


पाकिस्तानले मध्यपूर्वमा व्याप्त तनाव कम गर्न र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
इस्लामावादमा बिहीवार आयोजित साप्ताहिक प्रेस ब्रिफिङका क्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर हुसैन एन्द्राबीले पाकिस्तानले मध्यपूर्वमा शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेलिरहेको जानकारी दिनुभयो ।

उहाँले पाकिस्तानले यस द्वन्द्वमा संलग्न सबै पक्षहरूसँग सञ्चारका माध्यमहरू खुला राखेको समेत स्पष्ट पार्नुभयो । इरान र संयुक्त राज्य अमेरिकासँगको कुटनीतिक सम्बन्ध र संवाद निरन्तर जारी रहेको उल्लेख गर्दै प्रवक्ता एन्द्राबीले कूटनीतिक पहलकै कारण इरान र अमेरिकाबीच युद्धविराम सम्भव भएको र सो स्थिति हाल स्थिर रहेको बताउनु भयो ।

द्वन्द्व समाधानका लागि पुराना र नयाँ विभिन्न प्रस्तावहरूमाथि छलफल भइरहेको जानकारी दिँदै उहाँले दुवै पक्षबीच आन्तरिक रूपमा समेत परामर्श भइरहेको बताउनु भयो । पाकिस्तानले मध्यपूर्वमा स्थिरता कायम गर्नका लागि सधैं वार्ताको पक्षमा वकालत गर्दै आएको छ ।



