


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको पारिवारिक संरचना जोगाउन र घट्दो जन्मदरलाई सम्बोधन गर्न १० वर्षे व्यापक राष्ट्रिय रणनीतिको घोषणा गर्नुभएको छ ।

इस्तानबुलमा आयोजित ‘परिवार र जनसंख्या दृष्टिकोण २०२६–२०३५’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले आगामी दशकमा परिवारको संरक्षण र विवाहलाई प्रोत्साहन गर्नु सरकारको मुख्य प्राथमिकता रहने बताउनु भयो । प्रश्तावित रणनीतिक मार्गचित्रले टर्कीमा प्रजनन दर बढाउने, युवाहरूको विकास र ज्येष्ठ नागरिकको हित सुनिश्चित गर्ने तथा सन्तुलित जनसंख्या वितरणका लागि ग्रामीण क्षेत्रको विकासमा जोड दिने लक्ष्य राखेको छ ।


उहाँले सरकारले मुलुक र राष्ट्रलाई भविष्यका लागि तयार पार्ने प्रयास गरिरहेको उल्लेख गर्दै यस पहलले सामाजिक संरचनालाई मजबुत बनाउने र दीर्घकालीन जनसांख्यिकीय स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, पारिवारिक महत्वबारे सामाजिक सचेतना अभिवृद्धि गर्न राष्ट्रपति एर्दोगानले प्रत्येक वर्ष मे महिनाको अन्तिम हप्तालाई ‘राष्ट्रिय परिवार हप्ता’ का रूपमा मनाउने घोषणा समेत गर्नुभएको छ ।



