आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका साधुसन्तलाई बिदाइ गरिएको छ । मंगलबार पशुपतिनाथ मन्दिर अगाडि गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गरेको हो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका साधुसन्तलाई ५५१ देखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको छ ।  महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहि आएको छ । नागा बाबासहितका साधुसन्तलाई आ-आफ्नो पदवीका आधारका कार्ड वितरण गर्ने र त्यही अनुसार दक्षिणा दिने परम्परा रहेको छ । संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरिने प्रचलन रहेको छ । महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने गरेको छ ।

२- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ-तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् । यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण पनि गरेकी थिइन् । त्यस क्रममा पनि उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी थिइन् । साथै सुरु विन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । आज प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देलसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारीहरु, सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल गरेकी थिइन् । यस क्रममा नेपाली सेनाका तर्फबाट आयोजनामा हालसम्म भएको प्रगति, समस्याहरु र सरकारसँग अपेक्षाका विषयमा ब्रिफिङ भएको थियो ।

३-  चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताएक छन् । उनले विशेषगरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गरेका छन् । उनले भने- ‘२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं। त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौं ।’ उनका अनुसार उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत हो । उनले चेतावनी दिदै भने- ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ। यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ ।’ त्यस्तै, २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उनले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गरे । प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताए । उनले भने- ‘यी दुवै गलत प्रवृत्तिविरुद्ध हामी नेपाली जनतालाई सचेत गराइरहेका छौं । २३ र २४ गतेका घटना नहोस् र दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ ।’ उनले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताए । कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको उनले जोड दिए । साथै, देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको उनले स्पष्ट गरे । उनले भने- ‘जनताले अब फैसला गर्नुपर्छ। सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ। देशको पक्षमा काम गर्न सकिएन भने फेरि दुर्घटनामा पर्न सक्छ ।’ निर्वाचनबारे भइरहेको ‘फिक्सिङ’को चर्चा अस्वीकार गर्दै उनले निष्पक्ष निर्वाचन भए नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने दाबी गरे । उनले भने- ‘देशभरबाट प्राप्त रिपोर्टअनुसार निष्पक्ष निर्वाचन भयो भने नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्छ। देश र जनताको पक्षमा काम गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै हो ।’ सबै सम्बन्धित निकायका अधिकारीहरुलाई राखेर उनले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न निर्देशन दिएकी थिइन् । उनले भनिन्- ‘विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती गर्नुहुँदैन। सकेसम्म विवादको समाधान गर्ने हो। तर विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ । अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरौँ। सुरु विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौँ। आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौँ।’ ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्ने उनको धारणा थियो । अब उनको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।

