


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ अमेरिकी सैनिकहरूको संख्यामा कटौती गर्ने विषयमा अध्ययन भइरहेको बताउनुभएको छ। जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँग इरान युद्धको विषयलाई लिएर भएको विवादपछि राष्ट्रपति ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा एक पोस्ट गर्दै ट्रम्पले जर्मनीबाट सेना घटाउने सम्बन्धमा छोटो समयभित्रै निर्णय लिइने जानकारी दिनुभएको छ । डिफेन्स म्यानपावर डेटा सेन्टरको तथ्याङ्कअनुसार सन् २०२५ डिसेम्बरसम्म युरोपका विभिन्न सैन्य अखडाहरूमा ६८ हजार भन्दा बढी अमेरिकी सक्रिय सैनिकहरू स्थायी रूपमा तैनाथ छन् । जसमध्ये आधाभन्दा बढी सैनिकहरू जर्मनीमा मात्रै रहेका छन् ।

पछिल्ला केही दिनयता इरानसँगको युद्धलाई लिएर ट्रम्प र चान्सलर मर्जबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलिरहेको छ । मर्जले इरानमा अमेरिकाको सैन्य संलग्नता ‘योजनाविहीन’ रहेको भन्दै कडा आलोचना गर्नुभएको थियो । उहाँले इरानी नेतृत्वबाट अमेरिका ‘अपमानित’ भइरहेको टिप्पणी समेत गर्नुभएको थियो ।

मर्जको आलोचनाको जवाफ दिँदै ट्रम्पले सामाजिक सञ्जालमार्फत मर्जलाई इरानको आणविक महत्वाकांक्षा र वस्तुस्थितिको बारेमा कुनै ज्ञान नभएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
बर्लिनमा आयोजित एक पत्रकार सम्मेलनमा चान्सलर मर्जले ट्रम्पसँगको विवादलाई मत्थर पार्ने प्रयास गर्नुभयो । उहाँले अमेरिकी राष्ट्रपतिसँग आफ्नो व्यक्तिगत सम्बन्ध अझै सौहार्दपूर्ण रहेको दाबी गर्नुभयो ।
मर्जले इरान द्वन्द्वको शीघ्र समाधानका लागि आह्वान गर्दै यसको प्रत्यक्ष नकारात्मक असर जर्मनी र समग्र युरोपले भोगिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।



