आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए । उनले भने- ‘रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ ।’ संयोजक प्रचण्डले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए ।

जनतासँगको भेटघाटलाई उहाँले विजय उत्सवसँग तुलना गरे । उनले भने- ‘कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन्। मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ ।’ उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गरे । चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको बताउँदै उनले भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्ति बीच जनमत संग्रह हुने उल्लेख गरे । उनले भने- ‘मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन् ।’ आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे । उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गरे । उनले भने- ‘यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ ।’ भौतिक कठिनाइका बाबजुद जनताबीच पुग्दा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताउँदै प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना जिल्ला बनाउने प्रतिबद्धता दोहोर्याए ।

२- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले समूह चरण पार गरी सुपर आठमा पुगेका टोलीहरूले सन् २०२८ मा अस्ट्रेलिया र न्यूजिल्याण्डमा आयोजना हुने पुरुष टी-२० विश्वकपमा स्वतः स्थान पाउने जानकारी दिएको छ । पाकिस्तानले नामिबियामाथि जित हात पारेसँगै सुपर आठका सबै टोलीको टुंगो लागेको छ । समूह ‘ए’ बाट पाकिस्तान र भारत, समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बाब्वे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ल्यान्ड तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर आठमा प्रवेश गरेका छन् । सह-आयोजक राष्ट्र भएकाले अस्ट्रेलिया र न्यूजिल्याण्ड २०२८ को विश्वकपमा प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । यसरी सुपर ८ मा पुगेका आठ देश र सुपर आठबाट बाहिरिएको अस्ट्रेलिया आयोजकका रुपमा गरेर ९ देशले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । यसैगरी जारी विश्वकप सकिएको अर्को दिन मार्च ९ मा सार्वजनिक हुने टोली वरियताको आधारमा शीर्ष तीन स्थानमा रहने टोलीले पनि स्वतः सहभागिता पाउनेछन् । हालको अवस्थाअनुसार बङ्गलादेश, अफगानिस्तान र आयरल्याण्ड ती स्थानमा रहने सम्भावना प्रबल रहेको छ, किनकि वरियतामा परिवर्तन ल्याउने कुनै अन्तर्राष्ट्रिय खेल यस बीचमा रहेका छैनन् । २० टोली सहभागी हुने प्रतियोगिताका बाँकी आठ स्थान भने क्षेत्रीय छनोट प्रतियोगितामार्फत निर्धारण गरिने आइसीसीले जनाएको छ ।

३-  सहारा क्लब पोखरा आहा रारा गोल्ड कपको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा ७-६ ले पराजित गर्दै सहारा क्लब पोखरा फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरी र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । अब दोस्रो सेमिफाइनल खेल जावलाखेल युथ क्लब र उज्बेकिस्तानको एभीए एफसीवीच बिहिबार हुने छ ।

४- नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेस आफ्नो प्रतिज्ञाको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली काँग्रेसले बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभामा बोल्दै काँग्रेसले सार्बजनिक गरेका प्रतिज्ञा सत्तामा रहेपनि प्रतिपक्षमा रहेपनि पार्टीका सबै तहका नेताले पालना गर्ने बताएका हुन् । उनले काँग्रेसले नेपालीलाई सम्मानित भएर बाच्न सक्ने बनाउने प्रतिज्ञा काँग्रेसले गर्ने बताएका छन् । उनले काँग्रेसले प्रश्न गर्ने युवा भदौ २३ मा जस्तो मर्न पर्दैन भन्दा अब नकाब लगाएर सिंहदरबार जलाउन नपर्ने प्रतिज्ञा काँग्रेसले गर्ने बताए । उनले घुस दिन नपर्ने, किसानले मल नपाउने, लाइन बसेर सेवा लिन नपर्ने सबै अवस्था बदल्ने काँग्रेसले प्रतिज्ञा गरेको बताउदै यी सबै लेख्न र भन्नका लागि नगरेको स्पष्ट गरे । उनले स्वास्थ्य, कृषि, शिक्षा, महिला लगायतका २७ क्षेत्रमा काम गर्ने गरी आफुहरुले प्रतिज्ञा पत्र ल्याएको बताए । उनले काँग्रेसलाई एक्लै देश बन्छ भन्ने भ्रम नरहेको स्पष्ट गर्दै काँग्रेसले देशको नेतृत्व गर्ने भन्दै सबै दल, निर्वाचित जान प्रतिनिधिलाई एउटा टिम बनाएर देश बनाउने बताए । उनले टिम नेपालले सबैलाई जोडेर देशमा रहेको सुशासन र गरिबीलाई हराउने भन्दै काँग्रेसले अबको पाँच बर्ष खेर नफाल्ने बताए । थापाले मधेशको वित्तीय संरचना खलबलिएको बताउदै जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताए । उनले भने, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ ।’

५- पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका प्रमुख राष्ट्रिय समस्याहरू समाधान नगरी निर्वाचन प्रक्रियामा जानु उपयुक्त नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै उनले देश अहिले गम्भीर संकटको अवस्थामा पुगेको दाबी गरेका हुन् । उनले वर्तमान परिस्थितिमा द्वन्द्व, अशान्ति र राजनीतिक खिचातानी नबढ्ने गरी राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पूर्वराजा शाहले देशको अस्मिता नै संकटमा परेको उल्लेख गर्दै विभिन्न राजनीतिक परिवर्तनहरूले नेपाल र नेपालीलाई के उपलब्धि दिए भन्ने विषयमा आत्मसमीक्षा गर्ने समय आएको बताएका छन् । उनले नेपाली समाजमा आपसी वैमनस्य बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै विपन्नता र अस्थिरता नै वास्तविक शत्रु भएको उल्लेख गरे । उनले भनेका छन्- ‘एउटा नेपालीले अर्को नेपालीलाई बैरी ठान्ने प्रवृत्ति बढ्नु दुःखद हो, जसका कारण देश कठिन अवस्थामा पुगेको छ ।’ उनका अनुसार वर्तमान परिस्थितिमा परस्पर द्वन्द्व र घृणा अन्त्य गर्दै संवैधानिक व्यवस्था र प्रक्रियालाई मजबुत बनाउनु आवश्यक छ। प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको जनभावना अनुसार पहिले राष्ट्रिय समस्याको समाधान खोजी राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचनमा जानु उचित हुने उनले बताएका छन् । पूर्वराजा शाहले अधिकार मात्र खोज्ने तर कर्तव्यप्रति बेवास्ता गर्ने प्रवृत्ति समाजमा बढ्दै गएको टिप्पणी गर्दै जिम्मेवारीबोधसहितको राजनीतिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

६- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न कसलाई जिताउने भन्दा पनि देशलाई कसले सम्हाल्छ भन्ने भएको बताएका छन् । नेपाली काँग्रेसले बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभामा बोल्दै उपसभापति शर्माले चुनावको मैदानमा भिन्न प्रवृति देखिएको बताउदै भदौ २३ अगाडी देशमा सबै ठिक थियो भन्ने छ र अर्को प्रवृति पुराना सबै बेठिक भएको भन्ने रहेको भन्दै निर्वाचनले देश सम्हाल्नेलाई जिताउनुपर्ने बताएका हुन् । उनले सबैले चुनाव अगाडी साझा संकल्प गरेर अगाडी जान आग्रह गर्दै भने- ‘सबै पुस्तालाई, सबै दललाई, साझा सोचको विकास गरौँ, गोलमेच गर्नुपर्छ गरौँ, देशलाई सुशासनमा लैजाने साझा संकल्प गरेर जाउँ । हामी अपिल गर्न चाहन्छौं ।’ उपसभापति शर्माले भदौं २३ को विद्रोहको जडमा पुगेर सम्बोधन गर्न नसकेमा १० बर्षपछि अल्फाको नेतृत्वमा अर्को विद्रोह भोग्नुपर्ने बताए । उनले काँग्रेसले फागुन २१ मात्र नहेरेको बताउदै आफुहरुले २०९२ सालसम्म के के गर्ने हेरिरहेको बताए । उनले आफैलाई बदलेर देश बदल्न आएको बताउदै मतदातालाई नयाँ र पुरानो अलमलमा नपर्न आग्रह गरेका छन् ।

