आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो । सोही अनुसार बिहीबार सम्म धरान उपमहानगरपालिका सहित २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारी सहित मन्त्रालयमा निवेदन पठाएका छन् ।  हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका सहित घोराही उपमहानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिका समेत रहेका छन् । यस्तै भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले समेत स्थानीय तहबाटै नापी तथा मालपोतको सेवा दिन तयार रहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन् । मन्त्रालयले प्राप्त निवेदन उपर अध्ययन थालेको छ । मन्त्रालयले चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी समेत सुरु गरेको छ ।  पालिका छनोट गर्दा सेवाग्राहीको चापको अवस्था, पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार मानी कम भिडभाड भएका साथै अत्यधिक सेवा चाप रहेका पालिकालाई प्राथमिकता दिइने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । इच्छुक पालिका रहेका जिल्ला स्थित नापी तथा मालपोतका अधिकारीहरूलाई तत्कालै स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति जानकारी गराउन मन्त्रालयले बिहीबार नै पत्राचार समेत गरेको छ ।  लगत्तै नापी तथा मालपोत सेवा प्रवाहका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक तथा जनशक्ति व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले पालिकाहरूलाई आवश्यक सामाग्री सहित कर्मचारीहरूलाई समेत तालिम र प्रशिक्षण दिने तयारी गरेको छ । एक सातामै भित्रै सबै तयारी पुरा गरेर केही पालिकामा नापी र मालपोत सेवा हस्तान्तरण गर्ने मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।

२- नेपालले जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गत भानुआटुलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा नेपालले भानुआटुलाई ८३ रनले पराजित गरेको हो । नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको भानुआटुले १६.४ ओभरमा अलआउट हुदै ४९ रन मात्र बनाएको थियो । भानुआटुलाई अलआउट गर्नेक्रममा नेपाली बलर कविता कुँवरले ६ विकेट लिएकी थिइन् । त्यस्तै पुजा महतो र रचना चौधरीले २-२ विकेट लिएका थिए । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १३२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले सर्बाधिक ५२ रन बनाएकी थिइन् भने कप्तान इन्दु बर्माले ४३ र पुजा महतोले १९ रन बनाएकी थिइन् ।  यो जितपछि नेपालको ७ खेलमा ८ अंक भएको छ भने भानुआटुको ८ खेलमा २ अंक रहेको छ । नेपालले अर्को खेल मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

३- सरकारले सार्बजनिक जग्गाको अतिक्रमणविरुद्ध देशव्यापी अभियान शुरु गरेको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन दिदै अतिक्रमण गरिएको सार्बजनिक जग्गाको पहिचान र हटाउने कार्ययोजना तयार गर्न निर्देशन दिएको हो ।मन्त्रालयले अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन चरणबद्धरुपमा कार्यान्वयन गर्ने बताउदै स्थानीय तह र सुरक्षा निकायलाई परिचालन गरेको छ । यसैक्रममा शुक्रबार बिहान काठमाडौं जिल्लाका सबै क्षेत्रका नदी किनारमा भएका अतिक्रमण हटाउने तयारी गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै विहिबार साँझसम्म अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन र शुक्रबार बिहानदेखि हटाउन शुरु गरिने बताएको थियो । सरकारले यसअघि काठमाडौँको थापाथली, गौरिगाउँ-तिनकुने र मनोहरा क्षेत्रका घर टहरा भत्काएको छ । यसैबीच सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न गराउने सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयले पनि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । जसमा भनिएको छ: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद – १३ मा भएको स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत ऐ. ऐनको दफा ९७ मा गाउँपालिका तथा नगरपालिका क्षेत्रभित्रको सम्पत्तीको संरक्षण सम्बन्धित गाउँपालिका, नगरपालिकाले गर्नुपर्ने व्यवस्था अवगतै छ । सो सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२।१२।१३ को एक सय बुँदे कार्ययोजनाको बुँदा नं. ९२ मा उल्लेख भएबमोजिम तहाँ गाउँपालिका, नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न/गराउन देहाय बमोजिम हुन यस मन्त्रालयको मिति २०८३ । ०१ । १७ (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ ।

Nepal life insurance

४- रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।  प्रहरीले खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ । दुर्घटनामा परेका पूर्वी रुकुम सिस्ने गाउँपालिका-५ टाकुरा बस्ने बर्ष ३२ को समिर कामीको बाँया खुट्टा, निधार र बाँया आँखामा चोट लागेको र मध्यम बोल्न सक्ने अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको हाल आधारभुत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भईरहेको छ । जीपमा कति सवार थिए भन्ने स्पष्ट भएको छैन ।   दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ । घटनास्थल दुर्गम भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

