग प्रत्यक्ष जोडिएको यस गम्भीर समस्याबाट बच्न प्रभावकारी उपायका रूपमा एच.पि.भि. (ह्युमन प्यापिलोमा भाइरस) खोप लाई महत्वपूर्ण मानिएको छ।

Nepal life insurance

यही सन्दर्भमा ढाकावाङ्ग स्वास्थ्य चौकीमा एच.पि.भि. खोप अभियानलाई सफल पार्ने उद्देश्यसहित सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप समन्वय समिति तथा सरोकारवालाहरूबीच बैठक सम्पन्न भएको छ।

ढाकावाङ्ग स्वास्थ्य चौकीमा सम्पन्न उक्त बैठकमा स्वास्थ्य चौकी प्रमुख रन्जिता रायमाझीले सहजीकरण गर्दै एच.पि.भि. खोपको महत्व, यसको सुरक्षा, प्रभावकारिता तथा पाठेघरको मुखको क्यान्सर रोकथाममा खोपको भूमिकाबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले लक्षित समूहसम्म सही सूचना पुर्‍याउन समुदायस्तरको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

बैठकले एच.पि.भि. खोप अभियान माघ २७ गते विश्व माध्यमिक विद्यालय, माघ २८ गते बालशिक्षा माध्यमिक विद्यालय र माघ २९ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा सञ्चालन गर्ने निर्णय गरेको छ।

images

अभियानलाई प्रभावकारी बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप समन्वय समिति तथा स्थानीय सरोकारवालाहरूले आ-आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

images

स्वास्थ्य चौकीका अनुसार एच.पि.भि. खोप पाठेघरको मुखको क्यान्सरबाट बचाउने सुरक्षित र प्रमाणित उपाय हो। त्यसैले लक्षित उमेर समूहका किशोरीहरूलाई खोप सेवा सुनिश्चित गर्न अभिभावक, विद्यालय तथा समुदायको सहकार्य आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ।

images

स्थानीयस्तरबाट सुरु गरिएको यस अभियानले महिलाको स्वास्थ्य सुरक्षा र भविष्यमा क्यान्सरको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

Nepal life insuranceimagesimages