७- नेपाली काँग्रेसले आम जनताका प्रश्नको उत्तर दिने भएको छ । विहिबार काठमाडौँको राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गर्दै काँग्रेस सभापतिले आम जनताक प्रश्नको जवाफ दिने बताएका छन् । उनले काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस् भन्दै राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्ने बताएका छन् ।  सभापति थापाले काँग्रेसले सबैका प्रत्यक्ष उत्तर दिन विहिबार राष्ट्रिय सभा गृहमा उपस्थित भने जानकारी दिएका छन् । विहिबार काँग्रेसको यो कार्यक्रम दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म सभागृहमा हुने छ । साथै विदेशमा रहेकाले पनि https://askgagan.com वा इमेल मा gaganthapasecretariat@gmail.com मार्फत आफ्ना प्रश्नहरू राख्न सक्ने थापाले बताएका छन् ।

८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छोडेर काँग्रेस प्रवेश गरेकी छन् । रास्वपाको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले आजै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेकी हुन् । उनलाई काँग्रेस सभापति गगन थापाले जनकपुरधाममा आयोजित पार्टीको प्रतिज्ञा सभामा नै पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै शर्माले परिवर्तनको नाम दिएर भ्रष्टचारी र बदनामले पार्टी चलाएको बताउदै उनले परिवर्तन भएर आएको काँग्रेसमा आफु आएको बताएकी छन् । उनले यसअघि संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको आरोप लगाउदै सबै क्रियाकलापहरुको साक्षी बसेर अब मौन रहिरहन असमर्थ रहेको भन्दै पार्टीको साधारण सदस्य नरहने गरि राजीनामा दिएको घोषणा गरेकी थिइन् ।

९- बलिउड अभिनेता सलमान खानका पिता तथा चर्चित लेखक सलीम खान लीलावती अस्पतालमा भर्ना भएका छन् । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् । सलीम खानको उपचारमा संलग्न डाक्टर जमील पारकरका अनुसार उनलाई सामान्य प्रकारको ब्रेन हेमरेज भएको हो, जसमा शल्यक्रियाको आवश्यकता पर्दैन । उनले भनेका छन् – ‘उहाँमाथि डीएसए (डिजिटल सब्ट्र्याक्सन एन्जियोग्राफी) प्रक्रिया गरिएको छ, तर यसलाई शल्यक्रिया मानिँदैन ।’ डाक्टर पारकरले सुरुमा डिस्चार्ज गर्ने तयारी भए पनि पूर्ण आरामपछि मात्र निर्णय गरिने बताए । उनले भने- ‘उहाँ अहिले भेन्टिलेटरमा हुनुहुन्छ तर स्वास्थ्यमा सुधार भइरहेको छ। उमेर बढी भएकाले रिकभरी केही ढिलो भइरहेको छ ।’ चिकित्सकका अनुसार फेब्रुअरी १७ मा पारिवारिक चिकित्सक चोपडाको सिफारिसमा सलीम खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गर्दा उनको रक्तचाप उच्च रहेको र सुरक्षाको दृष्टिले भेन्टिलेटरमा राखिएको जनाइएको छ । हाल अवस्था पहिलेभन्दा सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । यसैबीच, सलीम खानको स्वास्थ्य अवस्थाबारे जानकारी लिन परिवारका सदस्यसँगै बलिउड क्षेत्रका व्यक्तिहरू अस्पताल पुग्ने क्रम जारी छ । वरिष्ठ लेखक जावेद अख्तर पनि उनलाई भेट्न अस्पताल पुगेका छन् भने अभिनेता सलमान खान निरन्तर अस्पतालमा उपस्थित भइरहेका छन् ।

