


नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले स्थानिय तहले अनुत्पादक क्षेत्रमा मात्रै लगानी नगर्ने बताउनुभएको छ । सोमवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले स्थानिय तहले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न थालिसकेको बताउनु भयो ।
जुगल क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यको रूपमा ‘जुगल माउण्ट एभरेस्ट भ्यू प्वाइन्ट’ पहिचान गरेर जुगल गाउँपालिकाले त्यसलाई प्रमाणित गरेको उहाँको भनाई छ । स्थानीय तहका बजेट प्रायः अनुत्पादक क्षेत्रमा खर्च भइरहेको आलोचना भइरहँदा जुगल गाउँपालिकाले पर्यटन पूर्वाधारमा लगानी गरेर सकारात्मक सन्देश दिएको उहाँले बताउनु भयो ।

उहाँले पर्यटकीय क्षेत्रको पहिचानसँगै त्यस क्षेत्रको पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । बलेफीदेखि तेम्बाथानसम्मको सडक स्तरोन्नति सन्तोषजनक नभएको उल्लेख गर्दै सापकोटाले जुगल हिमालसम्म सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । यद्यपि, मोटर बाटो बेस क्याम्पसम्म पु¥याउने वा निश्चित बिन्दुसम्म सीमित गर्ने भन्ने विषयमा अझै स्पष्ट निर्णय हुन नसकेको उहाँको भनाई छ । उहाँले मानव बस्तीभन्दा माथिल्लो क्षेत्रमा प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । बस्तीसम्म मात्र सडक विस्तार गरेर त्यसपछि पदमार्ग विकास गर्नुपर्ने उहाँको भनाई छ ।


उहाँले जुगल ट्रेकमा ३६ करोड रुपैयाँ बराबरको लगानीमा पूर्वाधार बनिसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा स्थानीय तहका बजेटहरू अनुत्पादक मुलक क्षेत्रहरूमा लगानी भए भनेर टिप्पणी भइराखेको सन्दर्भमा जुगल गाउँपालिकाले महत्त्वपूर्ण क्षेत्रमा लगानी गरेको छ यसको समेत म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । पर्यटन क्षेत्रमा, पर्यटन उद्योगमा लामो व्यावसायिक अनुभव र अभ्यास गर्नुभएका विशिष्ट महानुभावहरूका यहाँ अनुभवहरू आए, सुझावहरू आए, हामी सबैले सुनेका छौँ। मूलतः हामी राजनीतिक व्यक्तिहरूले यहाँ प्रतिवद्धता व्यक्त गर्नुपर्ने कुरा के छ भने बलेफीसम्म अरनिको लोकमार्ग नै छ । बलेफीदेखि बलेफी, ढाँडे, कात्तिके हुँदै तेम्बाथान सम्मको सडक छ, सहायक राष्ट्रिय राजमार्ग, लामो समयदेखि त्यो भनेजस्तो चित्तबुझ्दो ढङ्गले काम भएको छैन । हामीले एकैदिन जुगल हिमाल पुग्न सक्ने बाटो भनेका छौँ । हामीले एकैचोटी बेस क्याम्पसम्म गाडी लाने कि नलाने ? अर्थात् मोटर बाटो कहाँसम्म पु¥याउने भन्ने बहस पनि चलिराखेको छ तर हामी टुङ्गोमा पुगेका छैनौँ ।
हामीले कुन क्षेत्र सम्मको प्राकृतिक साधन स्रोतहरूलाई कसरी परिचालन गर्ने ? कुनै निश्चित एउटा बिन्दु भन्दामाथि तिरका प्राकृतिक साधन स्रोतहरूको संरक्षण गर्ने ? यो दुइटै कुरा मिलाउनुपर्ने स्थिति छ । यसरी हेर्दा हामीले सुरुमा भनेको दिपु, तेङ्गा, साङ्गालुङ लगायतका ठाउँहरूमा जो मानव बस्ती छ, त्यहाँ सम्म बाटो लैजाने । त्यसभन्दा माथि चाहिँ पदमार्गबाट मात्रै सञ्चालन गर्दाखेरी आकर्षक गन्तव्य हुन सक्छ भन्ने एउटा छलफल चलिराखेको छ तर यसलाई निर्णयमा लान सकेका छैनौँ । मानव बस्ती भन्दा माथिल्लो क्षेत्रमा अहिले जलविद्युत परियोजनाहरू पनि छन् । हामीले भनेको मानव बस्ती भन्दा तलतिर मात्रै जलविद्युत परियोजनाहरू हुँदाखेरी प्रभावकारी हुन्छ । तर अब अहिले त मानव बस्ती भन्दा माथि पनि गएर जलविद्युत परियोजनाहरूले विस्फोटनका विस्फोट गर्ने, अरु वन फँडानी गर्ने लगायतका विवादहरू पनि अहिले आएका छन् ।’

