जनकपुरधाम । नेपाली काँग्रेसले प्रतिनिधिसभाको निर्वाचनको लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।
काँग्रेसले नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामको तिरहुतिया गाछीमा आज प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।
सभापति गगन कुमार थापाले १० बुँदाको भिजनसहितको पार्टीका प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभयो । सभापति थापाले मुलुकमा सुशासन, समृद्धि र नागरिकको सम्मान सुनिश्चित गर्ने उद्देश्य समेटिएको काँग्रेसको १० बुँदे भिजनसहितको प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभयो ।

काँग्रेसले प्रतिज्ञा पत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ मूल नारासहित आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्य र प्रतिबद्धताहरू प्रस्तुत गरेको छ ।
सो अवसरमा सभापति थापाले काँग्रेसको भिजनले हरेक नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राख्ने विषय समेटेको बताउनुहुँदै । जात, धर्म, लिङ्ग वा क्षेत्रको आधारमा हुने विभेद अन्त्य गर्दै नागरिकले शिर ठाडो राखेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने कुरा उल्लेख रहेको बताउनुभयो ।

उहाँका अनुसार सरकारको शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्दै प्रशासनिक सेवा ढिलासुस्तीमुक्त, बेथिति रहित र नागरिकमैत्री बनाइने उल्लेख गर्नुहुँदै भ्रष्टाचार नियन्त्रण र घरमै बसेर सरकारी सेवा पाउने व्यवस्था लागू गरिने उल्लेख प्रतिज्ञा पत्रमा उल्लेख भएको जानकारी दिनुभयो ।
प्रतिज्ञा पत्रमा आर्थिक समृद्धिका लागि निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति उल्लेख छ । युवाहरूको विदेश पलायन हुने क्रम रोक्दै युवाहरूका लागि नेपालमै रोजगारी र भविष्यको अवसर पाउने वातावरण सृजना गर्ने रणनीतिलाई दस्ताबेजमा समावेश गरिएको काँग्रेसले जनाएको छ ।
त्यस्तै, कृषिलाई मर्यादित पेसा बनाउन प्रविधि र बजार व्यवस्थापनको योजना अघि राखिएको छ । पर्यटन, ऊर्जा र पूर्वाधारको विकासमार्फत समृद्धिको बाटोमा नेपाल अघि बढ्ने चित्र प्रतिज्ञा पत्रमा समेटिएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षा र स्वास्थ्य बिमा प्रणाली लागू गरिने प्रतिबद्धता जनाइएको छ । अभिभावकमा आर्थिक भार नपरी गुणस्तरीय शिक्षा उपलब्ध गराउने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य काँग्रेसको रहेको छ ।

पार्टीले नेपालका मौलिक भाषा, संस्कृति, विविधता र सम्पदामा गर्व गर्दै आधुनिकता अपनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गर्ने योजना काँग्रेसले बनाएको छ ।
सो अवसरमा सभापति थापाले नेपाली काँग्रेससँग मधेसको विशेष सम्बन्ध भएकाले बदलिएका काँग्रेसलाई मधेसको पूर्णसाथ रहने बताउनुभयो ।
नेपाली काँग्रेसका मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा भएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा रहेको थियो ।





















