


काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम सञ्चार मन्त्रालय मातहतका विभिन्न निकायका ९ निकायका पदाधिकारी स्वतः पदमुक्त भएको मन्त्रालयले जानकारी गराएको छ । जसमा गोरखापत्र संस्थानका अध्यक्ष, प्रेस काउन्सिलका अध्यक्षसहित १० जना, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षसहित ५ जना, विज्ञापन बोर्डका अध्यक्षसहित चार जना, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित दुई जना, सार्बजनिक सेवा प्रसारण नेपालका अध्यक्षसहित चार जना, राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्तसहित तीन जना, चलचित्र जाँच समितिका तीन सदस्य र न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षसहित चार जना पदमुक्त भएका छन् ।

२- रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ छमारीमा सञ्चालित कृषि योजनामा अनियमितता गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन भएका बंगुर पकेट विकास कार्यक्रम र कागती पकेट विकास कार्यक्रम कार्यान्वयनका क्रममा व्यापक अनियमितता भएको निष्कर्षसहित आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव, इन्जिनियर खुविराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसी, योजना शाखा प्रमुख तथा कम्प्युटर अपरेटर चित्रबहादुर केसी, कृषि प्राविधिक ओमप्रकाश ओली, सह–लेखापाल नवराज खड्का, वडा नं. १२ का अध्यक्ष गंगाबहादुर पुन र सम्बन्धित कृषक समूह तथा कम्पनीका अध्यक्ष सुजन पुनबीच मिलेमतो भएको पाइएको छ । अनुसन्धानबाट योजनाअनुसार काम नगरी फिल्डमा नभएको कामलाई नापी किताबमा भएको देखाई बढी मूल्याङ्कन गरेर भुक्तानी लिएको पुष्टि भएको आयोगले जनाएको छ । बंगुर पकेट विकास कार्यक्रमतर्फ ९ लाख ६७ हजार ३७८ रुपैयाँ र कागती पकेट विकास कार्यक्रमतर्फ ११ लाख ६९ हजार ७६० रुपैयाँ बराबरको रकम हिनामिना तथा दुरुपयोग गरिएको आरोप छ । यसरी सरकारी सम्पत्तिमा हानी–नोक्सानी पुर्याई दुरुपयोग गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कसूर ठहर हुने भन्दै आयोगले संलग्न सबै प्रतिवादीमाथि सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
३- पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफू राजीनामा नदिने स्पष्ट पारेकी छन् । निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पत्रकारहरुले राजीनामाको लागि लोकभवन कति बेला जाने भन्ने प्रश्नको जवाफ दिदै आफुले राजीनामा नदिने बताएकी हुन् । उनले भनिन्- ‘म किन जाने ? हामीले हारेको भए पो जाने, यदि म जितेको भए, म शपथ ग्रहण अघि नै राजीनामा दिने थिए । लोकभवन जाने प्रश्न नै आउने थिएन । चोरी गरेर जितेपछि उनीहरुलाई लाग्छ, मैले राजीनामा दिनुपर्छ भने त्यो हुनेवाला छैन ।’ पश्चिम बंगालको निर्वाचन परिणाम सार्वजनिक भएपछि राजनीतिक माहोल तातेको छ । तृणमूल कांग्रेसकी प्रमुख बनर्जीले निर्वाचन प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँदै प्रशासनिक स्तरमै अनियमितता भएको आरोप लगाएकी छन् । उनले आफूहरू पराजित नभएको दाबी गर्दै जबर्जस्ती हराइएको बताइन् । उनले निर्वाचन आयोगसँग मिलेमतो गरेर विपक्षी दल विजयी भएको आरोपसमेत लगाइन् । तृणमूल कांग्रेसले निर्वाचन परिणामको समीक्षा गर्न १० सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले हारका कारण र भनिएका अनियमितताबारे छानबिन गर्ने जनाइएको छ । बनर्जीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनका अनुसार आयोगले जनताको संवैधानिक अधिकार संरक्षण गर्न नसकेको आरोप छ । मतदानपछि मतदान मेसिनमा उच्च मात्रामा चार्ज रहनु शंकास्पद भएको उनले उल्लेख गरिन् । उनले निर्वाचनअघि आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको, विभिन्न स्थानमा छापा मारिएको र प्रशासनिक अधिकारीहरू परिवर्तन गरिएको आरोप लगाइन् । साथै सत्तापक्ष र निर्वाचन आयोगबीच मिलेमतो भएको दाबी गर्दै सम्पूर्ण राज्य संयन्त्र आफूहरूको विरुद्ध प्रयोग गरिएको बताइन् । मतगणनाका क्रममा पनि दुर्व्यवहार भएको आरोप लगाउँदै उनले आफ्ना प्रतिनिधिलाई गणना कक्षमा प्रवेश गर्न नदिइएको र कुटपिट गरिएको बताइन् । सुरक्षाकर्मी र बाहिरी व्यक्तिहरूले आक्रमण गरेको दाबी गर्दै आफूलाई समेत धक्का दिइएको र शारीरिक दुर्व्यवहार भएको उनले उल्लेख गरिन् । बनर्जीले यस्तो प्रकारको निर्वाचन जीवनमै पहिलोपटक देखेको बताउँदै आफ्नो पार्टीलाई योजनाबद्ध रूपमा पराजित गराइएको दोहोर्याइन् । साथै अब आफू साधारण नागरिकका रूपमा स्वतन्त्र रूपमा आवाज उठाउने उनले बताइन् । सोमबार सम्पन्न मतगणनामा २९४ सदस्यीय बिधान सभामा भाजपाले २०७ सिट जितेको छ भने तृणमूल कांग्रेसले केवल ८० सिट मात्र जितेको छ ।
४- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यहि बैशाख २८ गते सोमबार दिनको २ बजेदेखि संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
५- जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विपद् जोखिम बढ्दै गएपछि बिपी राजमार्ग १२ घण्टा बन्द गर्ने निर्णय गरेको छ । प्रि–मनसुन अवधिमै हावाहुरी, चट्याङ, असिना, हिमपातसहित भारी वर्षा भइरहेका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भइरहेको र जुनसुकै बेला विपद् अवस्था सिर्जना हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वैशाख २२ गतेको निर्देशन तथा सिन्धुली र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीबीच भएको समन्वयपछि जिल्ला सुरक्षा समिति सिन्धुलीको बैठकले उक्त निर्णय गरेको हो । निर्णयअनुसार आज वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म १२ घण्टा सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । साथै वर्षा, रोशी खोलामा आउन सक्ने बाढी तथा मौसमको अवस्थालाई हेरेर आवश्यक परे अन्य समयमा पनि अल्पकालीन रूपमा सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सो सडकखण्ड प्रयोग गरी यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली, ट्राफिक प्रहरी तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत जानकारी लिन सकिने बताइएको छ ।

६- सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात व्यक्तिको घरमै वितरण गर्न थालेको छ । हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ । गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो। उक्त योजना कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूसँग कार्यप्रगति र देखिएका समस्याको सन्दर्भमा निरन्तर समन्वय तथा छलफल गरिरहनुभएको छ। सञ्चार मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र तिनका मातहतका निकायहरू पनि सक्रियतापूर्वक लागिरहेका छन् । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार कार्यक्रम सुरु भएपछि हालसम्म ३ हजार १३१ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये ६६७ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ । यसले नागरिकलाई राहदानी प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटाएको छ । विभागका अनुसार काठमाडौँ, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत १९ वटा जिल्लामा यो सेवाका लागि सम्झौता भइसकेको छ । अन्य जिल्लामा पनि विस्तारको प्रक्रिया अगाडि बढाइएको छ । हाल सबै जिल्ला प्रशासन कार्यालयहरूले राहदानी आवेदन दिँदै सेवाग्राहीको ठेगाना संकलन थालेका छन्, जसले भविष्यमा वितरणलाई झन् व्यवस्थित बनाउने विभागको भनाइ छ । राहदानीसँगै अन्य सरकारी कागजात पनि घरमै पुर्याउन थालिएको छ। हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण भइसकेको छ । यातायात सेवाअन्तर्गत मङ्गलबार दिउँसो ३ बजेसम्म २ लाख ९६ हजार ५४५ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको छ भने मोरङ, कास्कीलगायतका जिल्लामा लाइसेन्स घरमै पुर्याउने सेवा सुरु गरिएको छ । स्वास्थ्य क्षेत्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १४ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको छ। सुर्खेत, बाँके र काठमाडौँबाट यो सेवा थालिएको हो । सेवा विस्तारसँगै संस्थागत सुधारका काम पनि अगाडि बढेका छन् । नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुर्याउने सेवा चाँडै सुरु गर्ने तयारी छ । मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग शैक्षिक प्रमाणपत्र ढुवानीका लागि छलफल अगाडि बढेको विभागले जनाएको छ । प्रणालीगत सुधारतर्फ राहदानी विभागसँग प्रणाली अन्तरआबद्धता गर्न अध्ययन समिति गठन गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणको पहल भइरहेको छ । साथै, प्रदेश निर्देशनालय र जिल्ला कार्यालयहरूसँग सहकार्य गरी डाँक रेखा पुनरावलोकन तथा ‘पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम’ (पिट्स) मा पोस्टल कोड स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको विभागले जनाएको छ ।

७- जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सभाका प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षर गरी सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । तर यो पार्टीका तर्फबाट मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन कायमै रहेको अर्को पत्र आज प्रदेश प्रमुखकहाँ पठाएका थिए । विवादकै विचमा अध्यक्ष सिके राउतले चन्दन कुमार सिंहलाई संसदीय दलको जिम्मेवारी दिएका छन् । यसैबीच जनता समाजवादी पार्टी नेपालले पनि आफ्ना सांसदहरूको हस्ताक्षर गराइसकेको छ । सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र आजै प्रदेश प्रमुखलाई बुझाउने तयारी छ । जसपा नेपालले पनि समर्थन फिर्ता लिएमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । मधेशमा एमालेको समर्थनमा जसपा नेपाल र जनमतसहितको सरकार बनाउने भित्रि तयारी गरिएको बताइएको छ । मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।
८- संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदमा महिलालाई चयन गर्न चीनले समर्थन जनाएको छ । चीनले विश्व संस्थाको नेतृत्वमा पहिलोपटक महिला देख्न पाउँदा खुशी हुने जनाएको हो । संयुक्त राष्ट्रसंघको ८० वर्षे इतिहासमा अहिलेसम्म कुनै महिलाले महासचिवको जिम्मेवारी सम्हालेकी छैनन् । अहिले नयाँ महासचिव चयन प्रक्रिया सुरु भइसकेको छ । उक्त पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् । संयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेट र संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनकी महासचिव रेबेका ग्रिनस्पान महिला उम्मेदवारका रूपमा दौडमा रहेका छन् । यसैगरी अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसी र सेनेगलका पूर्व राष्ट्रपति म्याकी साल पनि प्रतिस्पर्धामा छन् । संयुक्त राष्ट्रसंघमा चीनका स्थायी प्रतिनिधि फू कोंगले महिलालाई महासचिव बनाउने पक्षमा आफूहरू रहेको बताएका छन् । उनले ८० वर्षपछि महिला नेतृत्व देख्न पाउनु महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरेका छन् । गत महिना उम्मेदवारहरूले सदस्य राष्ट्र र नागरिक समाजसँग अन्तरक्रियामार्फत आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । सो क्रममा उनीहरूले किन आफू योग्य उम्मेदवार हुन् भन्ने विषयमा प्रश्नहरूको सामना गरेका थिए । चीनले भने हालसम्म कुनै एक उम्मेदवारलाई प्राथमिकता नदिएको जनाएको छ । फू कोंगले महासचिव चयनका लागि चीनका केही मापदण्ड रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ अहिले संवेदनशील मोडमा रहेको र बहुपक्षीय प्रणालीप्रति प्रतिबद्ध, स्वतन्त्र र सशक्त नेतृत्व आवश्यक रहेको बताएका छन् । राष्ट्रसंघको महासचिवको निर्वाचनको प्रक्रिया शुरु भएको छ । महसचिवको मनोनयनपछि अन्तरक्रियात्मक सत्रहरू जारी रहेका छन् र उनीहरूले आफ्ना योजनाहरू प्रस्तुत गर्नेछन् र प्रश्नहरूको जवाफ दिइरहेका छन् । यद्यपि महासभाले साधारण बहुमतले विजेता निर्धारण गर्छ, सुरक्षा परिषद्ले अन्तिम निर्णय गर्छ, किनकि संयुक्त राष्ट्र संघको बडापत्रले सुरक्षा परिषद्को सिफारिसमा महासभाले महासचिव नियुक्त गर्ने आदेश दिएको छ । नयाँ महासचिवको कार्यकाल जनवरी १, २०२७ देखि शुरु हुने छ ।

९- नेपालले ओमानलाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको हो । नेपालले दिएको २५७ रनको लक्ष्य पछाएको ओमानले ३९.३ ओभरमा अल आउट हुदै १७५ रन बनाएको थियो । ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाएका थिए भने हम्माद मिर्जाले ३४ र हसनैन उल वहावले २९ रन बनाएका थिए । त्यस्तै नेपाली बलर गुलशन झाले ५ विकेट लिएका थिए भने करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुदै २५६ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ९४ रन बनाएका थिए भने अर्जुन कुमालले ४८ रन बनाएका थिए । त्यस्तै आरिस सेखले २४ बलमा आक्रामक ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३३ र गुलशन झाले १७ रनको योगदान दिएका थिए । त्यसैगरी ओमानका बलर नदीम खानले ३ विकेट लिए भने शकील अहमद र हसनैन शाहले २-२ तथा जितेन रामानान्दी र आर्यन विस्टले एक एक विकेट लिएका थिए । योसँगै नेपालले यस सिरिजका ४ खेलमा ३ खेल जितेर ६ अंक हासिल गरेको छ । नेपाल एक खेल ओमानविरुद्ध पहिलो खेलमा हार बेहोरेको थियो । यो सिरिजपछि लिग- २ को अंक तालिकामा नेपालको २४ खेलमा १८ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने २८ खेलमा ३१ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।
