टर्किएप्रति युरोपेली संघको ‘रणनीतिक दृष्टिदोष’ कायमै रहेको राष्ट्रपति एर्दोगानको आरोप

 

टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपेली संघ (ईयू) लाई टर्किएप्रति आफ्नो ‘रणनीतिक दृष्टिदोष’ कायमै रहेको भन्दै आलोचना गर्नुभएको छ ।

मन्त्रिपरिषद्को साप्ताहिक बैठकपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले टर्किएको रचनात्मक अडानलाई कमजोर पार्ने किसिमका गतिविधि र अभिव्यक्तिहरूबाट टाढा रहन ईयूलाई आह्वान गर्नुभयो । सम्बोधनका क्रममा राष्ट्रपति एर्दोगानले टर्किए कुन स्थानमा उभिएको छ भन्ने भन्दा पनि युरोपेली संघले भविष्यमा आफूलाई कहाँ देख्न चाहन्छ भन्नेकुरा महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले टर्किएलाई भन्दा पनि युरोपलाई टर्किएको बढी आवश्यकता रहेको र यो आवश्यकता भविष्यमा अझ बढ्दै जाने दाबी गर्नुभयो । सन् १९५९ देखि शुरु भएको टर्किएको ईयू सदस्यता प्रक्रियाका सन्दर्भमा बोल्दै एर्दोगानले युरोपेली समूहले टर्किएको आवेदनप्रति पक्षपाती व्यवहार गरिरहेको आरोप लगाउनु भयो । युरोपका कतिपय वृत्तमा टर्किएप्रति गहिरो पूर्वाग्रह रहेको उल्लेख गर्दै राष्ट्रपति एर्दोगानले सदस्यता प्रक्रियालाई अवरुद्ध पार्न कहिले लोकतन्त्र, कहिले अर्थतन्त्र त कहिले जनसांख्यिकी र धर्मलाई बहाना बनाइएको बताउनु भयो ।

टर्किए अब पुरानो अवस्थामा नरहेको र विश्व पनि पश्चिमा राष्ट्रहरूको प्रभाव क्षेत्रमा मात्र सिमित नरहेको भन्दै उहाँले टर्किएले आफ्नो लोकतन्त्र र अर्थतन्त्रलाई सुदृढ बनाइसकेको प्रष्ट पार्नुभयो । यद्यपि, टर्किएप्रति युरोपको विकृत दृष्टिकोणमा भने परिवर्तन नआएको उहाँको टिप्पणी थियो ।

युरोपेली नीति निर्माताहरूले राजनीतिक र ऐतिहासिक पूर्वाग्रहहरू त्यागेर इमानदार र समान सम्बन्ध विकासमा केन्द्रित हुने टर्किएले आशा राखेको छ । राष्ट्रपति एर्दोगानले यस्तो सम्बन्धबाट टर्किए मात्र नभई समग्र युरोपेली महाद्वीप नै लाभान्वित हुने विश्वास व्यक्त गर्दै राष्ट्रिय हितलाई सर्वोपरी राखेर टर्किए आफ्नो मार्गमा दृढताका साथ अघि बढ्ने बताउनु भयो ।

 

Nepal life insuranceimagesimagesimages