

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हासमीले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीच रहँदै आएको मित्रवत् सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ विस्तार गर्दै आर्थिक, कूटनीतिक तथा विकास सहकार्यलाई अघि बढाउने विषयमा सकारात्मक विचार आदानप्रदान गरेका थिए ।

२- त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब जारी जय ट्रफीको फाइनलमा पुगेका छन् । आर्मी क्लबले ३ खेलमा एक जित र २ बराबरी खेल्दै ६६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । त्यस्तै नेपाल पुलिस क्लबले ३ खेल मध्ये २ जित र एक हारसहित ६५.५ अंक हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यस्तै नेपाल एपीएफ क्लब ३ खेलमा एक जित एक हार र एक बराबरीसहित तेस्रो र बागमती प्रदेशले ३ खेलमा २ हार र एक बराबरीसहित चौथो हुदै बाहिरिएका छन् । अब फाइनल खेल भने आगामी अप्रिलमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि मार्च १ देखि ३ सम्म हुने तालिका सार्बजनिक गरेको भएपनि निर्वाचनका कारण अब अप्रिल ५ देखि ७ सम्म किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने जानकारी दिएको हो । क्यानले भनेको छ- ‘नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदान र टीयु क्रिकेट स्टेडियममा सञ्चालन भइरहेको ‘जय ट्रफी, २०२६’ को फाइनल खेल नेपालमा हुँदै गरेको प्रतिनिधि सभाको निर्वाचनको कारणले आगामी अप्रिल ५ – ७, २०२६ मा सञ्चालन हुने ब्यहोरा अनुरोध गर्दछौ ।’ जय ट्रफीको अघिल्लो सिजन नेपाल पुलिस क्लबले जितेको थियो ।
३- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि विस्तार र वित्तीय स्थिरतालाई प्राथमिकता दिएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । सिबिफिनका अनुसार समीक्षा मार्फत नीतिगत आधारभूत व्यवस्था यथावत राख्दै समयअनुसार केही सुधारात्मक कदम अघि बढाइएको छ, जसले वित्तीय प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । विशेषगरी साना, घरेलु तथा लघु उद्यममा कर्जा विस्तार, कार्यशील पूँजी व्यवस्थापनमा सुधार, पुनर्संरचना सुविधा तथा विदेशी विनिमय जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थाले कर्जा प्रवाह र लगानी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै उत्पादन, निर्यात र रोजगारी सिर्जनासँग जोडिएका क्षेत्रमा लगानी बढ्न सहयोग पुग्ने तथा डिजिटल पूर्वाधार र विद्युतीय भुक्तानी प्रणाली विस्तारले वित्तीय क्षेत्रको आधुनिकीकरणमा टेवा पुग्ने सिबिफिनको धारणा छ । परिसंघले खराब कर्जा वृद्धि र तरलता व्यवस्थापनजस्ता चुनौती समाधानका लागि नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत कदम चाल्ने विश्वास समेत व्यक्त गरेको छ । सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता राजेश उपाध्यायले वित्तीय स्थिरता कायम राख्दै अर्थतन्त्र सुदृढ बनाउन यस्तो नीतिगत सुधार महत्वपूर्ण हुने बताएका छन्।

४- युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ । शुक्रबार भएको ड्र अनुसार रियल म्याड्रिडले म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । त्यस्तै राउण्ड १६ मा पिएसजीले चेल्सीको सामना गर्ने भएको छ भने स्पोर्टिंग सिपिले बोडो-ग्लिम्टको सामना गर्ने छ । त्यस्तै लिभरपुलले गालाटासारेको सामना गर्ने छ भने न्यूक्यासलले बार्सिलोनाको सामना गर्ने भएको छ । त्यस्तै एटलेटिको म्याड्रिडले टोटनह्यामको सामना गर्ने छ भने आर्सनलले बायार लिभरकुसेनको सामना गर्ने भएको छ । त्यसैगरी एटलान्टा र बायर्न म्युनिखको सामना गर्ने भएको छ । अब राउण्ड १६ का खेलहरु पहिलो लिग मार्च १० र ११ तथा दोस्रो लिग मार्च १७ र १८ मा हुने छ ।
५- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले राजदूत माओमिङलाई नयाँ जिम्मेवारीका लागि बधाइ दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् । उनले नेपाल-चीनबीच रहेको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । राजदूत माओमिङले नेपालमा शान्ति, सुरक्षा र कानुनको शासन कायम भई शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने अवस्थाप्रति खुसी व्यक्त गरेका थिए । उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनको निरन्तर सहयोग रहने पनि बताए । प्रधानमन्त्री कार्कीले नेपालका विकास परियोजना तथा विभिन्न क्षेत्रमा चीनबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने अपेक्षा राखेकी थिइन् । प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्त र एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै छिमेकी मुलुकको हितविपरीत कुनै गतिविधि हुन नदिने स्पष्ट पारिन् । क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपाल-चीन सहकार्य अझ बलियो बनाउन आवश्यक रहेको उनले उल्लेख गरिन् । राजदूत माओमिङले नेपाल सरकारको उक्त नीतिप्रति चिनियाँ जनता र नेतृत्वका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।
६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौडा सिमेन्ट उद्योग जस्तो भएको टिप्पणी गरेका छन् । शुक्रबार चितवनमा आयोजित रस्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले देश सबै स्रोत र सुविधा भएर पनि चलन नसकेको हेटौडा सिमेन्ट फ्याक्ट्री जस्तो भएको बताएका हुन् । उनले देशलाई नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तो सबै देशमा पुग्न सक्ने गरि चलाउनुपर्ने बताए । बालेनले चुनाव प्रचार प्रसारको क्रममा मुलुकका ४०-४५ जिल्ला घुमेको उल्लेख गर्दै सबै जिल्लाका समस्या एकै किसिमका रहेको आफुले पाएको बताए । उनले एक जिल्लाका समस्याको समाधान अर्को जिल्लामा रहेको आफुले बुझेको बताउदै ति समस्याको समाधान आफुहरुले गर्ने बताए । बालेनले चितवनले देशको पर्यटन विकासका लागि पुरै देशलाई सिकाउनु पर्ने समेत बताए ।
७- चीनले पाकिस्तान र अफगानिस्तानबीच बढ्दै गएको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले दुवै देशबीचको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताइन् । उनका अनुसार पाकिस्तान र अफगानिस्तान आपसका छिमेकी मात्र नभई चीनका पनि मित्र राष्ट्र भएको बताउदै हालको झडपका कारण भएको मानवीय क्षतिप्रति चीन दुःखी रहेको उल्लेख गरेकी छन् । उनले सबै प्रकारका आतंकवादविरुद्धको प्रयासलाई चीनले समर्थन गर्ने स्पष्ट पारिन् । साथै दुवै देशलाई संयमता अपनाउँदै संवादमार्फत समस्या समाधान गर्न आग्रह गरिएको छ । चीनले तनाव