images

४-  तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री बनेका छन् । मंगलबार राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले ढाकास्थित संसद भवनमा आयोजित समारोहमा रहमानलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यससँगै १८ महिनादेखि सञ्चालनमा रहेको अन्तरिम सरकारको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष रहमान पहिलोपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि मंगलबार दिउँसो दलका सांसदहरूले उनलाई संसदीय दलको नेतामा चयन गरेका थिए । उनी पूर्व प्रधानमन्त्री खालिदा जिया र पूर्व राष्ट्रपति जियाउर रहमान का पुत्र हुन् । १७ वर्षसम्म लन्डनमा बसोबास गरेपछि उनी दुई महिनाअघि मात्र स्वदेश फर्किएका थिए । प्रधानमन्त्री रहमानसँगै २५ जना क्याबिनेट मन्त्री र २४ जना राज्यमन्त्रीले पनि शपथ लिएका छन् । क्याबिनेटमा एक जना हिन्दू मन्त्री निताइ रोय चौधरी पनि समावेश भएका छन् । २५ क्याबिनेटमध्ये १७ जना नयाँ अनुहार रहेका छन् भने सबै २४ राज्यमन्त्री नयाँ नियुक्त भएका हुन् । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बीएनपीले २९९ मध्ये २०९ सिट जित्दै बहुमतका लागि आवश्यक १५० सिटको आँकडा पार गरेको थियो । थप ३ सिट उसका सहयोगी दलहरूले जितेका थिए । यसैबीच संविधान संशोधनलाई लिएर राजनीतिक तनाव बढेको छ । फेब्रुअरी १२ मा संसदीय निर्वाचनसँगै ‘जुलाई चार्टर’ सम्बन्धी जनमतसंग्रह पनि गरिएको थियो, जसमा ६२ प्रतिशत मतदाताले समर्थन जनाएका थिए । चार्टरअनुसार नयाँ संसद १८० दिनका लागि संविधानसभा जस्तै कार्य गर्ने र सो अवधिमा संविधान तथा लोकतान्त्रिक संस्थाहरूमा व्यापक सुधार गरिने प्रस्ताव छ । जुलाई चार्टरको मुख्य उद्देश्य कार्यकारी शक्तिको एकाधिकार अन्त्य गर्दै शक्ति सन्तुलन कायम गर्नु हो । प्रस्तावअनुसार प्रधानमन्त्रीको अधिकार सीमित गरिने र राष्ट्रपतिलाई थप अधिकार प्रदान गरिनेछ । यद्यपि बीएनपीले चार्टरमा हस्ताक्षर गरे पनि केही प्रावधानप्रति असन्तुष्टि जनाएको छ। पार्टीका नेताहरूका अनुसार चार्टर तयार गर्दा उनीहरूसँग पर्याप्त परामर्श गरिएको थिएन । बीएनपीका स्थायी समिति सदस्य तथा सांसद सलाहुद्दीन अहमदले संविधानमा प्रस्तावित सुधार परिषद्को व्यवस्था नरहेको दाबी गर्दै दलका कुनै पनि सांसदले उक्त परिषद्का सदस्यका रूपमा शपथ नलिने बताएका छन् । उनका अनुसार वर्तमान संविधानमा त्यस्तो परिषद्को प्रावधान नभएकाले पहिले संविधान संशोधन गरेर कानुनी आधार तयार गर्नुपर्छ । योजना अनुसार सांसदहरूलाई संसद सदस्यसँगै संवैधानिक सुधार परिषद्को सदस्यका रूपमा पनि शपथ गराउने तयारी थियो । तर बीएनपीले त्यसलाई असंवैधानिक भन्दै केवल सांसदको शपथ मात्र लिएको छ । जुलाई चार्टरअनुसार अब कुनै पनि नेता अधिकतम १० वर्ष (अधिकतम दुई कार्यकाल) भन्दा बढी प्रधानमन्त्री रहन नपाउने प्रावधान प्रस्ताव गरिएको छ। प्रधानमन्त्रीले दलको सभापति पद सम्हाल्न नपाउने, आपतकाल घोषणा गर्न मन्त्रिपरिषद् र विपक्षी दलका नेताको लिखित सहमति आवश्यक पर्ने तथा राष्ट्रपतिलाई स्वतन्त्र निकायका प्रमुख नियुक्तिमा थप अधिकार दिने व्यवस्था समेटिएको छ । यस्तै, दुई सदनात्मक संसद (बाइक्यामेरल प्रणाली) स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ, जसले तल्लो सदनका निर्णयमा नियन्त्रण गर्नेछ । विभिन्न संवैधानिक निकायका लागि छुट्टै चयन समिति गठन गर्ने प्रस्तावमार्फत प्रधानमन्त्रीको एकल प्रभाव घटाउने लक्ष्य राखिएको छ ।

