


दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र शेयर बजार चलखेलको आरोपमा सुनाइएको चार वर्षको जेल सजायविरुद्ध विशेष काउन्सिलको टोलीले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । योनहाप समाचार एजेन्सीकाअनुसार सोमवार विशेष काउन्सिलले उच्च अदालतको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

गत अप्रिल २८ मा सोल उच्च अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै किमको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पु¥याएको थियो । अदालतले उनलाई ५ करोड वन (करिब ३३,९१० अमेरिकी डलर) जरिवाना समेत तोकेको थियो। यद्यपि, विशेष काउन्सिलले उनलाई १५ वर्षको कारावासको सजाय हुनुपर्ने माग राख्दै आएको छ ।

उच्च अदालतले तल्लो अदालतको अघिल्लो फैसला बदर गर्दै किमलाई पूँजी बजार कानुन उल्लंघन र सेयर बजार चलखेलमा आंशिक रूपमा दोषी ठहर गरेको थियो । यसका साथै, घुसखोरीको आरोपमा पनि उनलाई पूर्ण रूपमा दोषी ठहर गरिएको छ ।

अदालतको फैसला अनुसार, किमले सन् २०२२ को अप्रिलदेखि जुलाईको अवधिमा ‘युनिफिकेसन चर्च’सँग सम्बन्धित विचाराधीन विषयहरू सुल्झाउन मद्दत गर्ने सर्तमा उक्त धार्मिक समूहबाट दुईवटा महँगा च्यानल ब्याग, एउटा ग्राफ नेकलेस र रेड जिनसेङ चिया उपहारस्वरूप ग्रहण गरेकी थिइन् । यद्यपि पूर्वसांसद किम योङ–सनको मनोनयन सुरक्षित गरिदिने बदलामा एक राजनीतिक विचौलियाबाट निःशुल्क जनमत सर्वेक्षण सेवा लिएको आरोपमा भने किम र उनका पतिले सफाइ पाएका छन् । उच्च अदालतले तल्लो अदालतको उक्त फैसलालाई सदर गर्दै बिचौलियाले सो सर्वेक्षणको तथ्याङ्क अन्य व्यक्तिहरूलाई पनि उपलब्ध गराएकाले यसलाई दम्पतीको प्रत्यक्ष आर्थिक लाभको रूपमा लिन नमिल्ने व्याख्या गरेको छ ।