थप नबढ्ने गरी तत्काल युद्धविराम गरी शान्तिपूर्ण उपाय खोज्नुपर्नेमा जोड दिएको छ । माओ निङले तनाव कम हुनु दुवै देशका नागरिक तथा समग्र क्षेत्रीय स्थिरताका लागि आवश्यक रहेको बताइन् । उनले चीनले आफ्नै पहलमा दुवै पक्षबीच समझदारी कायम गराउन प्रयास गरिरहेको र सम्बन्ध सुधारका लागि सकारात्मक भूमिका खेल्न तयार रहेको जानकारी दिइन् । चिनियाँ नागरिक र कम्पनीको सुरक्षाबारे सोधिएको प्रश्नमा उनले अवस्था निरन्तर मूल्याङ्कन भइरहेको र आवश्यक परे आफ्ना नागरिकलाई सहयोग उपलब्ध गराइने बताइन् । पाकिस्तानले अफगानिस्तानको भूमिबाट केही सशस्त्र समूह सक्रिय रहेको आरोप लगाउदै आएको छ भने अफगान पक्षले उक्त आरोप अस्वीकार गर्दै पाकिस्तानी सेनाको आक्रामक गतिविधिका कारण तनाव बढेको दाबी गरेको छ । चीनले भने विवाद समाधान गर्दै क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न पहल जारी राख्ने जनाएको छ ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको बताएका छन् । चितवनमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले भदौ २३ र २४ मा सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै समुह र व्यक्ति भएको बताएका हुन् । उनले भने- ‘पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी ताकी गोलि हानियो, त्यसपछि संरचना जलेका हुन् । जल्नु हुदैनथ्यो, गलत भयो तर गोलि ठोक्न हुदैनथ्यो मान्छे मार्न हुदैनथ्यो, त्यहीबाट ब्रिग्रिएको हो । आज पनि सिंहदरबार कसले जलायो भन्छन् । सिंहदरबार त्यसले जलायो, जसले सिंहदरबारलाई भ्रष्टचारको अखडा बनायो ।’ उनले आफुलाई अन्तिम इच्छा सोधिएको उल्लेख गर्दै फागुन २१ मा अन्तिम इच्छा पुर्याइदिन आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै पुराना दलले देश बनाउछन् भन्ने विश्वास अझै पनि छ भने सबै मत उनीहरुलाई नै दिन आग्रह गरेका थिए ।
९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पुस्ता देशभक्त र परिपक्क रहेको बताएका छन् । विहिबार चितवनमा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै डा. वाग्ले आफुहरु देशभक्त र परिपक्क रहेको र भ्रष्ट हुनै नसक्ने बताएका हुन् । उनले आफुहरु राजनीति आजीवन पेशा बनाउन नआएको बताउदै योजना र समय सिमा लिएर आएको बताए । उनले यो चुनाव दल छान्ने मात्र नभएर संस्कार बसाल्ने थिति बसाल्ने चुनाव भएको भन्दै दलहरुले बनाएको ब्रम्हलुटको संरचना भत्काएर सुशासनको जग बसाउने प्रष्ट परे । उनले १५१ भन्दा बढी सिटमा जिताएर सरकारमा पुर्याइदिन आग्रह गरे । डा. वाग्लेले अहिले परिवर्तनको घन्टी बजाउने समय भएको भन्दै आफुहरुले सुशासनको जगमा देशलाई समृद्ध बनाउने दाबि गरे ।

१०- पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरण दिएका छन् । शुक्रबार घिमिरेले सन्धि बारे गलत बुझाइ फैलाइएको उल्लेख गर्दै आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् । उक्त समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको उनले बताएका छन् । घिमिरेले केही व्यक्तिले जानाजानी भिडियो बनाएर गलत प्रचार गरिएको दाबी गर्दै पछि त्यसलाई राजनीतिक प्रचार सामग्रीका रूपमा प्रयोग गरिएपछि स्पष्टीकरण दिन बाध्य भएको बताए । सन्धिबारे पार्टीभित्र भएको बहसमा