



– अर्घाखाँची डट्कम सम्वाददाता ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ९ मा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा वडा भित्रका करिब ९ टिमको सहभागिता रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै वडा नं. ९ का अध्यक्ष भीम केसीले राष्ट्र निर्माणका लागि समाजलाई रूपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेल क्षेत्रको विकासले मात्र देशको विकास सम्भव हुने उल्लेख गर्दै स्वस्थ र स्वच्छ जीवनशैलीका लागि खेलकुद आवश्यक रहेको धारणा व्यक्त गरे।


कार्यक्रममा वडा सचिव खगेन्द्र तिरुवा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामुदायिक वनका अध्यक्ष, खेलाडी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतियोगितामा सिर्जनशील युवा क्लब प्रथम, सिस्ने प्रगतिशील युवा क्लब द्वितीय तथा ठाडाखोला सुन्दर समाज युवा क्लब लामिदमार तृतीय भएका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि सागर परियारले प्राप्त गरेका छन्।

कार्यक्रम वडा सदस्य खुमबहादुर लुम्चेको अध्यक्षतामा तथा कार्यालय सहयोगी सिंह घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो।




