


म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लाइङले बुद्ध पूर्णिमा (कसोमको पूर्णिमा) को अवसर पारेर १ हजार ५ सय १९ जना कैदीहरूलाई आममाफी दिएका छन् । सरकारी सञ्चारमाध्यम म्यानमार रेडियो र टेलिभिजनका अनुसार बिहीबार दुई छुट्टाछुट्टै आदेश जारी गर्दै यो आममाफीको घोषणा गरिएको हो ।

आममाफी पाउनेहरूमा १ हजार ५ सय ८ जना स्वदेशी र ११ जना विदेशी नागरिक रहेका छन् । म्यानमारमा ‘कसोम’ महिनाको पूर्णिमालाई बुद्ध जयन्तीका रूपमा विशेष उल्लासका साथ मनाउने गरिन्छ । सार्वजनिक शान्ति र मानवीयता प्रवद्र्धन गर्ने, आममाफी पाएका व्यक्तिहरूलाई राष्ट्र निर्माणको मूलधारमा सहभागी गराउने र अन्य मुलुकसँगको मैत्रीपूर्ण सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले यो कदम चालिएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
आममाफीको शर्तअनुसार माफी पाएका स्वदेशी कैदीहरूले भविष्यमा पुनः कुनै अपराध गरेमा उनीहरूले नयाँ सजायका साथै अघिल्लो सजायको बाँकी अवधि पनि भुक्तान गर्नुपर्नेछ । यता विदेशी कैदीहरूलाई भने माफी दिएलगत्तै देश निकाला गरिएको छ ।

यसका साथै, सैन्य प्रमुखले देशका विभिन्न कारागारमा सजाय काटिरहेका अन्य कैदीहरूको सजायमा समेत छैटौँ भाग (एक–षष्ठांश) कटौती गर्ने निर्णय गरेका छन् ।
यसअघि गत वैशाख ५ गते (अप्रिल १७) म्यानमारको परम्परागत नयाँ वर्षको अवसरमा पनि ४ हजार ५ सयभन्दा बढी कैदीहरूलाई आममाफी दिइएको थियो ।