सहभागी हुनु बाहेक आफ्नो कुनै भूमिका नरहेको उनको भनाइ छ । उनले भनेका छन्- ‘म स्पष्ट पार्न चाहन्छु – कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदमा थिइनँ । लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ । पार्टीमा मेरो मत जाहेर गरेको हुँ । मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौं । भएको यत्ति हो । पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा मलाई साह्रै दिग्दारी लागेको छ ।’ लामो समयदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले राजनीति सेवा गर्ने माध्यम भएको र पद वा लाभका लागि राजनीति नगरेको समेत बताएका छन् ।

११- अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले चर्चित वित्तीय व्यक्ति जेफ्री एपस्टाइनसँग सम्बन्धित मुद्दामा संसदीय समितिसमक्ष बयान दिएकी छन् । उनले एपस्टिनका आपराधिक गतिविधिबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेकी छन् । एपस्टाइन प्रकरणको अनुसन्धान गरिरहेको अमेरिकी संसदको समितिसामु बन्द कोठाभित्र करिब छ घण्टा बयान दिएपछि क्लिन्टनले सत्य बाहिर आउनुपर्ने आफू चाहेको बताइन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि शपथसहित समिति सामु उपस्थित गराएर एपस्टिनसँग रहेका विगतका सम्बन्धबारे सोधपुछ गर्नुपर्ने धारणा राखिन् । यसै मुद्दामा उनका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनले पनि बयान दिने तयारी गरिएको जनाइएको छ। सुरुमा क्लिन्टन दम्पतीले समितिको समनलाई राजनीतिक उद्देश्यले प्रेरित भन्दै विरोध गरेका थिए । तर संसद अवमाननासम्बन्धी सम्भावित कारबाही हुन सक्ने भएपछि उनीहरू बयान दिन सहमत भएका हुन् । बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हिलारी क्लिन्टनले सुनुवाइ सार्वजनिक नगरिएकोमा निराशा व्यक्त गरिन् । उनले समितिका अध्यक्ष जेम्स कमरले अनुसन्धान प्रक्रियाबारे महत्वपूर्ण प्रश्न उठाएको भन्दै प्रशंसा समेत गरिन् । क्लिन्टनले आफूले दुई दशकअघि नै एपस्टाइनसँगको सम्बन्ध तोडेको र उनका अपराधबारे कुनै जानकारी नभएको दोहोर्याइन् । उनले एपस्टिनसँग कहिल्यै भेट नभएको, उनको विमान, टापु वा निवासमा नपुगेको समेत बताइन् । सन् २०१९ मा न्यूयोर्कको जेलमा एपस्टाइनको मृत्यु भएको थियो। सुनुवाइका क्रममा समितिको बन्द सत्रबाट एउटा तस्बिर बाहिरिएपछि प्रक्रिया केही समय रोकिएको थियो । उक्त तस्बिर कोलोराडो राज्यकी सांसद लरेन बोएबर्टले खिचेर बाहिर पठाएको आरोप लागेको छ, जसलाई समितिका सदस्यहरूले नियमविपरीत कार्य बताएका छन् । समितिका केही सांसदहरूले क्लिन्टनमाथि केन्द्रित अनुसन्धान समयको बर्बादी भएको दाबी गर्दै बयानको पूर्ण प्रतिलिपि सार्वजनिक गर्न माग गरेका छन्। साथै राष्ट्रपति ट्रम्पलाई पनि समितिसामु उपस्थित गराउनुपर्ने माग दोहोरिएको छ। अमेरिकी न्याय विभागले सार्वजनिक गरेका विभिन्न कागजातहरूमा एपस्टाइनका धेरै प्रभावशाली व्यक्तिसँग सम्बन्ध रहेको उल्लेख भए पनि नाम उल्लेख हुनु मात्रै गलत कार्यमा संलग्नता प्रमाणित नहुने बताइएको छ । समितिले अनुसन्धान जारी रहेको जनाएको छ ।
