


टेकराज भुसाल, अर्घाखाँची।
अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका छन्।

बुधबार एक कार्यक्रममा बिच कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका हुन। बिदाई कार्यक्रमकाे उद्घाटन भूमिकास्थान नगरपालिका २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले गर्नुभएको हो। उद्घाटन गर्दै वडाध्यक्ष थापाले पछिल्लो समय भूमिकास्थान नगरपालिकाको शैक्षिक नतिजा अपेक्षाअनुसार सन्तोषजनक नभएको उल्लेख गरे।


उनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। साथै उनले अनुशासन, नियमित अध्ययन र सकारात्मक सोचले मात्र उज्ज्वल भविष्य निर्माण सम्भव हुने बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेणुकान्त भट्टराईले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना दिँदै सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न सुझाव दिए।

शिक्षक खुमबहादुर बस्नेत र शिवराज अधिकारीले विद्यार्थीहरूलाई परिश्रम, लगनशीलता र समयको सदुपयोगमार्फत सफलता हासिल गर्न प्रेरित गरे।

विद्यार्थी प्रतिनिधिका रूपमा सोनिया पौडेल र मधु खनालले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै शिक्षक तथा विद्यालयप्रति आभार व्यक्त गरे। उनीहरूले सहपाठीबीचको मित्रता र सिकाइका अनुभवले जीवनभर साथ दिने विश्वास व्यक्त गरे।

कक्षा ११ का विद्यार्थी सागर खनालको अध्यक्षता, प्रियंका खनालको स्वागत मन्त्वय र लक्ष्मी सुनारको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई भावुक बनाउँदै उज्ज्वल भविष्यको कामना सहित बिदाइ गरिएको थियो।



