

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले भोट नदिएपनि रास्वपाका उमेद्वारलाई कामको सूची दिन आग्रह गरेका छन् ।

सुदूरपश्चिमको धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै एक दलका समर्थकका लागि मात्र नभई सबै नेपालीका लागि समान रूपमा काम गर्ने बताउदै कामको सूची दिन आग्रह गरेका हुन् ।

उनले विगतका राजनीतिक दलहरूले आफ्नो प्रभाव कमजोर भएका क्षेत्रमा विकास नगर्ने प्रवृत्ति अपनाएको आरोप लगाए ।
उनले भने- ‘अब कांग्रेस हिँड्ने बाटो पनि बनाउँछौं, एमाले हिँड्ने बाटो पनि बनाउँछौं र माओवादी हिँड्ने बाटो पनि बनाउँछौं । हामी सबै नेपाली हिँड्ने साझा पूर्वाधार निर्माण गर्छौं, जहाँ कुनै राजनीतिक विभेद हुने छैन ।’
लामो समयदेखि अलपत्र रहेका विकास योजनातर्फ संकेत गर्दै उनले दुई वर्षमा सम्पन्न हुनुपर्ने परियोजना दशकौँसम्म नटुङ्गिने अवस्था अब अन्त्य गरिने बताए । रास्वपाले छिटो काम सम्पन्न गर्ने कार्यपद्धति लागू गर्ने उनको भनाइ थियो ।
उनले भोट दिए पनि वा नदिए पनि सुदूरपश्चिमको विकास र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहने बताए । साथै शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापार होइन सेवाका रूपमा स्थापित गर्ने र आर्थिक अवस्था कमजोर भएकाले पनि उपचार पाउने व्यवस्था सुनिश्चित गर्ने प्रतिवद्धता गरेका थिए ।
#बालेनशाह #काठमाडौंमहानगर #स्थानीयशासन #कामकोसूची #नेपालराजनीति #नगरविकास #समसामयिकसमाचार #मुख्यसमाचार #नेतृत्व #जनसेवा #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