१२- नेपाली काँग्रेसका सभापति गगन थापाले देशका सबै समस्या एक्लै समाधान गर्न नसकिने बताएका छन् । रुपन्देहीको बुटवलमा आयोजित काँग्रेसको चुनावी सभामा बोल्दै सभापति थापाले मैले एक्लै गर्न सक्छु भन्ने प्रवृतिले देशलाई फेरी दुर्घटनामा लैजाने दाबी गरेका हुन् । सभापति थापा काँग्रेसले देश सम्हाल्ने भन्दै देशलाई सम्हाल्दै गर्दा देशलाई विकासको नयाँ युगमा लैजाने बताए । उनले विकास भनेको पूर्वाधार मात्र नभएको भन्दै यसको जरासम्म पुग्नुपर्ने र समस्याको समाधान एउटा व्यक्ति हो भनेर नहुने बताए । उनले देश भित्रै केहि गर्छौं भनेर लागिरहेको भन्दै प्रणाली नबनाएसम्म देश विकास गर्न नसकिने दाबि गरे । उनले भने- ‘पाँच बर्ष देशले गति पक्डिन्छ, ग्यारेन्टी पकडन्छ, गुड्छ, कुद्छ, तर गुड्दै गर्दा कुददैगर्दा अर्को ग्यारेन्टी पनि के चाहिएको छ, यसले गाडी दुर्घटनामा पार्दैन । त्यसैले हामी स्पिडमा लैजान्छौं तर सुझ बुझका साथमा, हाम्रो गाडीमा सबैलाई हालेर लिएर जान्छौं ।’ उनले चर्को कुरा गरेर मात्र नहुने बताउदै सन्तुलन मिलाएर अगाडी लैजाने ताकत नेपाली काँग्रेससँग भएको बताए । सभापति थापाले नेता कार्यकतालाई सामाजिक सञ्जालमा मात्र नअलमलिन आग्रह गर्दै घर घरमा गएर मतदातालाई बदलिएको काँग्रेसको बारेमा बुझाउन निर्देशन समेत दिए ।
१३- दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदिया मदिरा घोटाला प्रकरणमा निर्दोष साबित भएका छन् । राउज एवेन्यू कोर्टले मदिरा घोटाला मुद्दामा केजरीवाल र सिसोदियाविरुद्ध कुनै प्रमाण फेला नपरेको आदेश दिएपछि दुवै जना निर्दोष साबित भएका हुन् । अदालतको आदेशपछि केजरीवालले मिडियासँग कुरा गर्दै रोएका थिए । उनले भने- ‘बीजेपीले जसरी हामीमाथि मदिरा घोटाला आरोप लगाउँदै आएको थियो, आज अदालतले हामीलाई निर्दोष साबित गएको छ । सत्यको विजय भएको छ । भगवान हाम्रो साथ छन् । मोदी जी र अमित शाहले ठूलो राजनीतिक षड्यन्त्र रचेका थिए । आम आदमी पार्टीका शीर्ष चार नेताहरूलाई जेलमा राखिएको थियो । मैले जीवनभर ईमानदारीले काम गरेको छु । प्रधानमन्त्रीज्यू, देशका समस्याहरू समाधान गरेर मात्र सत्ता सम्हाल्नु शोभा हुन्छ, अरूमाथि आरोप लगाउनु शोभा दिन्दैन ।’ अदालतले आफ्नो निर्णयमा भनेको छ, चार्जशीटमा हजारौं पृष्ठका प्रमाणहरूमा धेरै त्रुटी र विरोधाभास भएको उल्लेख छ । सिसोदियाविरुद्धको मुद्दा पनि पहिलो दृष्टिमा साबित हुन सकेन भने केजरीवालको नाम बिना ठोस प्रमाण जोडिएको अदालतले आफ्नो आदेशमा भनेको छ । अदालतले संवैधानिक पदमा रहेका व्यक्तिसँग सम्बन्धित आरोप बिना पुख्ता प्रमाण कानुनको सिद्धान्तअनुसार अस्वीकार्य भएको पनि उल्लेख गरेको छ । चार्जशीटमा राखिएका धेरै कुरा गवाह वा प्रमाणसँग मेल नखाएको आदेशमा उल्लेख छ । यसअघि कम्प्ट्रोलर एण्ड अडिटर जनरल अफ इन्डियाले दिल्लीको मदिरा नीतिसम्बन्धी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्टमा सरकारले २०२६ करोड भारतीय रुपैयाँ राजस्व घाटा भोगेको र शराब नीतिमा धेरै कमजोरी रहेको उल्लेख थियो । रिपोर्टमा लाइसेन्स वितरणमा समस्या रहेको र कथित रूपमा आम आदमी पार्टीका नेताहरूले लाभ लिएको पनि दाबी गरिएको थियो ।