१०-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले भोट नदिएपनि रास्वपाका उमेद्वारलाई कामको सूची दिन आग्रह गरेका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै एक दलका समर्थकका लागि मात्र नभई सबै नेपालीका लागि समान रूपमा काम गर्ने बताउदै कामको सूची दिन आग्रह गरेका हुन् । उनले विगतका राजनीतिक दलहरूले आफ्नो प्रभाव कमजोर भएका क्षेत्रमा विकास नगर्ने प्रवृत्ति अपनाएको आरोप लगाए । उनले भने- ‘अब कांग्रेस हिँड्ने बाटो पनि बनाउँछौं, एमाले हिँड्ने बाटो पनि बनाउँछौं र माओवादी हिँड्ने बाटो पनि बनाउँछौं । हामी सबै नेपाली हिँड्ने साझा पूर्वाधार निर्माण गर्छौं, जहाँ कुनै राजनीतिक विभेद हुने छैन ।’ लामो समयदेखि अलपत्र रहेका विकास योजनातर्फ संकेत गर्दै उनले दुई वर्षमा सम्पन्न हुनुपर्ने परियोजना दशकौँसम्म नटुङ्गिने अवस्था अब अन्त्य गरिने बताए । रास्वपाले छिटो काम सम्पन्न गर्ने कार्यपद्धति लागू गर्ने उनको भनाइ थियो । उनले भोट दिए पनि वा नदिए पनि सुदूरपश्चिमको विकास र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहने बताए । साथै शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापार होइन सेवाका रूपमा स्थापित गर्ने र आर्थिक अवस्था कमजोर भएकाले पनि उपचार पाउने व्यवस्था सुनिश्चित गर्ने प्रतिवद्धता गरेका थिए ।

११- दक्षिण अफ्रिकाले जारी टी-२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ । बुधबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले युएईलाई ६ विकेटले पराजित गरेको हो ।  युएईले दिएको १२३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १३.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो ।योसँगै दक्षिण अफ्रिकाको ४ खेलमा ८ अंक भएको छ र विश्वकपको सुपरआठमा पुगेको छ । त्यस्तै युएईले भने ४ खेलमा एक जित र ३ हारसहित आफ्नो विश्वकप यात्रा समाप्त गरेको छ ।

१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते इतिहास बनाउने बताएका छन् । धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सुदूरपश्चिमको मुद्धालाई माग बनाएर बर्षौं अल्झाउने कुरा अब बन्द हुने बताउदै फागुन २१ गते इतिहास बनाउने बताएका छन् । रास्वपाले जनताको माग गर्न पाँच बर्षको स्थायी सरकारको माग आफुहरुले गरेको बताउदै आफुहरुले नागरिकसँग गरेको बाचा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने- ‘यो देशमा चुनाव पहिले पनि भएको हो । धेरै पटक नेताले जिते तर यस पटक जनता जिताउने हो । देशको आकांक्षा पुरा गर्ने भनेर हामी आएका छौं । यस पटक मत नबाडनुहोला ।’ उनले देशको अस्तित्व जोगाउने समयमा सबै परिवर्तनको पक्षमा उभिन आव्हान गरेका  छन् । उनले अहिले सिंहदरबार जलेको बताइएको भन्दै जलेको सिंहदरबार बनाउनु अघि अब पहिला सिंहदरबार बदल्ने बताए ।

१३- नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आइसीसीको टी-२० क्रिकेटको अलराउण्डरको वरियतामा दुई स्थानको सुधार गर्दै चौधो स्थानमा उक्लिएका छन् । जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दिपेन्द्रले दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् ।  दिपेन्द्र भन्दा अगाडी अल राउण्डरको वरियतामा भारतका हाद्रिक पाण्डेय तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा दोस्रो र पाकिस्तानका सैम आयुब शिर्ष स्थानमा रहेका छन् ।

१४- केही दिनअघि घटेको अण्डाको मूल्य पुनः बढेको छ । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको जनाएको छ । सङ्घका अनुसार ठूलो अण्डाको मूल्य अब प्रतिक्रेट ४२५ रुपैयाँ पुगेको छ भने मझौला (मिडियम) अण्डाको मूल्य ३७५ रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र मझौला अण्डा ३३५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । पछिल्लो निर्णयसँगै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँसम्म वृद्धि भएको हो । अण्डाको उत्पादन लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको सङ्घले स्पष्ट पारेको छ । सङ्घको पछिल्लो तथ्याङ्क अनुसार हाल प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको बताइएको छ । मूल्य वृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने अनुमान गरिएको छ भने व्यवसायीहरूले भने लागत बढिरहेकाले मूल्य समायोजन अपरिहार्य भएको बताएका छन् ।

