


सञ्जय मिश्रा
चितवन, १८ बैशाख
झण्डै दुई दशकसम्म रहस्यकै घेरामा रहेको एक दर्दनाक पारिवारिक हत्याकाण्ड अन्ततः उजागर भएको छ। आफ्नै बाबुको हत्या गरी फरार रहेका आरोपी छोरालाई रौतहट प्रहरीले चितवनबाट पक्राउ गरेसँगै पुरानो घटनाले नयाँ मोड लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरणअनुसार २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ ९साबिक जयमनगर–४० का ६८ वर्षीय विशेष महतो कोईरीको निर्मम हत्या भएको थियो। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्नता देखिएका उनका कान्छा छोरा राम बिलास महतो घटना लगत्तै परिवारसहित फरार भएका थिए।

प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार आर्थिक दबाब, ऋणको भार र जग्गा विवादबाट उन्मुक्ति पाउने उद्देश्यले महतोले योजनाबद्ध रूपमा आफ्नै बाबुको ज्यान लिएका थिए। उनी सुतिरहेको बेला हातखुट्टा बाँधेर धारिलो हतियारले आक्रमण गरिएको अनुसन्धानले देखाएको छ।

प्रहरीको भनाइमा हत्या पछाडि ऋणबाट उम्किने मात्र होइन, निर्दोष व्यक्तिहरूलाई ज्यान मुद्दामा फसाउने उद्देश्यसमेत रहेको देखिन्छ। लामो समयदेखि फरार रहेका महतोलाई गत बुधबार चितवनबाट पक्राउ गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो घटनाले पारिवारिक विश्वास र सम्बन्धमाथि गम्भीर प्रश्न खडा गरेको छ। तर, १८ वर्षपछि पनि अपराधी पक्राउ पर्नुले कानुनी संयन्त्रको पहुँच र धैर्यप्रति भरोसा जगाएको छ।