५-  भ्रष्टाचार सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका एक व्यक्तिविरुद्ध प्रतिकुल बयान दिएको आरोपमा  विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकार वादी र रामा शंकर प्रसाद कुशवाहासमेत प्रतिवादी रहेको प्रकरणमा सरकारी साक्षी दुर्गा भण्डारी (थापा) ले अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेको पुष्टि भएपछि उनीविरुद्ध नयाँ आरोपपत्र दायर गरिएको जनाएको हो । अनुसन्धानका क्रममा सहयोग गरेको आधारमा भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो। तर, उनले विशेष अदालत काठमाडौँमा २०८३ वैशाख २ गते दिएको बकपत्र आयोगमा दिएको बयान र मागदाबीविपरीत रहेको उजुरीपछि अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट बलरा नगरपालिका, सर्लाहीद्वारा सञ्चालन गरिएको ‘किशोरीहरूका लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा संलग्न भई ३० दिनको तालिममध्ये जम्मा ५ दिन मात्र प्रशिक्षण दिए पनि ३० दिनकै कार्यक्रम सञ्चालन भएको देखाउने झुट्टा कागजात तयार गर्न सहयोग गरेको पुष्टि भएको आयोगले जनाएको छ । यस कार्यबाट आफूलाई गैरकानुनी लाभ पुर्‍याउने तथा सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्‍याउने मनसाय रहेको ठहर गर्दै उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) र दफा २२ बमोजिम कसुर भएको निष्कर्ष निकालिएको छ । उक्त प्रकरणमा मुख्य कसुरदारबाट ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरिएको छ। सोही आधारमा भण्डारीलाई पनि मुख्य कसुरदार सरह सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

६- परराष्ट्रमन्त्री शिशिर खनाल र युक्रेनका परराष्ट्रमन्त्री आन्द्रेई सिबिहाबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार विहिबार भएको वार्तामा नेपाल-युक्रेन सम्बन्धका विविध विषयका साथै युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिकको अवस्थाबारे छलफल भएको छ । मन्त्री खनालले नेपाल सरकारको नीति अनुसार परम्परागत सम्झौता भएका देश बाहेक अन्य कुनै विदेशी सेनामा नेपाली नागरिक भर्ती हुन नपाउने स्पष्ट पार्दै युक्रेनी पक्षसँग हिरासतमा रहेका नौ नेपाली नागरिकलाई मानवीय आधारमा रिहा गरी स्वदेश फर्काउन आग्रह गरेका थिए । त्यसप्रति युक्रेनी मन्त्री सिबिहाले उक्त विषयमा छलफलका लागि आफ्नो पक्ष तयार रहेको बताएको मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा युक्रेनी मन्त्री सिबिहाले मन्त्री खनाललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै दुवै पक्षले द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै कृषि, पर्यटन र शिक्षा लगायतका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

७- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखेका हुन् । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ । उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।  मन्त्री पोखरेलले सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउदैँ फिनल्यान्ड सरकारकोतर्फबाट शिक्षा क्षेत्रमा गरिआएको सहयोगको सराहना गर्नुहुदै आगामी दिनमा पनि नेपालको शिक्षालगायत क्षेत्रमा फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गरे । शिक्षामन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । उक्त भेटमा महामहिम राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गरेको सहयोगलाई आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए । फिनल्यान्डको  सहयोगमा हाल विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालित छन् । नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा महामहिम राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेशन’मा फिनल्यान्डको विज्ञता रहेकाले आफूहरु पनि यि शैक्षिक कार्यक्रममा सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको बताए । राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ को एजेण्डामा फिनल्यान्ड सरकारको विज्ञताको हिसाबले सो क्षेत्रमा पनि सझेदारिता गर्ने इच्छा व्यक्त गरे ।

८- इन्डियन प्रिमियर लिग (आइपिएल) टिम राजस्थान रोयल्सका कप्तान रियान परागलाई खेलका क्रममा ड्रेसिङ रुमभित्र भेप प्रयोग गरेको आरोपमा कारबाही गरिएको छ । गएराती सम्पन्न पञ्जाव किंगविरुद्धको खेलमा परागले खेलको क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेको देखिएको थियो । भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार राजस्थान रोयल्सका कप्तान पारागलाई खेल शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ भने एक डिमेरिट अंक पनि दिइएको छ । उनीमाथि खेलको प्रतिष्ठामा आँच आउने व्यवहार गरेको आरोप लागेको हो । सो खेलमा पञ्जाब किङ्सले दिएको २२२ रनको लक्ष्य राजस्थानले ४ बल बाँकी रहँदै पूरा गरेको थियो । सोही खेलका क्रममा ड्रेसिङ रुमभित्र भेप प्रयोग गरेको पाइएपछि पारागमाथि कारबाही गरिएको हो। उनले आफ्नो गल्ती स्वीकार गर्दै म्याच रेफ्री अमित शर्माले तोकेको सजाय मानेका छन् । बोर्डले यस घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित टोली, पदाधिकारी तथा खेलाडीमाथि थप कडा कारबाही गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ । यसअघि पनि राजस्थान रोयल्सका टोली व्यवस्थापक रोमी भिन्दरलाई खेलका क्रममा डगआउटमा मोबाइल प्रयोग गरेको कारण एक लाख भारतीय रुपैयाँ जरिवाना गरिएको थियो । उनले गल्ती स्वीकार गर्दै माफी मागेका थिए र भविष्यमा यस्तो नगर्न चेतावनी दिइएको थियो ।

९- राष्‍ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले विहिबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।  नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सरकारले सिफारिश गरेका अन्य ५ अध्यादेश भने राष्ट्रपतिले अझै जारी गरेका छैनन् । सरकारले सिफारिश गरेका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश भने राष्ट्रपति पौडेलले होल्ड गरेका छन् । यी अध्यादेशका बारेमा राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता र विभिन्न संबिधानविदहरुसँग छलफल समेत गरिरहेको बताइएको छ ।

१०-  सन् २०२३ अक्टोबरदेखि जारी द्वन्द्वमा हालसम्म ७२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । मन्त्रालयले सन् २०२५ अक्टोबरमा युद्धविराम घोषणा भएपछि हालसम्म ८२४ जनाको मृत्यु भएको र २ हजार ३१६ जना घाइते भएको जनाएको छ । यसैगरी, सन् २०२३ अक्टोबरदेखि सुरु भएको यो सम्पूर्ण द्वन्द्वमा हालसम्म ७२ हजार ६०१ जनाको मृत्यु भएको छ भने १ लाख ७२ हजार ४१९ जना घाइते भएका छन् ।

११- नेपाल शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ । महासङ्घले शैक्षिक सत्र, साप्ताहिक दुई दिन बिदा, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट, शिक्षा ऐन तथा देशका विभिन्न स्थानमा शिक्षक–कर्मचारीले भोग्नुपरेका समस्याबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । महासङ्घले सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णयको समर्थन गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । महासंघले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा शिक्षाका लागि कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ । नेपाल सरकार र महासङ्घबीच विगतमा भएका सहमति अनुसार स्थायी, अस्थायी, राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालकक्षा र विशेष शिक्षा अन्तर्गतका शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान हुने गरी अग्रगामी विद्यालय शिक्षा ऐन छिटो जारी गर्नुपर्ने माग गरिएको छ । यसैगरी, मन्त्रिपरिषद्ले २०८२ वैशाख १७ गते गरेको ९ बुँदे निर्णय अविलम्ब कार्यान्वयन गर्न पनि महासङ्घले माग गरेको छ । सिराहा, धनुषा र बाजुरा लगायतका जिल्लाका केही स्थानीय तहमा महिनौँदेखि शिक्षक-कर्मचारीले तलबभत्ता नपाएको विषयप्रति असन्तुष्टि जनाउँदै तत्काल भुक्तानी गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ। यसमा सहजीकरणका लागि सरकारसँग पनि माग गरिएको छ । त्यस्तै, सोलुखुम्बु लगायतका केही स्थानीय तहमा कार्यरत शिक्षकलाई अकारण सेवाबाट हटाउने र विभिन्न बहानामा सरुवा गर्ने काम भइरहेको भन्दै यस्ता गतिविधि तुरुन्त रोक्न महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ। साथै समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिएको छ ।

images

१२- नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२  विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ मा कारोबार भएको थियो ।  आज बैंकिंग र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी श्रीनगर एग्रोको शेयर १२.५७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १०.३८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २६ करोड ७५ लाख र अन्खु खोला हाइड्रोको २१ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।

१३- नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमणपछि सीमा नीतिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले सीमा क्षेत्रमा स्थानीय नागरिकसँगको अन्तर्क्रियापछि आफू गहिरो छटपटी र आक्रोश लिएर फर्किएको बताएका छन् । ‘१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने’ हाल कडाइका साथ लागू गर्न खोजिएको व्यवस्थाले त्यहाँका नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको उनको भनाइ छ । उनले सीमा क्षेत्रमा देखिएका केही प्रतिनिधि घटनाहरू सार्वजनिक गरेका छन् । बिहान कामका लागि सीमा पार गर्ने एक ज्यालादारी मजदुरलाई एउटा बिस्कुटको प्याकेटकै कारण दुई घण्टा रोकिनुपरेको र एक महिलाले पहिले सम्मानका साथ सीमा पार गर्ने अवस्था अहिले डरमा परिणत भएको गुनासो गरेको उल्लेख गरेका छन् ।थापाले यो व्यवस्था नयाँ नभए पनि विगतदेखि कागजमै सीमित रहेको र व्यवहारमा लागू नगरिएको स्मरण गरे । आफ्नै पार्टी नेतृत्वको सरकारका पालामा समेत यसको अव्यवहारिकता बुझेर कार्यान्वयन नगरेको तर समयमै संशोधन गर्न नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् । उनले उक्त नीतिलाई नागरिकमैत्री नभई ‘हेपाहा नीति’को संज्ञा दिँदै मधेसको दैनिकीमा प्रत्यक्ष असर परेको बताए । नियमित आवतजावतलाई शङ्काको विषय बनाएको र नागरिक सम्मानमा चोट पुगेको उनको भनाइ छ । भन्सार विभागकै अनुसार यसबाट उल्लेखनीय राजस्व नउठ्ने अवस्थामा यस्तो कडाइ किन गरिएको भन्ने प्रश्न पनि सभापति थापाले प्रश्न उठाएका छन् । उनले यो नीतिको मार विशेषगरी महिला, विद्यार्थी, किसान र श्रमिक वर्गमा परेको उल्लेख गर्दै सरकारले तत्काल निर्णय फिर्ता लिन माग समेत गरेका छन् । साथै, सीमा क्षेत्रमा पहिलेको जस्तै सहज आवतजावत सुनिश्चित गर्न आग्रह गरे । थापाले सीमा क्षेत्रलाई राष्ट्रको किनारा मात्र नभई अर्थतन्त्र, संस्कृति र विश्वासको सङ्गमका रूपमा उल्लेख गर्दै संवेदनशीलता नबुझ्ने नीतिले सीमावर्ती नागरिकलाई अन्याय हुने चेतावनी दिए ।

१४- त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी र प्रा. डा. रजिस्ट्रार केदारप्रसाद रिजालले सामुहिक राजीनामा दिएका छन् । विहिबार उनीहरुले कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् ।  त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हुने भए पनि सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले सहजीकरण गर्दै सामुहिक राजीनामा दिएको बताएका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उपकुलपति अर्याललाई २०८२ को असार २५ मा नियुक्त गरेको थियो । शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० को चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए ।

१५- नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा हालै सार्वजनिक गरिएको नेटवर्क नक्सामा त्रुटि भएको स्वीकार गर्दै औपचारिक रूपमा माफी मागेको छ । निगमले जारी गरेको विज्ञप्तिमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि रहेको र त्यसले नेपाल सरकार वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ । त्रुटिपूर्ण नक्सा सार्वजनिक भएपछि निगमले उक्त सामग्री तुरुन्त हटाएको जनाएको छ । साथै, आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन आन्तरिक समीक्षा प्रक्रिया सुरु गरिएको पनि जानकारी दिएको छ । निगमले छिमेकी देशहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै उक्त सामग्रीका कारण कसैलाई असहज भएको भए त्यसप्रति दुःख व्यक्त गरेको छ ।

१६- विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत युएसएस जेराल्ड आर फोर्ड लामो समयको ऐतिहासिक तैनाथीपछि अब अमेरिका फर्किने तयारीमा रहेको छ । अमेरिकी अधिकारीहरूका अनुसार यो जहाज मध्यपूर्वबाट केही दिनमै बाहिरिनेछ र मे १५ सम्म भर्जिनियास्थित आफ्नो आधारस्थलमा पुग्नेछ । करिब ३ सय दिनभन्दा बढीको निरन्तर तैनाथी रहेको यो जहाजको भूमिका निकै महत्वपूर्ण मानिएको छ । यस अवधिमा यसले इरानसँगको तनावपूर्ण अवस्थामा सञ्चालनमा भाग लिएको थियो भने भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्राउ गर्ने सैन्य कारबाहीमा पनि संलग्न रहेको जनाइएको छ । यो तैनाथी गत असार महिनामा भर्जिनियाको नौसैनिक आधारबाट सुरु भएको थियो । सुरुमा यो जहाज भूमध्यसागर क्षेत्रमा परिचालन गरिएको थियो । त्यसपछि असोज महिनातिर यसलाई क्यारेबियन सागर पठाइएको थियो, जहाँ मादुरोलाई नियन्त्रणमा लिन गरिएको अभियानमा यसले भूमिका खेलेको बताइएको छ। त्यसपछि इरानसँग तनाव बढेपछि जहाजलाई मध्यपूर्वतर्फ पठाइएको थियो । सुरुवाती चरणमा भूमध्यसागरबाट सञ्चालन गरिरहेको यो जहाज स्वेज नहर पार गर्दै फागुनको सुरुवातमा रातो सागर पुगेको थियो । तर सोही अवधिमा जहाजको कपडा धुने भागमा आगलागी भएको थियो। त्यसपछि मर्मतका लागि जहाजलाई पुनः भूमध्यसागर फर्काउनुपरेको थियो । उक्त घटनाले जहाजमा रहेका सयौँ सैनिकलाई बसोबासमा समेत समस्या भएको जनाइएको छ ।

१७- मध्यपूर्वमा जारी युद्धबीच कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार वर्षयताकै उच्च स्तर हो । पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १२६.२० डलर प्रति ब्यारेल पुगेको छ, जुन २०२२ को मार्चपछिको सबैभन्दा उच्च हो । यसअघि ८ मार्च २०२२ मा तेलको मूल्य १२७.९८ डलर पुगेको थियो । गत साता भने मूल्य करिब १०० डलर आसपास रहेको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा सैनिक नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएपछि बजारमा प्रभाव परेको हो । उनले इरानले आफ्नो परमाणु कार्यक्रमबारे सहमति नगरेसम्म नाकाबन्दी नहट्ने बताएका छन् । यस निर्णयले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक होर्मुज क्षेत्रमा तनाव बढाएको छ, जसका कारण तेल आपूर्तिबारे अनिश्चितता थपिएको छ । यता इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले मूल्यवृद्धिप्रति व्यंग्य गर्दै अब तेलको मूल्य १४० डलरसम्म पुग्ने संकेत गरेका छन् । उनले ट्रम्पलाई गलत सल्लाह दिइएको आरोपसमेत लगाएका छन् । त्यस्तै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टमाथि पनि उनले टिप्पणी गर्दै उनको सल्लाहका कारण तेलको मूल्य बढिरहेको बताएका छन् । इतिहासमा सबैभन्दा उच्च तेल मूल्य सन् २००८ मा पुगेको थियो, जतिबेला ब्रेन्ट कच्चा तेल करिब १४७ डलर प्रति ब्यारेल पुगेको थियो । विज्ञहरूले वर्तमान अवस्था हेर्दा मूल्य अझै बढ्न सक्ने आकलन गरेका छन् । यदि होर्मुज मार्ग लामो समय अवरुद्ध भएमा तेलको मूल्य १५० देखि २०० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले घटेर तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ४८१० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९१५ मा कारोबार भएको थियो ।

१९- आर्सनल र एटलेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा बराबरी खेलेका छन् । गएराती एटलेटिकोको घरेलु मैदानमा सम्पन्न खेलमा दुवै १-१ गोलको बराबरीमा रोकिएका हुन् । आर्सनलले खेलको ४४औं मिनेटमा भिक्टोर ग्योकेरेजको पेनाल्टी गोलको मद्दतले अग्रता लिएपनि खेलको ५६औं मिनेटमा एटलेटिकोका जुलियन अल्भारेजले पेनाल्टी मार्फत नै गोल गर्दै खेल बराबरी गरेका थिए । सेमिफाइनलमा दुवै टिमका लागि अब लिगको दोस्रो लिग निर्णायक हुने भएको छ । दोस्रो लिग आर्सनलको घरेलु मैदानमा मे ६ मा हुने तालिका रहेको छ ।

२०- सनराइजर्स हैदरावादले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ७६ रन बनाएका थिए भने हेइनरिच क्लासेनले अविजित ६५ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ४५, सालिल अरोराले अविजित ३० तथा नितिश कुमार रेड्डीले २१ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका लागि रयान रिकेलटनले अविजित १२३ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै विल ज्याकले ४६ र कप्तान हार्दिक पाण्डेयले ३१ रन बनाएका थिए । यो जितपछि सनराइजर्स हैदरावादको ९ खेलमा १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यस सिजनमा यो छैटौं हार हो । मुम्बईको ८ खेलमा ४ अंक रहेको छ र हाक नवौं स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ ।

 

Nepal life insuranceimagesimagesimages