

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार इरानलाई एकै रातमा ‘समाप्त पार्न’ सकिने र त्यो रात मंगलवार हुनसक्ने बताउनुभएको छ । ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्नका लागि तोकेको समयसीमा मंगलवार राति समाप्त हुँदैछ ।

सोही क्रममा उहाँले मध्यस्थकर्ताहरूमार्फत इरानी पक्षसँग भइरहेको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ दाबी समेत गर्नुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भन्नुभयो, ‘सम्पूर्ण देशलाई एकै रातमा सिध्याउन सकिन्छ र त्यो रात भोलि रात हुनसक्छ ।’

उहाँले इरानसँगको युद्ध कम गर्ने वा बढाउने भन्नेकुरा इरानको कदममा भर पर्ने बताउनु भयो । ट्रम्पले आफ्नो प्रशासनसँग मंगलबार मध्यरातसम्म इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पार्ने योजना रहेको खुलासा गर्नुभयो । राष्ट्रपतिले मंगलवार पूर्वी समय अनुसार राति ८ बजेको समयसीमा अन्तिम भएको बताउनु भयो । यद्यपि उहाँले विगतमा यस्ता समयसीमाहरू बारम्बार परिवर्तन गर्दै आउनुभएको छ ।

यसअघि ट्रम्पले इरानको नागरिक पूर्वाधारमा हुने अमेरिकी हवाई आक्रमणले युद्ध अपराधको रूप लिनसक्ने विषयमा आफू ‘चिन्तित नरहेको’ बताउनुभएको थियो । उहाँले होर्मुज जलडमरूमध्यबाट गुज्रिने जहाजहरूमा अमेरिकाले शुल्क (टोल) लिनुपर्ने र तेलको स्वतन्त्र आवागमन सुनिश्चित हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले इरानको तेल नियन्त्रणमा लिन सकिने संकेत गर्दै अमेरिकी जनता भने आफ्ना सेना घर फर्केको हेर्न चाहने उल्लेख गर्नुभयो ।

अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्धविरामले विपक्षीहरूलाई पुनर्गठित हुन र थप अपराध गर्न समय मात्र दिने बताउनुभएको छ । इरानी समाचार एजेन्सी आईआरएनएकाअनुसार तेहरानले अमेरिकाको १५ बुँदे प्रश्तावलाई अस्वीकार गर्दै युद्धको स्थायी अन्त्यका लागि आफ्ना शर्तहरूसहित पाकिस्तानमार्फत जवाफ पठाएको छ । ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध जितिसकेको दाबी गरे पनि धेरै अमेरिकी विशेषज्ञहरू भने यसमा असहमत देखिन्छन् ।



