
काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ ।
कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली मौलिक परम्परालाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।


प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ । भिडियो अंग्रेजी भाषामा हुनुपर्नेछ भने अंग्रेजी उपशीर्षक वा अंग्रेजी भाषाको स्वराङ्कन अनिवार्य गरिएको छ ।

सहभागीले भिडियो सार्वजनिक गर्दा #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा @nepaltourism र फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पृष्ठलाई ट्याग गर्नुपर्नेछ ।
सामाजिक सञ्जालमा प्रकाशित भिडियोसँगै डाउनलोड तथा हेर्न मिल्ने अनुमति दिइएको गुगल ड्राइभको लिङ्क photonepal@ntb.org.np मा इमेल गर्नुपर्नेछ । भिडियो मौलिक सिर्जना हुनुपर्ने र प्रतियोगितामा सहभागी हुने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।

दशैँको अवसरमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाको सहकार्यमा देशभरका एक सय स्थानमा लिङ्गे पिङ राखिएको थियो । कुकुर तिहार रिल प्रतियोगितालाई पनि नेपाली संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने प्रयासका रूपमा अघि बढाइएको बोर्डले जानाएको छ ।