५-  अस्ट्रेलिया जारी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरिएको छ । मंगलबार जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलियाको सुपर आठको यात्रा टुंगिएको हो । क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मा खेलको टससमेत नभएर खेल रद्ध भएको थियो । यस नतिजासँगै जिम्बाब्वे समुह बी बाट सुपर आठमा प्रवेश गरेको छ। यसअघि सोमबार अस्ट्रेलिया श्रीलंका राष्ट्रिय क्रिकेट टोली सँग ८ विकेटले पराजित भएको थियो भने फेब्रुअरी १३ मा जिम्बाब्वेसँग २३ रनले हारेको थियो । अब अस्ट्रेलियाले फेब्रुअरी २० मा ओमान राष्ट्रिय क्रिकेट टोली सँग खेल्न बाँकी छ । तर उक्त खेल जिते पनि मिचेल मार्शको टोली सुपर आठमा पुग्न नसक्ने पक्का भएको छ । टी–२० विश्वकप इतिहासमा अस्ट्रेलिया समूह चरणबाट बाहिरिएको यो दोस्रो पटक हो । यसअघि सन् २००९ मा रिकी पोन्टिङको कप्तानीमा पनि टोली लिग चरणबाटै बाहिरिएको थियो । समूह ‘बी’ बाट श्रीलंका ६ अंक र जिम्बाब्वे ५ अंकसहित सुपर आठमा पुगेका छन्। अस्ट्रेलिया अन्तिम खेल जिते पनि अधिकतम ४ अंकमै सीमित हुने भएकाले समूहबाट दुई टोली मात्र अघिल्लो चरणमा जाने प्रावधानअनुसार अस्ट्रेलियाको यात्रा लिग चरणमै समाप्त भएको हो ।

६- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फागुन २ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ ।  माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा अहिलेसम्म ८ करोड ३१ लाख ८७ हजार ७८९ कमाई गरेको छ । यस फिल्मका ३ लाख १० हजार ३२३ टिकट विक्री भएको बोर्डले जनाएको छ । त्यस्तै माघ २३ गतेदेखि रिलिज भएको अर्को फिल्म कुमारीले अहिलेसम्म ५६ लाख २११ कमाएको छ । यस फिल्मको अहिलेसम्म १७ हजार २५  टिकट बिक्रि भएको छ । त्यसैगरी माघ २३ गते नै रिलिज भएको अर्को फिल्म रमिताकी पिरतीले १९ लाख ४३ हजार ५८८ कमाई गरेको छ । अहिलेसम्म रमिताकी पिरतीको ५ हजार ९३७ टिकट बिक्री भएको छ ।

७- काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरअस्थित् निवासबाटै पक्राउ परेका थिए । प्रसाईंले निर्वाचन विरोधी अभिव्यक्ति दिएका कारण उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाएको कसुरमा पनि अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको छ । प्रसाईंले राख्दै आएका माग सरकारले पुरा नभएपछि बन्द गर्ने र चुनाव हुन नदिने अभिव्यक्ति दिएका थिए । उनी यसअघि माघ २३ मा पनि पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए ।

८- विश्वका विभिन्न देशका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तानका पूर्व कप्तान तथा पूर्व प्रधानमन्त्री इमरान खानको हिरासत अवस्था र स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त अपिल जारी गरेका छन् । सार्वजनिक गरिएको उक्त अपिलमा इमरान खानले सन् १९९२ मा पाकिस्तानलाई विश्वकप जिताएर इतिहास रचेको स्मरण गरिएको छ । अपिलमा उनलाई विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर तथा प्रेरणादायी कप्तानका रूपमा उल्लेख गरिएको छ । हिरासतमा रहँदा इमरान खानको स्वास्थ्य, विशेष गरी दृष्टिसम्बन्धी समस्या गम्भीर रूपमा बिग्रिएको खबरप्रति चिन्ता जनाउँदै पूर्व कप्तानहरूले पाकिस्तान सरकारसँग तत्काल विशेषज्ञ चिकित्सकबाट उपचारको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सम्मानजनक कारागार सुविधा दिन तथा निष्पक्ष र पारदर्शी कानुनी प्रक्रियाको सुनिश्चितता गर्न आग्रह गरेका छन् । उक्त अपिलमा हस्ताक्षर गर्ने पूर्व कप्तानहरूमा माइकल एथर्टन, एलन बोर्डर, माइकल ब्रेयरली, ग्रेग च्यापल, इयान च्यापल, बेलिन्डा क्लार्क, सुनील गावस्कर, डेभिड गावर, किम ह्युजेस, नासेर हुसेन, क्लाइभ लोयड, कपिल देव, स्टेफेन वॉ र जोन राइट रहेका छन् । अपिलमा क्रिकेटले राष्ट्रहरूबीच मित्रताको सेतुको काम गर्ने उल्लेख गर्दै खेल भावना, सम्मान र मानवियताको आधारमा इमरान खानप्रति गरिमापूर्ण व्यवहार गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