१५- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी तथा विपन्न वर्गको हितलाई नेकपा एमालेले सधैं प्राथमिकतामा राख्दै आएको बताएका छन् । झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटघाटका क्रममा बुधबार अध्यक्ष ओलीले सरकारको नीति कोही पनि नागरिक भोकै बस्न नपर्ने र भोकै मर्न नपर्ने सुनिश्चिततामा केन्द्रित रहेको उल्लेख गरेका हुन् ।  उनले भने- ‘हामी यस्तो व्यवस्था बनाउन प्रतिबद्ध छौं, जहाँ कसैले अभावका कारण ज्यान गुमाउन नपरोस् ।’ सो अवसरमा ओलीले स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गरी ३५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था गरिएको उल्लेख गरे भने झापामा पूर्वाधार र विकास निर्माणका कामलाई तीव्रता दिइएको दाबी गरे । ओली आज विराटनगरमा एक कार्यक्रम सम्पन्न गरेपछि आजै काठमाडौं फर्किने बताइएको छ ।

१६- ताकाइची सानाए औपचारिक रूपमा पुनः जापानको प्रधानमन्त्री निर्वाचित भएकी छन् । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले आकस्मिक आमनिर्वाचनमा दोस्रो विश्वयुद्धपछिकै ऐतिहासिक बहुमत हासिल गरेपछि संसदका दुवै सदनबाट उनलाई बहुमत हासिल गरेको थियो । यससँगै उनी जापानकी १०५औँ प्रधानमन्त्री बनेकी छन् र पहिलो महिला सरकार प्रमुखका रूपमा आफ्नो कार्यकाल निरन्तरता दिएकी छन् । नयाँ सरकार गठनअघि संवैधानिक प्रावधानअनुसार मंगलबार बिहान मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको थियो । पुनर्निर्वाचनपछि ताकाइचीले अधिकांश वर्तमान मन्त्रीहरूलाई पुनः नियुक्त गर्ने अपेक्षा गरिएको छ । नयाँ मन्त्रिपरिषद्को सूची बुधबारै सार्वजनिक गरिने जनाइएको छ । फेब्रुअरी ८ मा सम्पन्न आमनिर्वाचनमा तल्लो सदनमा अभूतपूर्व दुई तिहाइभन्दा बढी सिट जित्दै सत्तारूढ दलले स्पष्ट जनादेश प्राप्त गरेको थियो । यस परिणामले ताकाइचीको राजनीतिक हैसियत थप सुदृढ बनाएको छ । ६४ वर्षीया ताकाइचीले गत अक्टोबरमा दलको नेतृत्व जित्दै जापानकी पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रचेकी थिइन् । पदभार सम्हालेको चार महिनाभित्रै उनले आकस्मिक निर्वाचन घोषणा गरेकी थिइन्, जसले उनको दललाई ऐतिहासिक सफलता दिलायो । पुनर्निर्वाचनसँगै सरकारलाई बलियो संसदीय बहुमत प्राप्त भएको छ, जसले आगामी नीतिगत कार्यसूची कार्यान्वयनमा निरन्तरता र स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ।

images

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको ३ लाख ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख एक हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर तोलाको ४८८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८५ मा कारोबार भएको थियो ।