१४- सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट निर्माण प्रक्रियामा राय र सुझाव प्रदान गर्न राजस्व परामर्श समिति गठन गरेको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको निर्णयअनुसार माघ २८ मा गठन भएको समितिले आफ्नो कार्य प्रारम्भ गरेको हो । समितिको संयोजक अर्थ मन्त्रालयका सचिव (राजस्व) रहेका छन् भने सदस्यहरूमा त्रिवि अर्थशास्त्र विभागका प्राध्यापक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, सम्बन्धित क्षेत्रका विज्ञ, विभिन्न उद्योग संघका अध्यक्ष लगायतका वरिष्ठ पदाधिकारीहरू रहेका छन् । समितिले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सेवा कर, ई–कमर्समा लाग्ने कर तथा अन्य आन्तरिक करसम्बन्धी नीतिगत र कानूनी सुधारका विषयमा सुझाव दिने अर्थमन्त्रालयले जनाएको छ । यसका साथै औद्योगिक प्रवर्द्धन, वाणिज्य, आयात-निर्यात, सेवा व्यापार, आपूर्ति व्यवस्थापन, लगानी प्रवर्द्धन, भन्सार दर पुनरावलोकन, व्यापार सहजीकरण, सीमा व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणसम्बन्धी कानूनी तथा संगठनात्मक सुधारका विषयमा पनि समितिले राय दिनेछ । समिताभित्र विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । आन्तरिक राजस्व उपसमिति कर प्रणाली सुधार र प्रक्रिया सरलीकरणका लागि जिम्मेवार छ भने भन्सार उपसमिति भन्सार दर पुनरावलोकन र व्यापार सहजीकरणका विषयमा काम गर्नेछ। राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान उपसमिति चुहावट नियन्त्रण, विदेशी विनिमय नियमन र आर्थिक अपराध नियन्त्रणको सुझाव दिनेछ । उद्योग, वाणिज्य, लगानी र निर्यात प्रवर्द्धन उपसमितिले नीतिगत सुधार र कर तथा गैरकर प्रोत्साहनका विषयमा काम गर्नेछ। कृषि, उर्जा र पर्यटन उपसमितिले कृषि व्यवसाय, ऊर्जा र पर्यटन प्रवर्द्धनसम्बन्धी सुझाव दिनेछ। बैंक, वित्तीय संस्था, बीमा, सहकारी र पूँजी बजार उपसमितिले आर्थिक नीतिसँग सम्बन्धित समस्याहरूको समाधान सुझाउनेछ। गैरकर तथा अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमितिले विभिन्न तहका कर प्रणाली, दोहोरोपनाको समाधान र राजस्व वाँडफाँड सुधारका विषयमा सुझाव दिनेछ। समष्टिगत आर्थिक उपसमितिले आर्थिक परिसूचक विश्लेषण गरी राजस्व परिचालन सम्भाव्यता र सुधार उपाय प्रस्ताव गर्नेछ भने सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान उपसमितिले सम्पत्ति शुद्धीकरण र आतंककारी क्रियाकलापमा हुने लगानीको जोखिमको मूल्याङ्कन गर्नेछ । राजस्व परामर्श समितिले आफ्नो पहिलो बैठक भइसकेको छ र सम्बन्धित निकाय, निजी क्षेत्रका संघ संस्था, प्राज्ञिक क्षेत्र र सर्वसाधारणबाट सुझाव मागेको छ। समितिका उपसमितिहरूले चैत्र मसान्तसम्म सुझाव समिति समक्ष पेश गर्नेछन् भने समितिले अर्थमन्त्री समक्ष २०८३ बैशाख मसान्तभित्र सिफारिश सहितको प्रतिवेदन बुझाउने छ ।
१५- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख १४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १५ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर तोलाको ५७४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५७२५ मा कारोबार भएको थियो ।