९- बलिवुडका अभिनेता सलमान खानका ९० वर्षीय पिता तथा वरिष्ठ चलचित्र लेखक सलीम खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार खानको आइसीयुमा उपचार भइरहेको छ । चिकित्सकहरूको टोली निरन्तर उनको स्वास्थ्य अवस्थाको निगरानी र उपचारमा जुटिरहेको बताइएको छ ।अस्पतालमा सलीम खानकी छोरी अलवीरा, नाति अयान तथा ज्वाइँ आयुष शर्मा उपस्थित छन् । अभिनेता सलमान खानलाई केही समयअघि अस्पतालबाट बाहिरिँदै गरेको देखिएको थियो । सलीम खान सन् ७० र ८० को दशकमा जावेद अख्तरसँगको सहकार्यमा चर्चित चलचित्रहरूको कथा लेखनका लागि परिचित छन् । उनले अन्दाज, हाथी मेरे साथी, सीता और गीता, यादों की बारात, ज़ंजीर, शोले, दीवार, डॉन, त्रिशूल, काला पत्थर, दोस्ताना, शान, शक्ति र क्रांति लगायतका सफल चलचित्रमा कथा लेखेका थिए ।

१०- नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.६४ प्रतिशतले बढेको छ । त्यसैगरी सुपरमाई हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ५३ करोड ३६ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४४ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।

११-  न्यूजील्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । मंगलबार समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले क्यानडालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुपर आठमा स्थान सुरक्षित गरेको हो । क्यानडाले दिएको १७४ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १५.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । यो जितपछि समुह डी बाट न्यूजील्याण्ड ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गर्दै सुपर आठमा पुगेको छ । यस समुहबाट दक्षिण अफ्रिका यस अघि नै सुपर आठमा पुगिसकेको छ । यो खेलपछि समुह डी बाट अफगानिस्तान, युएई र क्यानडा आ-आफ्नो एक खेल अघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । साथै न्यूजील्याण्ड र दक्षिण अफ्रीकासहित श्रीलंका, वेस्ट इण्डिज, इङल्याण्ड र भारत जारी विश्वकपको सुपर आठमा पुगिसकेका छन् ।

