


अफगानिस्तानको राजधानी काबुलमा बुधवारदेखि चार दिने कृषि, पशुधन र हस्तकला उत्पादनको प्रदर्शनी शुरु भएको छ ।
कृषि, सिंचाई तथा पशुपंक्षी मन्त्रालयको विज्ञप्तिअनुसार यस मेलाको उद्देश्य बजारीकरणलाई प्रवद्र्धन गर्ने, व्यावसायिक सम्बन्धहरू विकास गर्ने र स्थानीय तथा अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताहरूलाई स्वदेशी उत्पादनहरू देखाउने रहेको छ । मेलामा २६० वटा स्टलहरू रहेका छन्, जसमा १३० वटा महिला उद्यमीहरूका लागि समर्पित छन् ।

यहाँ किसानहरू, पशुपालकहरू र स्थानीय व्यवसायीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गरिरहेका छन् । कृषि, सिंचाई तथा पशुपंक्षीमन्त्री अताउल्लाह ओमारीले यो मेलालाई अफगानिस्तानको कृषि र पशुपालन क्षेत्रमा भएको प्रगतिको प्रमाणको रूपमा व्याख्या गर्नुभयो ।


क्षेत्रीय व्यापार अवरोधहरूका कारण स्वदेशी उत्पादनलाई बलियो बनाउने अवसर सिर्जना भएको र अफगानिस्तानलाई खाद्य उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको उहाँले बताउनु भयो । अफगान सरकारले आन्तरिक उत्पादन क्षमता बढाउन, जनतालाई स्वदेशी वस्तु प्रयोग गर्न प्रोत्साहन गर्न र आयातमा निर्भरता कम गर्न देशैभरि यस्ता प्रदर्शनीहरू आयोजन गर्दै आएको छ ।



