अर्घाखाँची: नगरपालिकाको निर्णय कार्यान्वयन भएन, शिक्षक अनुपस्थित हुँदा विद्यालय बन्द

 

-टेकराज भुसाल ।

अर्घाखाँची ।    भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै अलपत्र परेर घर फर्किन बाध्य भएका छन्।

आइतबार बिहानै उत्साहका साथ विद्यालय पुगेका विद्यार्थीहरूले गेटमा ताला लागेको र शिक्षकको उपस्थिति नभएको देखेपछि निराश हुँदै फर्किनुपरेको स्थानीयहरूले बताएका छन्। यस घटनाले अभिभावकहरूमा समेत व्यापक आक्रोश पैदा भएको छ।

May be an image of temple

नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेपछि अभिभावकहरू सकारात्मक देखिएका थिए। तर व्यवहारमा शिक्षकहरूको बेवास्ता र अटेरीका कारण उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन।

नगरप्रमुख झविलाल थापाले शिक्षकहरूले नगर कार्यपालिकाको निर्णयको अवहेलना गर्दै विद्यालय बन्द गरेको आरोप लगाउँदै कुनै पनि हालतमा कार्यपालिकाको निर्णय कार्यान्वयन गरिन्छ। निर्णय नमान्ने विद्यालय तथा शिक्षकमाथि अनुगमन गरेर कारबाही गरिन्छ उनले भने।

उनले नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरे पनि अपेक्षित प्रतिफल नआएको गुनासो गर्दै सुधारका लागि नै आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको स्पष्ट पारे।

यता, शिक्षकहरू भने निर्णयप्रति उदासीन देखिएका छन्। विद्यार्थीहरूको शैक्षिक नतिजा कमजोर बन्दै जाँदा पनि जिम्मेवारी बहन नगरी उल्टै विद्यार्थी र अभिभावकलाई दोष थोपर्ने प्रवृत्ति बढ्दै गएको स्थानीय अभिभावकहरूको आरोप छ। “विद्यालय नखोल्ने, पढाइ नहुने अनि रिजल्ट बिग्रियो भनेर हामीलाई नै दोष दिने यो कस्तो न्याय?” भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका छन ।

स्थानीयहरूका अनुसार शिक्षकहरूको लापरबाही र गैरजिम्मेवार व्यवहारले शिक्षा क्षेत्र थप संकटमा पर्ने खतरा देखिएको छ। अब नगरपालिका कति कडा रूपमा प्रस्तुत हुन्छ र शिक्षकहरू जिम्मेवार बन्छन् कि बन्द कोठामै सीमित रहन्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

May be an image of text

 

Nepal life insuranceimagesimagesimages