अमेरिकाले आफ्ना साझेदार देशहरूलाई करिब ८ अर्ब ६० करोड डलरको हतियार बिक्री गर्ने

 

काठमाडौँ । अमेरिकाले मध्यपूर्वका आफ्ना साझेदार देशहरूलाई करिब ८ अर्ब ६० करोड अमेरिकी डलर बराबरका हतियार बिक्री गर्ने निर्णयलाई स्वीकृति दिएको छ। यो निर्णय इजरायल-इरानबीचको तनाव र पछिल्लो समय लागू युद्धविरामपछि करिब तीन हप्तापछि सार्वजनिक भएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यो हतियार सम्झौतामा इजरायल, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) समावेश छन् ।

सम्झौताअनुसार कतारलाई पैट्रियट हवाई तथा क्षेप्यास्त्र रक्षा प्रणालीसँग सम्बन्धित उपकरण र सहयोग सेवा उपलब्ध गराइनेछ, जसको मूल्य ४ अर्ब डलरभन्दा बढी छ। त्यस्तै, कतारलाई एडभान्स्ड प्रेसिजन किल वेपन सिस्टम पनि दिइनेछ, जसको मूल्य करिब ९९ करोड २४ लाख डलर तोकिएको छ।

कुवेतलाई करिब २ अर्ब ५० करोड डलर बराबरको इण्टिग्रेटेड ब्याटल कमान्ड सिस्टम बेच्ने स्वीकृति दिइएको छ। इजरायललाई पनि ९९ करोड २० लाख डलरभन्दा बढी मूल्यको एडभान्स्ड प्रेसिजन किल वेपन सिस्टम उपलब्ध गराइने भएको छ। त्यसैगरी, यूएईलाई पनि सोही प्रकारको प्रणाली बिक्री गर्ने अनुमति दिइएको छ, जसको मूल्य १४ करोड ७० लाख डलरभन्दा बढी रहेको बताइएको छ। अमेरिकाको यो निर्णयले मध्यपूर्वमा सुरक्षा सहयोग र सैन्य सम्बन्धलाई थप मजबुत बनाउने संकेत गरेको विश्लेषण गरिएको छ।

 

Nepal life insuranceimagesimagesimages