१२-  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार देखेको दाबि गरेका छन् । उनले भने- ‘नेपालको पहिला पार्टी नेकपा बन्छ भन्ने रिपोर्ट आइरहेको छ, देशभरीबाट, हामी त्यही अनुसार तयारीमा छौँ ।’ उनले निर्वाचनको वातावरण बनाउनको लागि आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको समेत बताए । स्वच्छ र मर्यादित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सरकारसँग माग समेत गरेका छन् । नेकपाले देश जटिल र संवेदनशील परिस्थितिबीच निर्णायक निर्वाचन प्रक्रियाबाट गुज्रिरहेको बताउदै युवापुस्ताको आन्दोलनपछि उत्पन्न अवस्थालाई सामान्य बनाउन पार्टीले इमानदार, जिम्मेवार र निरन्तर प्रयास गरिरहेको बताएको छ ।  नेकापले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘सरकारले निर्वाचन घोषणा गरेपछि निर्वाचनको विरोध गर्दै केही दलले निर्वाचन नै नचाहेको अवस्थामा समेत हाम्रो पार्टीले तोकिएको समयमै निर्वाचन हुनुपर्छ भन्ने अडान दृढतापूर्वक लियो। अहिले आएर यो निर्णय बस्तुगत परिस्थितिको सही विश्लेषण थियो भन्ने पुष्टी भएको छ ।’ नेकपाले सबै पक्षको सामूहिक प्रयासबाट आज देश निर्वाचनको निर्णायक चरणमा पुगेको बताउदै संघर्षपूर्ण इतिहास, स्पष्ट विचार एवं एजेन्डा, भविष्यका लागि ठोस कार्ययोजना र विगतका कमी कमजोरीहरू स्वीकार गर्दै सुधारको स्पष्ट प्रतिबद्धतासहित हामी विगतदेखी नै जनतामाझ रहेकोले देशैभरी पार्टीमाथिको विश्वास र भरोसा बढिरहेको बताएको छ ।  साथै नेकपाले देश दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको बताउदै एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका श्रृंखलाहरु चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हावी छ भने अर्कोतर्फ, जनभावनालाई निहित समूहहरुको स्वार्थमा प्रयोग गर्दै लोकतन्त्रका आधारस्तम्भ मानिने राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार, सर्वोच्च अदालत जस्ता राष्ट्रिय सम्पदामाथि आगजनी र आक्रमण गर्ने अर्को अतिवाद रहेको बताएको छ ।  नेकपाले निहत्था युवाहरुको हत्या गर्नेहरु र निहत्था सुरक्षाकर्मी तथा नागरिकलाई आगोमा जल्न बाध्य पार्ने तथा राजनीतिक लाभका लागि उपयोग गर्ने दुबै प्रकारका अतिवादको सशक्त विरोध गर्ने बताउदै यी दुवै अतिवाद हाम्रो लोकतन्त्र, राष्ट्रीय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि गम्भीर रूपमा हानिकारक छन् भन्ने स्पष्ट धारणा रहेको उल्लेख गरेको छ ।  साथै नेकपाले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने बिभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउदै केही सीमित सञ्चारमाध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेको र यस प्रकारका गतिविधिप्रति पार्टीले कडा आपत्ति जनाएको र सबै सञ्चारमाध्यमलाई पत्रकारिताको मूल्यमान्यता, मर्यादा तथा नैतिकता पालना गर्न हुन र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

१३-  फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बनेका ६७१ जनाले मात्र अहिलेसम्म बैंक खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिएका छन् ।  भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ, उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक हुन्छ, आर्थिक अनुशासनका लागि यो व्यवस्था गरिएको हो । दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको पाइएको छ  । दल र उम्मेदवारले २५ हजारभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारको खर्च बैङ्किङ प्रणालीबाट पारदर्शी हुने आयोगको दाबि रहेको छ । आयोगले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको जनाएको छ । आयोगले बनाएको निर्देशिका अनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था गरिएको छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले पहिलेका चुनावमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । त्यस्तै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले कतिपय उम्मेदवारको राष्ट्रिय परिचयपत्र नभएकै कारण खाता खोल्न नसकेको जानकारी दिएका छन् । राजनीतिक दल र उम्मेदवारले खर्च गर्ने संयन्त्र के हुने भन्ने पनि प्रष्ट पारिनुपर्ने उनको भनाइ थियो । आयोगले यसपटक गरेको यो व्यवस्थाले सम्पत्ति शुद्धीकरण र नेपाललाई ‘ग्रे लिष्ट’बाट हटाउनका लागि पनि सहयोग गर्ने विश्वास लिइएको छ । आगामी निर्वाचनहरुमा यो व्यवस्थालाई अझै परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिएकोछ ।

