यी हुन् काँग्रेसका १० बुँदे भिजन

 

काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरमा आयोजित कार्यक्रमबाट आज कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो ।

कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन सार्बजनिक गरेको छ । यी हुन् काँग्रेसको प्रतिज्ञा पत्रका १० भिजन:

१. सम्मानित भएर बाँच्न पाउने नेपाल

हाम्रो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ । कानूनको परिधिभित्र रही इच्छाअनुसारको काम, पेसा व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ । देश- विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन् ।

May be an image of dais and text

हामी यस्तो समाजको निर्माण गर्नेछौं, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त हुनेछ । वंश, जाति वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ ।

जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सृजना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्न सक्ने साझा घर र सहिष्णु समाज बनाउने छौं ।

२- सपना देख्न सक्ने नेपाल

हाम्रो परिकल्पनाको नेपाल प्रगति र उन्नतिको सपना देखे नागरिकहरूको देश हुनेछ । दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अग्रज पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नले ती सपनाहरू साकार हुनेछन् । राष्ट्रिय नवनिर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्नेछन् ।

उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसंगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सृजनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ । हाम्रो राज्य प्रवास रहेर पौरख र सामर्थ्य खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ । संसारभरि छरिएका नेपालीको भावना, ज्ञान, सिप र पुँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ । हाम्रो देश विदेशिएका नेपालीलाई ‘फर्कन रहर लाग्ने’ र स्वदेशमा रहेकालाई ‘यहीं सुनौलो भविष्य देखिने’ जीवन्त देश हुनेछ ।

३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ । सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ । साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउनेछ ।

श्रमिकको पसिना पवित्र छ, उसको मेहनतको उचित मूल्य सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुनेछ । राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ ।

४. पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि पैसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिचता समेत पाउनेछन् ।

युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् । राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ ।

५. ओखती र ओत दिने नेपाल

हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ । परिवारमा कसैलाई रोग लागिहाले ‘कसरी उपचार गर्ने’ र ‘अस्पतालको शुल्क कसरी तिर्ने” भन्ने डरबाट नागरिकहरू मुक्त हुनेछन् ।

स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, ‘उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ । विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ ।

६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन ।

शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ । सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउने छन् । प्रि प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन् ।

जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ ।

७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुनेछन् । ‘निमुखालाई ऐन र ठूलालाई चैन’ हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् ।

अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ । स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुनेछन् ।

राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटल नेपाल’ को अवधारणा साकार पारिनेछ. जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।

८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

हाम्रो विविधता र विशिष्टता नै नेपालको मौलिक पहिचान हो । नेपालका हिमाल, पहाड र मधेसमा बस्ने सबै जातजाति, उनीहरूले बोल्ने भाषा, मान्ने धर्म, परम्परा, संस्कृति, कला र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । हाम्रा विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण हुनेछ । हाम्रो परिकल्पनाको नेपालमा यी सबै विविधता र विशिष्टताहरूको समान रूपमा सम्मान र संवर्द्धन हुनेछ ।

यिनै विविधता र विशिष्टताको जगमा उभिएर हामी आधुनिकतासँग कुममा कुम मिलाएर अघि बढ्ने नेपाल निर्माण गर्नेछौं । विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ ।

९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

हाम्रो परिकल्पनाको नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रको रूपमा स्थापित हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिनेछ ।

हाम्रो छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाउनेछ ।

हामी नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौं । हामी यस्तो नेपाल बनाउने छौं, जहाँको राहदानीलाई अरूले सम्मान गरून् र हामीले सदैव गर्व गर्न सकौं ।

१०. समुन्नतिमा लम्कने नेपाल

हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुनेछ । सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ । कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रुत विकास हुनेछ । हिमाल, नदी, वनजंगल जस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहनेछन् । हाम्रो अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री हुनेछ, जसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्नेछ । हाम्रो परिणाममुखी लोकतन्त्रमा सरकार सत्ताको निरन्तरतामा होइन, जनजीवनमा देखिने प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित हुनेछ । देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता रहनेछ । समुन्नतिको लाभ सामाजिक न्यायका आधारमा सबै नागरिकले समान रूपमा पाउने अवस्था सुनिश्चित हुनेछ ।

सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयत्नबाट निर्माण हुने समुन्नत नेपालमा जातीय, भाषिक, क्षेत्रीय लगायतका विविधताको जोडबाट नयाँ भाव सृजना भई नेपाली राष्ट्रियता सुदृढ र सबल हुनेछ ।

#नेपालीकांग्रेस #१०बुँदेभिजन #नेपालराजनीति #देशनिर्माण #विकासदृष्टिकोण #राजनीतिकएजेन्डा #मुख्यसमाचार #समसामयिकसमाचार #नेतृत्व #जनआकांक्षा #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages