हर्मुज जलसन्धिमा अवरोध कायम रहे विश्व अर्थतन्त्रमा भयावह असर पर्ने राष्ट्रसंघको चेतावनी

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हर्मुज जलसन्धिमा जारी अवरोध लम्बिएमा त्यसले विश्वभरि अत्यन्तै गम्भीर र विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले यस अवरोधले निम्त्याउन सक्ने विभिन्न आर्थिक प्रभावहरूबारे तीनवटा सम्भावित परिदृश्यहरू प्रश्तुत गर्नुभयो ।

विभिन्न स्रोतका प्रक्षेपणहरू उद्धृत गर्दै महासचिव गुटेरेसले पहिलो परिदृश्यका रूपमा यदि आजैदेखि अवरोध हटाइयो भने पनि खलबलिएको आपूर्ति श्रृङ्खला (सप्लाई चेन) पूर्ववत अवस्थामा फर्कन महिनाौँ लाग्ने बताउनु भयो । यसो हुँदा पनि यस वर्षको विश्वव्यापी आर्थिक वृद्धिदर ३.४ प्रतिशतबाट घटेर ३.१ प्रतिशतमा झर्ने र ३.८ प्रतिशतमा रहेको मुद्रास्फीति बढेर ४.४ प्रतिशत पुग्ने देखिन्छ ।

दोस्रो परिदृश्यका रूपमा यदि यो अवरोध आगामी वर्षको मध्यसम्म लम्बिएमा विश्वव्यापी आर्थिक वृद्धिदर २.५ प्रतिशतमा खुम्चिनेछ । यस्तो अवस्थामा ३ करोड २० लाख मानिस गरिबीको रेखामुनि धकेलिने र मलको अभावका कारण बाली उत्पादनमा कमी आउँदा थप ४ करोड ५० लाख मानिसले चरम भोकमरीको सामना गर्नुपर्ने महासचिवले चेतावनी दिनुभयो ।

सबैभन्दा गम्भीर अर्थात तेस्रो परिदृश्यमा यदि यो अवरोध वर्षको अन्त्यसम्मै कायम रहेमा विश्वव्यापी मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि पुग्ने र आर्थिक वृद्धिदर २ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।
यो संकटको मार विकासोन्मुख देशहरूमा सबैभन्दा बढी पर्ने राष्ट्रसंघको ठहर छ । बढ्दो ऋणको भार र बेरोजगारीका कारण ती देशहरूलाई यो क्षति सहन कठिन हुने उहाँले उल्लेख गर्नुभयो ।
महासचिव गुटेरेसले सुरक्षा परिषद्को प्रश्ताव नम्बर २८१७ बमोजिम समुन्द्री मार्गको स्वतन्त्रता तत्काल पुनर्बहाली गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

 

Nepal life insuranceimagesimagesimages