१०- उद्योगी व्यवसायी शेखर गोल्छाको म्याद थप्न अदालतले अस्वीकार गरेको छ । सोमबार सर्वोच्च आदेशपछि धरौटीमा छुटेका गोल्छालाई पुन: पक्राउ गरिएकोमा मंलगबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको थियो । न्यायाशीध मोना सिंहको इजलासले यसअघि नै सर्वोच्चले धरौटी लिएर रिहा गर्न आदेश दिएकोले सोहि अनुसार गर्नु भन्दै गोल्छाको म्याद थप गर्न अस्वीकार गरेको हो । गोल्छा धरौटी बुझाएर रिहा भए पनि बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा पुनः नियन्त्रणमा लिइएको थियो । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पक्राउ गरिएको थियो ।

११- उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’लाई प्रदर्शन गर्न अनुमति दिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र जाँच समितिले गरेको निर्णयको सक्कल फाइल मगाएको छ । साथै अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता समेत दिएको छ । मङ्गलबार न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्र जाँच समितिबाट कागज झिकाउने आदेश दिदै छलफलका लागि वैशाख २३ गते पेसी तोकेको छ । वैशाख १८ देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको प्रदर्शन रोक्न दायर गरिएको रिटमा बैशाख १५ मा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।
१२- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका ७७ लाख ३४ हजार १२ कित्ता शेयर ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयरमा ११.१६ प्रतिशतले बढेको छ सोलु हाइड्रोको शेयर ७.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयर ९.३१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २३ करोड ५७ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
१३- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार बचतकर्ताहरुको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिइन् । ‘यसमा धेरै काम गरिसकेका छौं । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौँ’ मन्त्री रावलले भनिन् । समितिले आफ्नो कार्यविधि तय गर्दै ‘बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने’ जनाएको छ । समितिले मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताहरुको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने पनि जनाएको छ । समितिका अनुसार, नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने पनि स्पष्ट पारेको छ । समितिका सदस्य सचिव रविन ढकालले कर्जा असुलीका लागि समितिले कानुन बमोजिम कठोर नीति अबलम्बन गर्ने जानकारी दिए ।
१४- रुस र युक्रेनले ‘विजय दिवस’ अघि फरक–फरक समयमा युद्धविराम घोषणा गरेका छन् । रुसले शुक्रबार र शनिबारका लागि युद्धविराम घोषणा गरेको छ भने युक्रेनले बुधबार राति १२ बजेदेखि युद्ध रोक्ने जनाएको छ । रुसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको हारको ८१औँ वार्षिकोत्सवका अवसरमा यस्तो निर्णय गरेको जनाएको छ । तर समारोहमा कुनै अवरोध भए किभमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरिने चेतावनी पनि दिइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रातिदेखि युद्धविराम पालन गर्ने तर रुसबाट हुने हरेक गतिविधिको जवाफ दिइने बताएका छन् । उनले युद्धविरामको अवधि भने खुलाएका छैनन् । यस वर्ष मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस परेड फरक ढंगले आयोजना गरिने भएको छ । सम्भावित ड्रोन आक्रमणको जोखिमका कारण ट्यांक र ठूला हतियारहरू परेडमा समावेश गरिने छैनन् । रुसले किभमा रहेका सर्वसाधारण र विदेशी दूतावासहरूलाई शहर छाड्न समेत चेतावनी दिएको छ । यसअघि पनि पटक–पटक युद्धविराम प्रयास भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन । करिब दुई दशकपछि पहिलोपटक मस्कोको परेड भारी हतियार बिना आयोजना हुन लागेको हो । सुरक्षा कारणले अन्य धेरै शहरहरूमा पनि परेड सीमित वा रद्द गरिएको छ । रुसका लागि ‘विजय दिवस’ अत्यन्त महत्वपूर्ण दिन मानिन्छ । यसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले देशको शक्ति र देशभक्तिसँग जोडेर हेर्ने गरेका छन् ।
