राजस्व चोरी सम्बन्धी समाचारप्रति सितगंगा नगर प्रमुखको गम्भीर ध्यानाकर्षण
अर्घाखाँची — सितगंगा नगरपालिका वडा नं. ११ का अध्यक्ष नबराज भुसाललाई लक्षित गर्दै “राजस्व चोरी” शीर्षकमा प्रकाशित समाचारप्रति सितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नगर प्रमुख पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै तथ्यहीन र अपुष्ट समाचारले जनमानसमा भ्रम सिर्जना गर्ने भएकाले जिम्मेवार पत्रकारितामा जोड दिएका छन्।


जारी विज्ञप्तिमा नगर प्रमुख पौडेलले आमसञ्चार माध्यमहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा समाचार प्रकाशन गर्दा निष्पक्षता, तटस्थता र तथ्यको आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गरेका छन्। तथ्य पुष्टि नगरी प्रकाशित गरिने समाचारले न केवल व्यक्ति र संस्थाको प्रतिष्ठामा असर पर्ने, तर आम नागरिकमा गलत सन्देश जाने समेत उनको भनाइ छ।

नगर प्रमुख पौडेलले सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न आग्रह गर्दै भ्रामक समाचारले समाजमा अनावश्यक विवाद र भ्रम फैलाउन सक्ने बताएका छन्। उनले जिम्मेवार पत्रकारिताको अभ्यासले मात्र लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन्।

प्रेस विज्ञप्तिमा सितगंगा नगरपालिका पारदर्शिता, जवाफदेहिता र सुशासनको पक्षमा सधैं प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। नगर प्रमुख पौडेलका अनुसार प्राविधिक नापजाँचका आधारमा मूल्यांकन गरी सरस्वती इँटा उद्योगले राजस्व तिरेको पुष्टि भएको छ। केही प्रक्रियागत त्रुटिका कारण राजस्व दाखिलामा ढिलाइ भएको भए पनि सम्बन्धित कम्पनीले आवश्यक राजस्व रकम दाखिला गरिसकेको जानकारी दिइएको छ।
नगर प्रमुख पौडेलले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको विश्वास कायम राख्न पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखिएको बताएका छन्। उनले सितगंगा नगरपालिका सुशासनको पक्षमा सधैं अग्रसर रहने र आवश्यक परे थप छानबिन तथा तथ्य सार्वजनिक गर्न पनि तयार रहेको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीमाथि लाग्ने आरोपहरू तथ्यका आधारमा पुष्टि हुनुपर्ने र अनावश्यक आरोप-प्रत्यारोपले विकास तथा सेवा प्रवाहमा असर पर्ने उल्लेख गरिएको छ। नगर प्रमुख पौडेलले जनताको विश्वासलाई केन्द्रमा राखेर नगरपालिका सधैं जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगर प्रमुख पौडेलद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा सञ्चार माध्यमलाई जिम्मेवार र तथ्यमा आधारित समाचार प्रकाशन गर्न आग्रह गर्दै सितगंगा नगरपालिका सुशासन, पारदर्शिता र जवाफदेहिताको मार्गमा निरन्तर अगाडि बढ्ने उल्लेख गरिएको छ।


#सितगंगा #अर्घाखाँची #नबराजभुसाल #छविलालपौडेल #स्थानीयसरकार #सुशासन #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD