


-केशव पन्थि , अर्घाखाँची डट्कम ।
अर्घाखाँची — लामो समयदेखि जिल्लाको विकास र हवाई पहुँचसँग जोडिएको अर्घा भगवती विमानस्थल निर्माण योजनामा पुनः उच्चस्तरीय चासो देखिएको छ। सन्धिखर्क नगरपालिका–१० शिखरनीमा निर्माणाधीन विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलसहितको टोलीले स्थलगत अनुगमन गरेपछि स्थानीयवासीमा परियोजनाले गति लिने आशा जागेको हो।

अवलोकन टोलीमा प्युठान जिल्लाका संघीय सांसद सुशान्त वैदिक तथा अर्घाखाँचीका संघीय सांसद हरिप्रसाद भुसालको समेत सहभागिता रहेको थियो। टोलीले निर्माणस्थलको निरीक्षण गर्दै हालसम्म भएका काम, देखिएका समस्या, बाँकी पूर्वाधार तथा आवश्यक स्रोत व्यवस्थापनबारे जानकारी लिएको थियो।


कार्यक्रमका क्रममा स्थानीय प्रतिनिधि तथा सरोकारवालाले विमानस्थल निर्माणको वर्तमान अवस्था र चुनौतीबारे विस्तृत जानकारी गराएका थिए। स्थानीय कुशल भुसालले विमानस्थल निर्माणमा बजेट अभाव, भौगोलिक जटिलता तथा प्राविधिक कठिनाइका कारण काम अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै परियोजना सम्पन्न गर्न थप बजेट, प्राविधिक जनशक्ति र प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

अनुगमनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले अर्घा भगवती विमानस्थललाई सरकारले प्राथमिकतामा राखेको बताउँदै समयमै सम्पन्न गर्न आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अर्घाखाँची जस्तो भौगोलिक रूपमा विकट जिल्लामा हवाई पहुँच विस्तार हुनु विकासका लागि महत्वपूर्ण आधार हुने बताउनुभयो।

“यो विमानस्थल सञ्चालनमा आएपछि यहाँको पर्यटन, व्यापार, स्वास्थ्य सेवा तथा आपतकालीन उद्धार कार्यमा ठूलो सहजता आउनेछ,” मन्त्री पौडेलले भन्नुभयो।

त्यसैगरी संघीय सांसद सुशान्त वैदिकले क्षेत्रीय सन्तुलित विकासका लागि यस्ता पूर्वाधार योजनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। सांसद हरिप्रसाद भुसालले पनि अर्घाखाँचीको दीर्घकालीन आर्थिक तथा सामाजिक विकाससँग विमानस्थल प्रत्यक्ष जोडिएको उल्लेख गर्दै केन्द्र र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

स्थानीयवासीले भने विमानस्थल निर्माण कार्यमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले परियोजना समयमै सम्पन्न भए जिल्लामा पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, रोजगारी सिर्जना र सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।


हालसम्म विमानस्थलका केही आधारभूत संरचनाहरू निर्माण सम्पन्न भए पनि रनवे विस्तार, टर्मिनल भवन निर्माण, सुरक्षा पूर्वाधार तथा प्राविधिक उपकरण जडानजस्ता महत्वपूर्ण काम अझै बाँकी रहेका छन्।


अर्घा भगवती विमानस्थललाई अर्घाखाँची जिल्लाको विकासको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। उच्चस्तरीय टोलीको पछिल्लो अनुगमनपछि निर्माण कार्यले थप गति लिने र लामो समयदेखि रोकिएको जिल्लाको हवाई सपना पूरा हुने अपेक्षा स्थानीयले गरेका छन्।