उहाँले यो ट्रेकमा दीर्घकालीन रुपमा फोहरमैलाको व्यवस्थापन लगायतका कुरमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासको लागी १७ करोड लगानीमा बलेफी नजिकै पर्यटकीय विद्यालय नै भनेर पूर्वाधार तयार पारिसकेको जानकारी दिनुभयो । यसले पर्यटकी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उहाँको भनाई छ । उहाँले जुगल, सुकुटे, भैरवकुण्ड, कालिञ्चोकसबैलाई जोडेर एकीकृत ढङ्गले लैजाने र त्यहाँ चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेगरि पर्यटकीय स्कुल सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

वागमती प्रदेशका प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जुगल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले बलेफी गाउँपालिकामा ¥याफ्टिङ विद्यालय सञ्चालनको तयारी भइरहेको र जुगल क्षेत्रमा माउण्टेनियरिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो । पौडेलले जुगल हिमाल, भैरवकुण्ड, पाँचपोखरी र हेलम्बु लगायत क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिनुभयो । साथै, पर्यटकलाई सुरक्षित र व्यवस्थित सेवा दिन प्रारम्भदेखि नै स्पष्ट सूचना, पूर्वाधार र मार्गदर्शन आवश्यक रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले ¥याफ्टिङ विद्यालयको रुपमा बलेफी गाउँपालिकामा एउटा विद्यालय सञ्चालनको जिम्मेवारी बागमती प्रदेशले जिम्मा लिएर गर्ने पनि हामीले प्रयत्न गरिराखेका छौँ । अहिले जुगल गाउँपालिकाको अझ विशेष गरी जुगल हिमाल यो गाउँपालिकाको रुपमा मात्रै होइन, देशैभरी र संसारभरि पनि जुगल गाउँपालिकामा अवस्थित जुगल हिम श्रृंखला परिचित हुँदै गएको छ । हामीले विशेष गरि त्यो ठाउँसम्म पुग्ने गन्तव्यलाई व्यवस्थित गर्ने चुनौती नै हो । अहिले सिन्धुपाल्चोकको हामीले समग्र कुरा गर्दाखेरि हामीसँग सिन्धुपाल्चोक भएर जाने कालिञ्चोक हामी अलिकति जाडो महिनामा पानी पर्ने बित्तिकै स्नो टुरिजमकै रुपमा हामी त्यहाँ हिउँ खेल्नको निमित्त जाने सबैभन्दा नजिकको गन्तव्य जस्तो छ । हामी अहिले भैरवकुण्ड भर्खरै खुले जस्तो भएको छ । भैरवकुण्डमा अहिले यति धेरै पर्यटकहरु गई राख्नुभएको छ । रसुवा हाम्रो काठमाडौँबाट सबैभन्दा नजिकको माउन्टेनरिङ ट्रेनिङ सेन्टरको गन्तव्य रहेछ । त्यो गन्तव्य हामीले सिन्धुपाल्चोकमा बनाउन सक्छौ । हाम्रो भैरवकुण्ड क्षेत्र पनि त्यो महत्त्वपूर्ण क्षेत्र हो । चाइनाको बोर्डरको छेउतिर पनि ट्रेनिङ सेन्टरहरु बनाउन सकिने ठाउँ हामीसँग छ । हामीसँग धार्मिक पर्यटनको हिसाबले पनि महत्त्वपूर्ण गन्तव्यको रुपमा छ । पाँचपोखरी, जुगल, भैरवकुण्ड, हेलम्बु, यी सबै क्षेत्रहरु हाम्रो त्यही क्षेत्र सिन्धुपाल्चोक मै पर्दछ ।’
उहाँले जुगल हिमाल क्षेत्रमा बेस क्याम्प जोड्ने पुल बनाउनेमा बारेमा अध्ययन गरिरहेको पनि जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धनसँगै स्थानीय संस्कृति संरक्षण, पूर्वाधार विस्तार र दीर्घकालीन योजना आवश्यक रहेकामा जोड दिनुभयो ।