१८- अमेरिका र इरान बीचको तनाव थप चर्किँदै गएको छ । प्रारम्भमा अमेरिकाले पश्चिम एसियामा दुई युद्धपोत तैनाथ गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको आशंका बढेको थियो । पछिल्लो २४ घण्टाभित्र अमेरिकाले ५० भन्दा बढी लडाकु विमान पनि पश्चिम एसियातर्फ पठाएको जनाइएको छ । यसलाई इरान वरिपरि नौसैनिक र वायुसेनाको उपस्थिति बढाएर दबाब सिर्जना गर्ने कदमका रूपमा हेरिएको छ । गत साता अमेरिकाले आफ्नो सबैभन्दा ठूलो युद्धपोत युएसएस गेराल्ड आर फोर्डलाई पश्चिम एसियामा पठाएको थियो भने युएसएस अब्राहम लिंकन पहिलेदेखि नै उक्त क्षेत्रमा तैनाथ छ । यता इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई ले सामाजिक सञ्जालमार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्- ‘अमेरिकाले इरानतर्फ युद्धपोत पठाएको भनिरहेको छ । युद्धपोत खतरनाक हुन सक्छ, तर त्यसलाई समुद्रको गहिराइमा डुबाउन सक्ने हतियार अझ खतरनाक हुन्छ ।’ यसैबीच जेनेभामा जारी अमेरिका-इरान वार्तामा केही प्रगति भएको बताइएको छ, तर अझै धेरै विषयमा विस्तृत छलफल हुन बाँकी छ । खामेनेईले इरानको आणविक कार्यक्रमबारे पनि धारणा सार्वजनिक गर्दै आणविक ऊर्जा प्रयोग गर्ने अधिकार प्रत्येक देशको स्वाभाविक अधिकार भएको उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय दिशानिर्देशमा समेत यस अधिकारको व्यवस्था रहेको भन्दै अमेरिकाले हस्तक्षेप गर्नु उपयुक्त नभएको बताएका छन् ।

१९- बंगलादेशमा नयाँ पूर्णकालीन सरकार गठन भएको छ । बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) २० वर्षपछि भारी बहुमतका साथ सत्तामा फर्किएको छ । बीएनपी प्रमुख तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । त्यस्तै २५ अन्य नेताहरूले २४ जनासँगै मन्त्रीको रूपमा शपथ लिएका छन् । यसका साथै, २४ अन्य नेताहरूले राज्यमन्त्रीको रूपमा शपथ लिएका छन् । योसँगै प्रधानमन्त्रीको रुपमा तारिक रहमानले कस्तो सुविधा पाउछन् र उनको सम्पत्ति कति छ भन्ने चर्चा शुरु भएको छ ।  प्रधानमन्त्री बनेपछि पाउने पारिश्रमिक र सुविधाहरू सम्बन्धित ऐनअनुसार निर्धारण हुने व्यवस्था छ । निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनको वार्षिक आम्दानी ६ लाख ७६ लाख टाका अर्थात करिब ८. ७८ लाख  नेपाली रुपैयाँ बराबर रहेको उल्लेख छ, जो शेयर, बन्डलगायतबाट आउने गर्दछ । उनको बैंक खातामा १ करोड २३ लाख टाका अर्थात करिब १ करोड ५९ लाख ९० हजार नेपाली रुपैयाँ बराबर हुन्छ । यसमध्ये ३१ लाख ६० हजार टाका (करिब ४१ लाख ८ हजार नेपाली रुपैयाँ) बचत खातामा र बाँकी रकम मुद्दती निक्षेपमा रहेको उल्लेख छ । गत आर्थिक वर्षमा उनले एक लाख टाका अर्थात् करिब १ लाख ३० हजार नेपाली रुपैयाँ बराबर कर तिरेका थिए । उनको नाममा ६८ लाख ५० हजार टाका (करिब ८९ लाख ५ हजार नेपाली रुपैयाँ) बराबरको शेयर रहेको छ ।  बोगरामा रहेको दुई एकडभन्दा बढी जग्गा खरिद गर्दा ३ लाख ४५ हजार टाका परेको थियो, जुन करिब ४ लाख ४८ हजार ५०० नेपाली रुपैयाँ बराबर हुन्छ । उनकी पत्नी जुबैदा रहमान को वार्षिक आम्दानी ३५ लाख ६० हजार टाका रहेको छ, जुन करिब ४६ लाख २८ हजार नेपाली रुपैयाँ बराबर हुन्छ । उनको बैंक मौज्दात १ करोड टाका (करिब १ करोड ३० लाख नेपाली रुपैयाँ) रहेको आयोगमा बुझाइएको विवरणमा उल्लेख छ । निर्वाचनअघि बुझाइएको विवरणमा तारिक रहमानले बोगरा–६ क्षेत्रमा चुनाव प्रचारका लागि ३० लाख टाका खर्च गर्ने उल्लेख गरेका थिए । तर उनको घोषित वार्षिक आम्दानीको तुलनामा यो खर्च बढी देखिएको भन्दै प्रश्न उठाइएको छ । यसअघि उनीमाथि ४ करोड ८२ लाख टाका अवैध आर्जन र ४ करोड २३ लाख टाका बराबरको सम्पत्ति लुकाएको आरोप लागेको थियो । तर पछिल्ला राजनीतिक परिवर्तनपछि बांग्लादेश सर्वोच्च न्यायालय ले सबै ७७ मुद्दामा उनलाई सफाइ दिएको छ र ती मुद्दा बन्द भएका छन् । अब प्रधानमन्त्री बनेपछि उनको मासिक तलब एक लाख १५ हजार टाका हुने छ भने आवास भत्ता एक लाख हुने छ । प्रधानमन्त्रीले सरकारी निवासको सट्टा निजी घरमै बस्ने निर्णय गरे पनि घरको फर्निचर र मर्मतसम्भार खर्च सरकारले बेहोर्नेछ । निवासमा प्रयोग हुने बिजुली, ग्यास, पानी तथा दूरसञ्चारसम्बन्धी सबै बिल राज्यकोषबाट तिर्ने प्रावधान छ। प्रधानमन्त्री तथा उनका परिवारलाई देशभित्र वा विदेशका अस्पतालमा निःशुल्क उपचारको सुविधा रहनेछ । सरकारी जिम्मेवारी तथा आन्तरिक भ्रमणसँग सम्बन्धित सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ । सुरक्षाकर्मीको खर्चसमेत सार्वजनिक कोषबाटै उपलब्ध गराइनेछ । औपचारिक हैसियतमा गरिने अतिथि सत्कार र कार्यक्रम खर्च पनि सरकारले नै तिर्ने कानुनी व्यवस्था रहेको छ ।