१६- अफगानिस्तान र पाकिस्तानबीच सीमाक्षेत्रमा भएको सैन्य झडपपछि दुवै देशले एकअर्कामाथि ठूलो क्षति पुर्याएको दाबी गरेका छन् । अफगान पक्षले कुनार क्षेत्रमा गरिएको आक्रमणमा पाकिस्तानका ५५ सैनिक मारिएको जनाएको छ । तालिबान सरकारका प्रवक्तालाई उद्धृत गर्दै अफगान सञ्चारमाध्यमहरूले पाकिस्तानी सेनाका केही शव आफ्नो नियन्त्रणमा रहेको तथा १९ वटा सैनिक चौकी र एक सैन्य मुख्यालय कब्जामा लिइएको दाबी गरेका छन् । अफगान पक्षका अनुसार केही पाकिस्तानी सैनिकलाई जीवितै पक्राउ गरिएको छ भने हतियार र सैन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको बताइएको छ । यसको जवाफमा पाकिस्तानले प्रतिआक्रमण सुरु गर्दै काबुल, नंगरहारलगायत विभिन्न क्षेत्रमा हवाई हमला गरेको जनाएको छ । पाकिस्तान सरकारको दाबीअनुसार हालसम्म १३३ अफगान तालिबान लडाकु मारिएका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् । साथै २७ चौकी ध्वस्त पारिएको र ९ चौकी नियन्त्रणमा लिइएको बताइएको छ । अफगान रक्षा मन्त्रालयले भने पाकिस्तानी हवाई हमलामा आफ्ना ८ जनाको मृत्यु र ११ जना घाइते भएको जानकारी दिएको छ । झडप सुरु भएको करिब चार घण्टापछि मध्यराततिर लडाइँ रोकिएको जनाइएको छ । नंगरहार, नूरिस्तान, कुनार, खोस्त, पक्तिया र पक्तिका लगायत सीमावर्ती क्षेत्रमा अझै पनि तनाव कायम रहेको बताइएको छ। पछिल्ला महिनाहरूमा सीमा क्षेत्रमा लगातार झडप हुँदै आएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । पाकिस्तानले आफ्नो भूमिविरुद्ध गतिविधि गर्ने समूहहरू अफगानिस्तानबाट सञ्चालन भइरहेको आरोप लगाउँदै आएको छ भने तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

१७- काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभित्र सञ्चालन हुने रात्रीकालीन व्यवसायको समय सीमित गरेको छ । कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्म काठमाडौं जिल्लाका सबै रात्रीकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सो समयपछि सम्पूर्ण व्यवसाय बन्द गर्नुपर्ने जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले निर्वाचन अवधिमा सुरक्षा व्यवस्था मजबुत बनाउन यस्तो निर्णय गरिएको जानकारी दिएका छन् । प्रशासनले सम्बन्धित सबै व्यवसायी तथा सरोकारवालालाई निर्णय पालना गर्न आग्रह गरेको छ ।
१८- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक गरिएको बीबीसीको भदौ २३ र २४ को जेनजी आन्दोलन बारेको डकुमेन्ट्रीप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले उक्त सामग्री सामान्य सञ्चार सामग्री मात्र नभई भूराजनीतिक गतिविधिसँग जोडिएको विषय हुन सक्ने बताएका छन् । नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनले बताएका छन् । निर्वाचनजस्तो संवेदनशील समयमा यस्तो सामग्री सार्वजनिक हुनु संयोग मात्र हो वा योजनाबद्ध हस्तक्षेप भन्ने विषय गम्भीर रूपमा विचार गर्नुपर्ने उनको भनाई छ । उनले भनेका छन्- ‘नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ।’ उनले लोकतन्त्रको रक्षा नेपाली जनताले स्वयं गर्नुपर्ने, राष्ट्रिय सार्वभौमिकता सबैको साझा जिम्मेवारी भएको तथा सूचना स्वतन्त्र भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् । साथै उनले नेपाललाई भूराजनीतिक दबाब वा प्रचारको माध्यम बन्न नदिन सबै सचेत हुन, तथ्य जाँच्न र राष्ट्रिय हितको पक्षमा उभिन आग्रह समेत गरेका छन् ।