१४- अमेरिकाले इरान आसपास सैन्य युद्धपोतको तैनाथी बढाएको पुष्टि भएको छ । उपग्रहबाट प्राप्त तस्बिरहरूले अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ इरान नजिक पुगेको पुष्टि भएको छ । उक्त युद्धपोत हाल ओमानको तट नजिक र इरानबाट करिब ७०० किलोमिटर दूरीमा रहेको जनाइएको छ । वाशिङ्टनले इरानको आणविक कार्यक्रम र पछिल्ला विरोध प्रदर्शनमाथि गरिएको कडा कारबाहीलाई लिएर वार्तासँगै सैन्य दबाब पनि बढाइरहेको अवस्थामा यो गतिविधि सार्वजनिक भएको हो । यसैबीच, अमेरिकी र इरानी अधिकारीहरूबीच मंगलबार जेनेभामा दोस्रो चरणको वार्ता सुरु हुँदैछ । इरानले बैठकमा आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने सम्भावनामा केन्द्रित हुने बताएको छ। तर वाशिङ्टनले भने अन्य विषयहरूमा पनि छलफल गर्न चाहेको संकेत दिएको छ । अब्राहम लिंकन युद्धपोतमा तीन निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाज, एफ- ३५ लडाकु विमानसहित करिब ९० वटा विमान र ५ हजार ६८० सैनिक सवार रहेका छन् । गत जनवरी अन्त्यतिर खाडी क्षेत्रमा तैनाथ गरिएको यो युद्धपोत हालसम्म उपग्रह तस्बिरमा स्पष्ट रूपमा देखिएको थिएन । पछिल्लो जानकारीअनुसार जहाज ओमानको समुद्री क्षेत्र नजिक सक्रिय रहेको बताइएको छ ।

१५- यस वर्षको पहिलो सूर्यग्रहण आज लाग्दै छ र यो विश्वका धेरै भागहरूमा देखिनेछ । यस ग्रहणको विशेष विशेषता यो पूर्ण ग्रहण हुनेछैन तर घेराको रूपमा देखिनेछ । यसलाई ‘वलयाकार सूर्यग्रहण’ पनि भनिन्छ, जसमा सूर्यको लगभग ९६ प्रतिशत भाग चन्द्रमाले ढाक्नेछ । यो ग्रहण तब हुन्छ जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा जान्छ, तर चन्द्रमा सूर्यभन्दा सानो भएकोले यसले सूर्यलाई पूर्ण रूपमा ढाक्न सक्दैन । सूर्यग्रहण मंगलबार नेपाली समय अनुसार दिउँसो ३:४१ बजे सुरु हुनेछ र लगभग साढे चार घण्टा, साँझ ८: १२ बजेसम्म रहनेछ । यद्यपि यो सूर्यग्रहण नेपालसहितका देशमा देखिने छैन । यो दक्षिण अफ्रिका, अन्टार्कटिका र दक्षिण अमेरिकाका केही भागहरूमा देखिनेछ । यो जिम्बाब्वे, मौरिसस, मोजाम्बिक, तान्जानिया, नामिबिया, चिली र अर्जेन्टिनामा पनि देखिनेछ । ग्रहणको आंशिक भाग हिन्द महासागरका केही भागहरूमा देखिने बताइएको छ ।

१६- सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गते मंगलबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।  यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको थियो। कम्पनीले १ अर्ब ५५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ। साथै ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको छ । दोस्रो चरणअन्तर्गत कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याएको छ । बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक गरिएको हो। प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । सुपर खुदी हाइड्रोपावरले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २७ वर्ष ५ महिना बाँकी रहेको छ। साधारण रूपमा लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष र छुट दरमा १३.४२ वर्ष अनुमान गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

१७- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ९ सयले घटेर तोलाको ३ लाख एक हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४८८५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८६० मा कारोबार भएको थियो ।

images

१८-  नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगिताका तिनै खेलमा हार बेहोरेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल भारत ए सँग ७ विकेटले पराजित गरेको हो । नेपालले दिएको ७९ रनको लक्ष्य पछाएको भारत ए ले ७.४ ओभरमा ३  विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा अल आउट हुदै ७८ रन बनाएर अल आउट भएको थियो । नेपाल प्रतियोगितामा यसअघि युएईसँग १८ रनले पराजित भएको थियो भने पाकिस्तान ए सँग ३० रनले पराजित भएको थियो । योसँगै नेपाल प्रतियोगिताबाट जित विहिन हुदै बाहिरिएको छ ।