images

२०- रियल म्याड्रिडले बेनिफिका माथि १–० को महत्वपूर्ण जित हात पारेको छ । च्याम्पियन्स लिग नकआउट प्ले-अफको पहिलो लिगमा भएको खेलमा ब्राजिलियन स्टार भिनिसियस जुनियरको शानदार गोल नै खेलमा निर्णायक बनेको थियो । दोस्रो हाफमा भिनिसियसले उत्कृष्ट कर्लिङ प्रहारमार्फत बललाई जाली चुमाउँदै म्याड्रिडलाई अग्रता दिलाएका थिए । खेलको सुरुआती समयमा बेनिफिकाले दबाब बनाएको थियो, तर गोलरक्षक थिबाउट कोर्टोइसले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाएका थिए । पहिलो हाफमा किलीयन एम्बाप्पेले बारमा प्रहार गर्दै बराबरीको अवसर गुमाएका थिए भने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले विङबाट आकर्षक पासहरू सिर्जना गरेका थिए । गोलपछि खेल विवादित बनेको थियो । भिनिसियसले बेनिफिकाका खेलाडी  जियानलुका प्रेस्टियानीबाट आफूविरुद्ध जातीय टिप्पणी भएको आरोप लगाएपछि खेल करिब १० मिनेट रोकिएको थियो । स्लवादसम्बन्धी प्रोटोकल अपनाएर खेल पुनः सुरु गरिएको थियो । खेलको अन्त्यतिर बेनिफिकाका प्रशिक्षक जोसे मोरिन्होलाई रातो कार्ड देखाइएको थियो । अन्तिम समयमा बेनिफिकाले दबाब बनाए पनि रियल म्याड्रिडले अग्रता जोगाउँदै दोस्रो लिगअघि महत्वपूर्ण बढत कायम गरेको छ । अब दोस्रो लिग फेब्रुअरी २६ मा हुने भएको छ । त्यस्तै च्याम्पियन्स लिगको प्लेअफका अन्य खेलमा पिएसजीले मोनाकोलाई ३-२ ले, बोरुसिया डोर्टमण्डले एटलान्टालाई २-० ले पराजित गरेको छ ।

 

Nepal life insuranceimagesimages