१९- भारतले जिम्बाबेलाई पराजित गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको गएराती सम्पन्न खेलमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको हो । भारतले दिएको २५७ रनको लक्ष्य पछाएको जिमब्बेले २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको थियो । जिम्बाबेका लागि ब्रियन मेयर्सले सर्बाधिक अविजित ९७ रन बनाए भने कप्तान सिकन्दर राजाले ३१ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिए भने वरुण चक्रवर्ती, अक्सर पटेल र शिभम दुवेले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २५६ रन बनाएका थियो । भारतका लागि अभिषेक शर्माले सर्बाधिक ५५, हार्दिक पाण्डेयले अविजित ५०, तिलक बर्माले अविजित ४४, इशान किशनले ३८, कप्तान सुर्यकुमार यादवले ३३ र संजु सामसनले २४ रन बनाएका थिए । त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी, टिनोटेन्डा मापोसा र सिकन्दर राजाले एक एक विकेट लिएका थिए । यो जितपछि भारत सेमिफाइनलको दौडमा फर्किएको छ । दक्षिण अफ्रिकासँग पहिलो खेलमा हार बेहोरेको भारतको २ खेलमा २ अंक भएको छ र हाल समुह १ मा तेस्रो स्थानमा रहेको छ । अब भारतले आफ्नो सुपर आठको अन्तिम खेल वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै जिम्बाबे भने लगातार दोस्रो हार बेहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ र सुपर आठको अन्तिम खेल अब दक्षिण अफ्रीकासँग खेल्ने छ । यो खेलको नतिजापछि दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ ।
२०- अमेरिकाको न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले ह्वाइट हाउस भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा सहरमा ठूलो स्तरको आवास निर्माण लगानीबारे छलफल गर्न मेयर ममदानीले राष्ट्रपतिलाई प्रतीकात्मक रूपमा तयार पारिएको नक्कली पत्रिकाको पहिलो पृष्ठ उपहार दिएका थिए । मेयरको टोलीले नयाँ संघीय आवास लगानी भएपछि सम्भावित जनप्रतिक्रिया कस्तो हुन सक्छ भन्ने देखाउन उक्त पत्रिकाको आवरण तयार पारेको बताइएको छ । नक्कली पत्रिकाको मुख्य शीर्षकमा ‘ट्रम्पले सहरलाई भने- अब निर्माण गरौं’ भन्ने सन्देश राखिएको थियो, जुन सन् १९७५ मा प्रकाशित चर्चित पत्रिकाको शीर्षकलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको हो । मेयर ममदानीले राष्ट्रपतिसँगको भेटको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । मेयरका सञ्चार निर्देशक अन्ना बहरका अनुसार राष्ट्रपति ट्रम्प प्रस्तावित आवास योजनाप्रति सकारात्मक देखिएका थिए । प्रस्तावअनुसार क्वीन्स क्षेत्रको सनसाइड रेल यार्डमाथि संरचना निर्माण गरी संघीय सहयोगबाट करिब २१ अर्ब अमेरिकी डलर लगानीमा १२ हजार किफायती आवास निर्माण गर्ने योजना रहेको छ । मेयर कार्यालयले यस परियोजनाबाट करिब ३० हजार रोजगारी सिर्जना हुने र पछिल्लो ५० वर्षयताकै सबैभन्दा ठूलो आवास तथा पूर्वाधार लगानी हुने अनुमान गरेको छ । गत नोभेम्बरमा भएको अघिल्लो भेटमा राष्ट्रपति ट्रम्पले न्यूयोर्क सहरमा ठूला निर्माण परियोजना अघि बढाउने प्रस्तावसहित पुनः आउन मेयर ममदानीलाई प्रोत्साहित गरेको जनाइएको छ ।
#SamacharBulletin #Top20News #NepalNews #DailyUpdate #NepaliHeadlines #NewsHighlights #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