१९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच हुने आणविक कार्यक्रमसम्बन्धी वार्तामा आफू अप्रत्यक्ष रूपमा संलग्न रहने बताएका छन् । उनले राष्ट्रपतिको विशेष विमानमा पत्रकारहरूसँग कुरा गर्दै वार्ताको प्रगतिमा आफूले निगरानी राख्ने स्पष्ट पारे । इरानसँगको आणविक विषयमा दोस्रो चरणको वार्ता आज स्विट्जरल्यान्डको जेनेभामा हुँदैछ । यसअघि पहिलो चरणको बैठक फागुन ६ गते ओमानमा सम्पन्न भएको थियो । ट्रम्पले भने- ‘म ती वार्तामाथि नजर राख्नेछु ।’ उनले यसपटक इरान सम्झौताप्रति गम्भीर देखिएको संकेत गर्दै विगतमा कडा अडान लिएको भए पनि अमेरिकी कारबाहीपछि इरानले परिस्थिति बुझेको दाबी गरे । उनले चेतावनी दिँदै भने- ‘मलाई लाग्दैन, उनीहरू सम्झौता नगर्दाको परिणाम भोग्न चाहन्छन् ।’ इरान र अमेरिकाबीचको अप्रत्यक्ष वार्ताको सबैभन्दा ठूलो विवाद इरानको युरेनियम प्रशोधन कार्यक्रम हो । ट्रम्प प्रशासनले इरानले आफ्नै भूमिमा युरेनियम प्रशोधन पूर्ण रूपमा बन्द गर्नुपर्ने वा अत्यन्त सीमित स्तरमा मात्र राख्नुपर्ने माग राखेको छ । अमेरिकाको भनाइ अनुसार यही प्रक्रियाबाट आणविक हतियार निर्माणको सम्भावना रहन्छ । अर्को मुख्य विषय इरानसँग रहेको उच्च स्तरको प्रशोधित युरेनियम भण्डारण हो । अमेरिकाले करिब दुई हजार किलोग्राम (३ दशमलव ६७ प्रतिशतदेखि ६० प्रतिशतसम्म) प्रशोधित युरेनियमलाई पातलो पार्न, नष्ट गर्न वा देशबाहिर पठाउनुपर्ने प्रस्ताव अघि सारेको छ। त्यसको सट्टामा आर्थिक प्रतिबन्ध फुकुवा गर्ने विषयमा विचार गर्न सकिने संकेत गरिएको छ । इरानको मुख्य माग भने तेल निर्यात, बैंकिङ सेवा र अन्तर्राष्ट्रिय वित्तीय पहुँचमा लगाइएका अमेरिकी आर्थिक प्रतिबन्ध हटाइनु हो। यसैबीच इरानले सोमबार केही सातामै दोस्रोपटक समुद्री सैन्य अभ्यास सुरु गरेको छ । उक्त अभ्यास होर्मुज जलडमरूमध्य, पर्सियन खाडी र ओमान खाडी क्षेत्रमा भइरहेको बताइएको छ। यसको उद्देश्य गुप्तचर तथा सञ्चालन क्षमताको परीक्षण गर्नु रहेको जनाइएको छ। समुद्री सुरक्षा क्षेत्रमा कार्यरत एक कम्पनीका अनुसार सो क्षेत्रबाट आवतजावत गर्ने जहाजहरूलाई होर्मुज जलडमरूमध्यको उत्तरी मार्गमा सम्भावित प्रत्यक्ष गोली प्रहार अभ्यास हुन सक्ने चेतावनी दिइएको थियो। यद्यपि इरानी सरकारी टेलिभिजनले प्रत्यक्ष गोली प्रहार अभ्यासबारे स्पष्ट उल्लेख गरेको छैन । यसअघि जनवरी अन्त्यमा भएको यस्तै अभ्यासपछि अमेरिकी केन्द्रीय कमाण्डले प्रतिक्रिया जनाउँदै इरानलाई अन्तर्राष्ट्रिय हवाई तथा समुद्री क्षेत्रमा पेशागत ढंगले गतिविधि सञ्चालन गर्न आग्रह गरेको थियो । साथै अमेरिकी युद्धपोत वा व्यापारिक जहाजलाई अवरोध नगर्न चेतावनी दिएको थियो ।