१५- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको संबैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलले यसअघि पुनर्विचारका लागि फिर्ता गरेको सो अध्यादेश पुन: जारी गर्न सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संबैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेका हुन् । यसअघि आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर पुनर्विचार गर्न सरकारलाई फिर्ता गरेका थिए । सरकारले अध्यादेश जारी गर्नुको कारण बारे राष्ट्रपतिलाई पत्र लेख्दै पुन: जारी गर्न सिफारिस गरेको थियो । सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।
१६- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख १९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्य, परालको आगो र पहाडले बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार राम नाम सत्यले अहिलेसम्म ३ करोड ३९ लाख ७३ हजार ४६६ कमाई गरेको छ । राम नाम सत्यको अहिलेसम्म कुल एक लाख २० हजार ९२६ टिकट विक्री भएको छ । राम नाम सत्य चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको थियो । त्यस्तै बैशाख १ गतेदेखि प्रदर्शनमा आएको तुलसी घिमिरेको फिल्म पहाडले आशा गरे अनुसारको कमाई गर्न सकेन । फिल्मले अहिलेसम्म ६३ लाख ९३ हजार १५२ कमाई गरेको छ । पहाडको कुल २० हजार २६५ टिकट बिक्री भएको छ । त्यस्तै बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले भने बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ३ करोड १२ लाख १७ हजार ९२ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख १० हजार ४४२ टिकट बिक्रि भएका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०३० मा कारोबार भएको थियो ।

१८- प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बनेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइएको उल्लेख गर्दै यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन् ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो ।’ वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन भन्दै चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने बताएका छन् । उनले अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको उल्लेख गर्दै अब स्पष्ट निर्णय आवश्यक रहेको र शिक्षालयमा दलको झण्डा निषेध गरिने बताएका छन् । त्यस्तै उनले कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने र यसले अधिकार नखोस्ने बरु पेशागत स्वतन्त्रता बलियो बनाउने दाबि गरेका छन् । प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन । हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो ।’ प्रधानमन्त्री शाहले यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास गरिरहेको बताउदै शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयासभएको बताएका छन् । उनले त्यसैले अध्यादेशमार्फत यी विकृतिहरू हटाएको स्पष्ट गरेका छन् । उनले भनेका छन्- ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ । तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।’
१९- रोशी खोलामा फसेका ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ । अविरल वर्षापछि सोमबार साँझदेखि रोशी खोलाको बहाव बढ्दा पाँच वटा माइक्रोबस बीच धारमा अड्किएका थिए । ती सवारीमा सवार ८९ जना यात्रुलाई सुरक्षा निकायको संयुक्त प्रयासमा गएराती करिब १ बजे उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । घटनाका क्रममा जोखिम बेवास्ता गर्दै सवारी चलाएको आरोपमा पाँचै माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । प्रहरीले वर्षायाममा विशेष सावधानी अपनाउन आग्रह गर्दै विशेष गरी बीपी राजमार्ग प्रयोग गर्दा पूर्व जानकारी लिएर र सुरक्षाकर्मीको सुझाव पालना गर्दै यात्रा गर्न अनुरोध गरेको छ ।
२०- मुम्बई इण्डियन्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको २२९ रनको लक्ष्य पछाएको मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मुम्बईको जितमा रोहित शर्माले सर्बाधिक ८४ रन बनाएका थिए भने रयान रिकेलटनले ८३ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । लखनउका लागि निकोलस पुरनले ६३ रन बनाए भने मिचेल मार्शले ४४, एडन मार्क्रमले ३१ र हिम्मत सिंहले ४० रन बनाएका थिए । यो जितपछि मुम्बईको १० खेलमा ६ अंक भएको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ । त्यस्तै लखनउको भने यस सिजनमा यो सातौं हार हो । लखनउको ९ खेलमा ४ अंक रहेको छ । जारी आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुदैछ ।