२०- नाइजेरियामा बढ्दो आतंकवाद र सशस्त्र गिरोहविरुद्धको संघर्ष झन् तीव्र बन्दै गएको छ । यही बीचमा अमेरिकाले करिब १०० सैनिकसहित सैन्य उपकरण नाइजेरिया पठाएको छ । नाइजेरियाली सेनाले ती अमेरिकी सैनिक प्रत्यक्ष युद्धमा सहभागी नहुने, तर स्थानीय सेनालाई तालिम, प्राविधिक सहयोग र गुप्तचर सूचना उपलब्ध गराउने जनाएको छ । नाइजेरिया सरकारले आफैंले अमेरिकासँग सहयोगको आग्रह गरेको थियो । देशका विभिन्न क्षेत्रमा आतंकवादी तथा सशस्त्र गिरोह सक्रिय छन् । तीमध्ये बोको हाराम, इस्लामिक स्टेटसँग आबद्ध समूहहरू तथा अपहरणमा संलग्न आपराधिक गिरोहहरू प्रमुख छन् । यी समूहका आक्रमणबाट हालसम्म हजारौं सर्वसाधारणको ज्यान गइसकेको छ । नाइजेरियाको रक्षा मुख्यालयका प्रवक्ता मेजर जनरल समैला उबाका अनुसार अमेरिकी सैनिकहरू प्रत्यक्ष लडाइँमा सहभागी हुने छैनन् । उनीहरूले नाइजेरियाली सुरक्षाकर्मीलाई तालिम दिने, रणनीतिक सल्लाह प्रदान गर्ने र गुप्तचर सूचना आदान प्रदान गर्नेछन् । सम्पूर्ण अपरेसनको कमाण्ड भने नाइजेरियाकै नियन्त्रणमा रहने स्पष्ट पारिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा ईसाई समुदायको सुरक्षा कमजोर रहेको आरोप लगाएका थिए । तर नाइजेरियाली सरकारले उक्त आरोप अस्वीकार गर्दै आतंकवादीहरूले धर्मका आधारमा नभई क्षेत्रगत रूपमा आक्रमण गर्ने दाबी गरेको थियो । विज्ञहरूका अनुसार अधिकांश आक्रमणका पीडितहरू उत्तरी नाइजेरियाका मुस्लिमबहुल क्षेत्रका बासिन्दा छन् । विशेषज्ञहरूका अनुसार नाइजेरियामा स्थानीय आतंकवादी संगठनहरू सक्रिय हुनुका साथै छिमेकी देशहरूबाट पनि चरमपन्थीहरूको घुसपैठ बढेको छ । यससँगै अपहरण, फिरौती र अवैध खननमा संलग्न गिरोहहरूले हिंसा चर्काइरहेका छन् । सरकार सर्वसाधारणको सुरक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको आरोप पनि लाग्दै आएको छ ।

#मुख्यसमाचार #समाचारबुलेटिन #आजकोसमाचार #नेपालसमाचार #समसामयिकघटना #राजनीतिसमाचार #आर्थिकअपडेट #सामाजिकघटना #खेलकुदसमाचार #अन्तर्राष्ट्रियसमाचार #ताजाअपडेट #देशविदेश #मिडियाबुलेटिन #समाचारअपडेट #आजकोमुख्यघटना #नेपालन्यूज #समाचार२०२६ #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages